‘नेशनल डे कन्सर्ट’ सम्पन्न

क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौँ । लालिगुँरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ ।  

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेष भूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख  जीआर  भण्डारीले जानकारी दिनुभयो । 
‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधि गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भन्नुभयो । 
भण्डारीले यसअगाडि पनि क्यानडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आइरहनुभएको छ । गायक प्रकाश सपूत, गायक तथा सङगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उहाँले गरेका कार्यक्रम हुन् ।  

निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन् । 

गायक हिमाल सागर महोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरिसकेका छन् । ‘नेपालीहरूको माँझमा आफ्नो प्रस्तुती दिन पाउँदा सधै म उत्साहित हुन्छु । क्यानडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीतमार्फत नेपालकै महसुश गराउने प्रयास गर्नेछु । प्रवासका नेपालीलाई लक्षित गर्दै गरिने यस्ता नेपाली महोत्सवमा आफ्नो प्रस्तुती दिन म सधै तत्पर रहने गर्छु’, गायक हिमालले भन्नुभयो । 

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस महोत्सवलाई नर्थ अमेरिकाकै ठूलो मध्ये एक हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली सङ्घसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उदेश्यनै नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपाली बीच सामीप्यता बढाउनु हो ।’
 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : १५ बजे