एक हजारभन्दा बढी  विद्यार्थीसँग अन्तरक्रिया गर्न केपी ओली आज बुटवल जाँदै

रुपन्देही ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार बुटवल जानेहुनु भएको छ ।  रुपन्देहीका एक हजारभन्दा बढी  एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया  गर्न ओली बुटवल जान लाग्नुभएको हो ।  

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३।६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताउनुभयो ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तर्क्रिया पनि गर्ने कार्यक्रम तय भएको एमाले रुपन्देहीका सदस्य यम पाण्डेले बताउनुभयो । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले अध्यक्ष ओलीसँग बालबालिकाहरूको अन्तर्क्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीसहित पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरू सहभागी हुने उहाँको भनाइ छ । ओलीसहितका नेताहरूको बिहान साढे १० बजे यति एयरबाट आउनुहुने गैरेले बताउनुभयो। 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ८ : ५१ बजे