प्रधानमन्त्रीमा ओली अनुमोदन 

काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो । त्यसै गरी आगामी सरकारको  नेतृत्व गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम अनुमोदन गरेको छ। 

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिनुभयो । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो।  ।

गत सोमबार राती एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि सहमति भएको थियो । जस अनुसार ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने, प्रदेश सरकारहरूमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा काँग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने,  त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दललाई नै नेतृत्व दिने बिषयमा सहमति भएको थियो । 

त्यसै गरी संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सिटसंख्या बारे पुनर्विचार गर्ने, पालिकाको सङ्ख्या ७५३ बाट घटाएर वडाको सङ्ख्या वृद्धि गर्ने, संविधान पुनरावलोकन गर्न पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने बिषयमा समझदारी भएको थियो। 

  नेकपा एमालेको मङ्गलवार साँझ बसेको बैठकले  यो सहमति अनुमोदन गरिसकेको छ। बैठकले   राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि ब मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आह्वान गर्न आग्रह गरेको थियो। बुधवार काँग्रेसले पनि सोही प्रस्ताव पारित गरेको छ र सहमति अनुमोदन गरेको छ।  

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ०० बजे