सुनको मूल्यमा नयाँ कीर्तिमान

ओसिन पुगिन प्रेस काउन्सिल, कान्तिपुर टिभीलाई कडा निर्देशन 

काठमाडौं । कान्तिपुर टीभीको विवादास्पद  ‘इट्स माइ शो’ का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन कडा निर्देशन दिएको छ ।  

काउन्सिलले यो विषयमा बयानका लागि आज उक्त कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएको थियो । 
झण्डै एक घण्टा सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् ।  

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरुको चरित्र हत्या गर्ने, गोपनीयता हनन् हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् । 

उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्य लक्ष्मी शाह ल्याएकी थिइन । त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरित रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो । 
उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन । काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताए । 

छलफलमा अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनालसहित सहभागी थिए । उक्त शोका निर्माता, कान्तिपुर टिभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो । 
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ । 

यसअघि सिधाकुरा, नेपालआज,  फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १ : २८ बजे