काठमाडौँ । कुनै पनि विचार र सिद्धान्तलाई आत्मसाथ गर्नु सम्मानित काम हो । सिद्धान्तले मान्छेलाई सही बाटोमा हिँड्न प्रेरित गर्छ । तर जब कसैले सिद्धान्तलाई आफ्नो गल्ती छोप्ने औजार बनाउँछ, त्यो एउटा लाजमर्दो कृत्य भन्दा बढी केही हुँदैन ।
हालै सम्पन्न नेकपा एसको महाधिवेशनमा यही प्रवृत्ति देखियो । महाधिवेशन अघिसम्म अध्यक्षमा लागि लड्नका लागि जोड बल गर्नुभएका नेता घनश्याम भुसालको हुङ्कार कडा थियो । तर अन्ततः नेतृत्वसँग बार्गेनिङ गरेर उहाँले महासचिव पदमा थन्किए पछि भने उहाँ चर्को आलोचनाको सिकार हुनुभएको छ । मार्क्सवादको सिद्धान्तलाई उहाँले महासचिव पदसँग साटेको आरोप समेत चर्केको छ ।
त्यसो त मार्क्सवादको खरो विश्लेषक समेत हुनुभएका उहाँले नेपाली समाजलाई पुराना शैलीमा नै व्याख्या गर्नुहुन्छ । उहाँ सधैँ मार्क्सवादी दर्शन, कम्युनिस्ट नैतिकता र आचरण, क्रान्तिकारी कार्यदिशा, जनवादी केन्द्रीयता, वैज्ञानिक समाजवाद तथा साम्यवाद जस्ता विषयको वकालत गर्नुहुन्छ । चितवनको सौराहामा आयोजित नेकपा एमालेको दशौँ महाधिवेशनमा घनश्याम भुसालले आफ्नो उम्मेदवारी पार्टीमा सिद्धान्त, मार्क्सवाद र विचार जिउँदो छ भन्ने रहेको देखाउनका लागि हो समेत भन्नुभयो । उपाध्यक्ष पदमा उहाँ पराजित हुनुभए पछि उहाँले एमाले भन्दा नेकपा एसमा आफ्नो उज्ज्वल भविष्य देख्नुभयो ।
त्यसो त मार्क्सवादको आवरणमा पद पाउँदा सिद्धान्त छोडेको घटनाहरू थुप्रै छन् । केशर जङ्ग रायमाझीले पञ्चायतलाई स्वीकारे र आफूलाई समर्पण गरेको घटना होस् वा मोहनचन्द्र अधिकारी नै किन नहोस्, उग्र वामपन्थीबाट स्वार्थ पूरा हुँदा उग्र दक्षिणपन्थी भएको इतिहास नै छ । धेरैले भुसालको महासचिवमा अवतरणको नीतिलाई यही शैलीसँग दाँजेका छन् ।
उहाँका पछिल्ला गतिविधिले अहिलेको पुस्ताले बुझ्ने यति मात्र हो मार्क्सवाद भनेको चुनावको टिकट हो । र, त्यो नपाए पार्टीमा विद्रोह गर्दै हिँड्नु सर्वहारा क्रान्ति हो ।
नेता घनश्याम भुसालको मार्क्सवादको रटान पदका लागि रहेछ भन्ने कुरा अहिलेको पुस्ताले बुझेको छ । र, त्यसपछि सङ्घर्ष गर्दै सर्वहारा क्रान्ति भनेको टिकट नपाएपछि विद्रोह गरेर लाखौँ सदस्य भएको एमाले पार्टी छोडेर केही हजारको सङ्ख्यामा भएको नेकपा एसको महासचिव पद प्राप्ति गर्नु नै हो भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।
यस क्रममा भुसालले अध्यक्ष पदका लागि दौडधुपको कर्मकाण्ड मात्रै गर्नुभएन अध्यक्षका अर्का प्रत्याशी झलनाथ खनाललाई बीचमै रोकिदिनु भयो । न त आफूले प्रतिस्पर्धा गर्नुभयो न त खनाललाई नै अघि जान दिनुभयो । भुसालको मार्क्सवादी भाषामा संघर्षको मैदानमा कोही मित्र र कोही शत्रु हुँदैनन्, त्यही भएर होला नेतृत्व परिवर्तनको रटान अन्ततः अध्यक्षमा माधव नेपाललाई दोहो¥याएर विसर्जन गर्नुभयो ।
हुन त यसअघि पनि उहाँले मार्क्सवादको आवरणमा उहाँले पार्टीभित्र धेरै पटक विद्रोह गर्नुभएको हो । २०३९ सालदेखि यो निरन्तर चलिरहेको छ । एमालेमा हुँदा देखाएको शैली नेकपा एससम्मै चल्यो । तर, पद पाए पछि उहाँको बोली फेरियो । एमाले महाधिवेशनमा सिद्धान्त, मार्क्सवाद र विचार जिउँदो देखाउनका लागि उम्मेदवारी दिनुभएका भुसालले नेकपा एसमा भने फरक व्यवहार देखाउनुभयो।
र, फेरि उहाँको मार्क्सवादले दिएको उपलब्धिको रक्षा गर्नका लागि महासचिव पदमा चित्त बुझाउनु भयो । भुसालले आफ्नो पदलोलुपतालाई अहिले मार्क्सवादको लेपन गर्दै भन्नुहुन्छ होला– प्राप्त उपलब्धिको रक्षा गर्दै थपका लागि सङ्घर्ष गरिरहन्छु ।
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार २ : १४ बजे
प्रतिक्रिया