कोइरालाको तस्वीर हेरेर ‘चस्कियो प्रचण्डको मुटु’ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जब राजनीतिमा भावुक हुनुहुन्छ, तब उहाँको आँखा अगाडि आइपुग्छ – पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्वीर । यो उहाँकै भनाई हो । 

पछिल्लो राजनीतिक घटनाक्रमपछि पनि उहाँ भावुक हुनुभएको छ । सोमबार राति एमाले–काँग्रेस गठबन्धनको सात बुँदे सहमति हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुले पनि प्रचण्ड संकटमा रहनुभएको बुझिन्छ ।

मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा फोटो प्रदर्शनी आयोजना भयो र प्रधानमन्त्री प्रचण्डले त्यसको अवलोकन गर्नु भयो । अन्य दिन यो एउटा औपचारिक अवलोकन मात्र हुन्थ्यो, तर मंगलबार भने प्रचण्ड फेरि भावुक हुनुभयो । 

ठूला संकटमा समयमा पनि गिरिजाप्रसादको प्रेरणाबाट प्रचण्डले राहत पाउने गर्नु भएको थियो । अझ फोटो प्रदर्शनीको शीर्षक नै ‘क्रान्ति देखि शान्तिसम्म’ भएकाले पनि यो प्रचण्ड बढी जोडिएको थियो । 

कोइराला जीवित हुँदा बेलाबखत प्रचण्डसँग मनमुटाव भएकै हो । विशेषगरी प्रचण्डकै कारण कोइरालाले प्रथम राष्ट्रपति बन्ने मौका पाउनुभएन । त्यसैले प्रचण्डलाई यो घटनाले जहिले पनि चस्काउने गरेको छ । बेलाबेलामा भन्ने गर्नुहुन्छ – 'गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोकेर मैले ठुलो गल्ति गरेँ।' 

प्रधानमन्त्री प्रचण्डले सहकार्य गरेकाहरुसँग पटकपटक व्यवहार फेर्ने र गठबन्धन फेर्ने गरेर गिरिजाप्रसादसँगको गल्ति दोहोर्.याउने गर्नु भएको छ । तर आफ्ना कारणले अरुले सत्ता गुमाएको भन्दा अरुका कारणले आफूले सत्ता गुमाउनुको पीडा बोध बढी हुने रहेछ भन्ने कुरा पनि उहाँको भावभङ्गिमा देख्न सकिन्थ्यो । 

आफैँले सुरु गरेका द्वन्द्वका कारण हैरानीमा परेका बेला गिरिजाप्रसादको सहयोगमा शान्ति प्रक्रियामा आएकाले पनि प्रचण्डलाई ‘शान्तिसम्म’ भन्ने शीर्षकले बढी नै भावुक बनायो । 

तर यी सबै कुरा उहाँको मनमै रह्यो । मंगलबार प्रचण्डले तस्वीरहरु हेरिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा पनि साथै हुनुहुन्थ्यो । सत्ताबाट बाहिरिने तथ्यले चस्का परे पनि प्रचण्ड फिस्स भने हाँसिरहनुभयो । 

त्यसो त कार्यक्रममा अलि ढिला गरि भावी प्रधानमन्त्रीमा प्रस्तावित एमाले अध्यक्ष केपी ओली पनि पुग्नु भयो ।  तर, प्रचण्ड र ओलीबीच जम्काभेट भएन । सायद आयोेजकले विकसित राजनीतिक घटनाक्रमलाई बुझेर हुनसक्छ, दाहाल र ओलीको सानेपा प्रवेश फरक समयमा गराएको । 

सत्ता फेरिने गरी विकास भएको राजनीतिक घटनाक्रमले अन्य नेताहरुलाई व्यस्त बनाइरहेको छ । बैठक, छलफल र रणनीति निर्माण अन्य नेताको प्राथमिकतामा छ । तर, प्रधानमन्त्री प्रचण्ड पनि दौडधूपमा भए पनि गिरिजाप्रसादको तस्वीर भने भुल्न सक्नु भएको छैन होला, किन भने ती तस्वीरमा इतिहास देखि वर्तमानसम्म यथार्थता झल्किइरहेको थियो ।  

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : २३ बजे