सुनको मूल्यमा नयाँ कीर्तिमान

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ, ‘एमालेसँगको सम्वाद सकारात्मक छ’

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ब्रिफिङ गर्नुभएको छ । 

बुढानिलकण्ठमा सोमबार भएको बैठकमा देउवाले दुई शीर्ष नेताबीच सकारात्मक कुरा भएको जानकारी दिनुभएको हो । 

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच असार १५ गते बालकोटमा तीन घण्टा भेटवार्ता भएको थियो।

सो भेटवार्ताका विषयमा सोमबारको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा जानकारी दिएको कांग्रेसका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताउनुभयो। बैठकबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वकर्माले भन्नुभयो, “समसामयिक राजनीतिबारे पनि बैठकमा छलफल भएको छ, सभापतिले बालकोट भेटवार्ताबारे जानकारी गराउनुभयो।”

सभापति देउवाले ओलीसँगको सम्बन्ध सुधार भएको पनि बैठकमा बताउनुभयो । “ओलीजीले चिया खान बोलाउनु भयो। हामी गयौं, बस्यौं,” देउवाले कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीसँग भने, “अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर बनेको छ।”

दुई प्रमुख पार्टीका अध्यक्षबीचको भेटवार्तालाई सत्ता समीकरण परिवर्तनको तयारीका रुपमा पनि चर्चा भइरहेको छ। 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३६ बजे