सुनको मूल्यमा नयाँ कीर्तिमान

ओली सरकारको खाका कोर्दै कांग्रेस–एमाले 

काठमाडौँ। संविधान संशोधनको एजेन्डामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै सरकारको खाका समेत कोर्न थालिएको छ । नयाँ समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिने विश्वासका साथ एमाले काँग्रेसले नयाँ सरकारको खाका कोरेका छन् । 

नयाँ खाका अनुसार एमाले अध्यक्ष  केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा दुई उपप्रधान मन्त्री रहने छन् । जसमा काङ्ग्रेसबाट कृष्ण सिटौला गृह  र एमालेबाट विष्णु पौडेल अर्थ सहित उपप्रधानमन्त्री हुने  छन् ।  सहमतिको खाका अनुसार कांग्रेसले १० र एमालेले ९ मन्त्रालय पाउने छ । 

तर अल्पमतमा पर्नुभएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट  राजीनामा नदिने अड्डी कस्नु  भएको छ  । प्रधानमन्त्री दाहाललाई भेटेर निस्कनु भएका एक मन्त्रीका अनुसार तत्काल प्रधानमन्त्री तत्काल राजीनामा दिने मुडमा हुनुहुन्न। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहाललाई  राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसक्नुभएको छ  ।

मङ्गलवार बिहान बालुवाटार पुगेर ओलीले काँग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो  ।

 आजै दिउँसो ३ बजे बस्ने एमाले सचिवालय बैठकले सरकार गठनको ठोस निर्णय गर्ने छ। 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : २४ बजे