सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवाको प्रधानमन्त्री प्रस्तावमा ओली मौन

काठमाडौँ । प्रधानमन्त्री बन्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  मौन मात्रै   रहनुभएको छ । असार १५ गते दही च्युरा खाने गरी भएको भेटका क्रममा देउवाले ओलीसमक्ष प्रधानमन्त्री बन्ने प्रस्ताव राख्नुभएको हो । ओलीलाई भेट्न देउवा पत्नी आरजूसहित बालकोट पुग्नुभएको थियो ।

दुई शीर्ष नेताबीचको भेट र त्यहाँ भएको सम्वादको विषयले राजनीतिक वृत्त नै तरंगित भएसँगै देउवाले यसबारे पार्टीलाई जानकारी दिनुभयो । सोमबार बुढानिलकण्ठमा आयोजित पार्टी पदाधिकारी बैठकमा उहाँले यो भेटबारे ब्रिफ्रिङ गर्नुभएको हो ।

सो क्रममा देउवाले सत्ता समीकरणबारे ओलीसँग भएको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवाको भनाई उद्दृत गर्दै समसामयिक राजनीतिबारे छलफल भएको र यसले दुई दलबीचको सम्बन्ध सकारात्मक र सुमधुर बनेको बताउनुभयो ।

देउवाले एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व लिन प्रस्ताव गर्नुभएको बताइएको छ । आफूलाई प्रधानमन्त्री बनिदिन देउवाले गर्नुभएको प्रस्तावमा ओलीले पार्टीका केही नेतालाई जानकारी दिनु भएको छ 

एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र दुई तिहाइको बलमा संविधान संशोधन गरी शासकीय स्वरूप र संघीयतबारे समान धारणा बनाउनेसम्मका विषयमा काँग्रेसले प्रस्ताव गरिसकेको छ । 

असार १५ को ओली-देउवाको त्यो भेट पछि राजनीतिक सरगर्मी भने ह्वात्तै बढेको हो । प्रचण्ड सरकारको आयुलाई लिएर समेत यतिबेला अनेक अड्कलबाजी भइरहेका छन् । यही मेसोमा सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा 'वान टु वान' वार्ता भएको तस्वीर नै सार्वजनिक भयो। 

विकसित नयाँ राजनीतिक घटनाक्रमलाई कतिपयले देउवाको प्रधानमन्त्री 'अफर' पछि ओली प्रचण्डको राजीनामा माग्न बालुवाटार पुगेको अनुमान गर्न भ्याए । तर,  बालुवाटारबाट फर्केपछि संसद् भवन पुग्नुभएका ओलीले एमाले सांसदहरूसँग आफू प्रधानमन्त्री बन्न लागेको कुनै संकेत गर्नुभएन । एमाले सचेतक सुनिता बरालले भन्नुभयो, 'हामीले सरकार फेरिन लागेको हल्लाबारे अध्यक्षज्यूसँग प्रश्न राख्यौँ। उहाँले त्यस्तो केही नभएको जानकारी दिनुभयो।'

यद्यपि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ भने सोमबार साँझ ओलीनिवास बालकोटमा पुग्नुभएको थियो ।

यता, बालकोटमा दही च्युरा खाँदै ओली–देउवाबीच भएको भेटले प्रधानमन्त्री दाहाल निकै बेचैन भएको घटनाक्रमले देखाएको छ। यस अघि बालुवाटारमा दुई नेताबीच हुने गरेको  वार्ताको तस्वीर बालुवाटारले  खासै सार्वजनिक गर्ने गरेको थिएन। तर, सोमबार ओली–दाहाल एकै ठाउँमा रहेको सन्देश दिनका लागि 'बार्दली वार्ता'को तस्वीर प्रधानमन्त्री दाहालका फोटो पत्रकार प्रदीपराज वन्तको सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो। यस्तै आजै भएको मन्त्रिपरिषद् बैठकमा सत्ता परिवर्तनको हल्लाबारे मन्त्रीहरूको जिज्ञासा शान्त पार्दै प्रधानमन्त्री प्रचण्डले तत्काल सत्ता परिवर्तन नहुने दाबी गर्नुभयो ।  

यता, प्रधानमन्त्री दाहाल र  वर्तमान सत्ता साझेदारको प्रमुख घटक एमालेका अध्यक्ष ओलीबीच अहिलेकै सरकारलाई थप सुदृढ बनाएर जाने  विषयमा  कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार  गोविन्द आचार्यले चक्रपथसँग दाबी गर्नुभयो । ‘वर्तमान सत्ता गठबन्धनलाई बलियो र सुदृढ बनाउने, त्यसका लागि जनमत लगायतका पार्टीलाई सरकारमा सहभागी गराउने, सरकारका कामलाई प्रभावकारी बनाउने, विषयमा छलफल भयो', आचार्यले भन्नुभयो 'राष्ट्रिय मुद्दाहरूमा सम्वाद गरेर त्यसलाई फराकिलो बनाउने विषयमा समेत कुराकानी  भएको छ।’ 

सत्ता समीकरणको चर्चा व्यापक बनिरहे पनि एमाले अध्यक्ष ओली स्वयम् भने बहुमतको प्रधानमन्त्री बन्न इच्छुक नरहेको स्रोतले जानकारी दिएको छ ।  ओलीले बहुमत र अल्पमतको नभई राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसको नेतृत्व गर्नु परेको अवस्थामा मात्र प्रधानमन्त्री हुने प्रष्ट सन्देश समेत देउवालाई दिनुभएको छ ।

त्यसका लागि प्रचण्डले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने,  आफ्नो नेतृत्वमा बन्ने सरकारमा माओवादी, रास्वपालगायतका अन्य दलसमेत सामेल गराउने ओलीको चाहना रहेको छ । देउवाको प्रस्तावमा बहुमतको मात्रै प्रधानमन्त्री बनेर प्रचण्ड र रवि लामिछानेलाई अलपत्र पार्न नचाहेकाले समेत ओलीले राष्ट्रिय सहमतितर्फ जोड दिनुभएको बुझिएको छ । यसअघि नेकपा एसका अध्यक्ष माधव नेपालको उक्साहटमा लागेर एमालेसहितको गठबन्धन तोडेर प्रचण्ड बुढानिलकण्ठ पुगेको र राष्ट्रपति पद एमालेको हातबाट गुमेको इतिहासका बावजुद प्रचण्डको सत्ता ओलीले नै टिकाउनुभएको थियो । यो साथलाई जोगाउने समेत ओलीको चाहना रहेको देखिन्छ ।  

विगतमा जुनसुकै अवस्थामा प्रधानमन्त्री पद आउँदा शीर्ष नेताहरूले गठबन्धन भत्काउन दुईपटक समेत नसोच्ने गरेको सन्दर्भमा ओलीको भने फरक व्यवहार देखिएको हो । प्रधानमन्त्री बन्न चाहे अनुकूल अवस्था भए पनि मुलुकको अवस्था र राजनीतिक स्थिरताका लागि पद भन्दा पनि समयको आवश्यकता अनुसार नै उहाँ मौन रहेको बुझ्न कठिन छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३२ बजे