राजीनामा बुझाउन गृहमन्त्री लामिछानेसहितका मन्त्रीहरु बालुवाटार पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका ४ जना मन्त्री छन् । मन्त्रीहरुसँगै उपसभापति डा। स्वर्णिम वाग्ले र सचेतक सन्तोष परियार पनि बालुवाटार पुगेका छन् ।

सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा  छ । एमालेका  मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन् । एमालेले सरकारलाई दिएको समर्थन हिजै फिर्ता लिएको छ ।
 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ८ : ५६ बजे