सुनको मूल्यमा नयाँ कीर्तिमान

‘बाल्कोट’ वार्ताले किन भतभती  पोल्छ कसैको मन ? 

काठमाडौं। शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटले अहिले नेपाली राजनीतिमा तरङ्ग छाएको छ । कुनै निर्णय होस नहोस् तर खैलाबैला भने मच्चिएको छ। र अहिले सर्वत्र प्रश्न उठेको छ –कांग्रेस एमालेबीच नयाँ समीकरण बन्नै लागेको हो  त ? 

संसद्को तेस्रो दल भइकन पनि आफूसँग ३२ सिटको म्याजिक नम्बर छ भन्दै ढुक्क रहनुभएका  प्रधानमन्त्री पुष्पकमल दाहाल त्यो भेटबाट बढी बेचैन देखिनु भएको  छ। 

ओली निवास बालकोटमा पत्नी तथा कांग्रेस सांसद आरजु राणासहित पुग्नुभएका  देउवाले करिब तीन घण्टा बिताउनु भयो । त्यो तीन घण्टाले धेरैलाई भतभती पोलेको कुरा त्यसपछि सार्बजनिक भएका अभिव्यक्ति र गतिविधिले समेत महसुस गरायो। 

दुवै नेताहरुले संसद्को पहिलो र दोस्रो ठुलो दलका नेताहरु भेट्नुलाई सामान्य भनी अर्थ्याउन खोज्नुभएको छ।  तर देशको प्रमुख दुई दलका नेताहरूबीच यो तीन घण्टा के भयो होला ? के वार्ता भयो होेला ? भन्ने अनेक प्रश्न अझै बजारमा छन् ।  यो भेटघाटपछि प्रधानमन्त्री  पुष्पकमल दाहालले पनि अरु थप भेटघाट तीव्र पार्नु भएको छ। त्यसैले उहाँले आइतबार बिहान एमाले अध्यक्ष ओलीसंग भेट गर्नुभएको छ। त्यसै गरी भेटलाई सोमबार बिहान पनि यो भेट जारी रह्यो। बाल्कोट भेटवार्ताले सबैभन्दा बढी मन प्रधानमन्त्रीको दाहालेको पोलेको भान हुन्छ।  

यो भेटपछि कांग्रेस एमाले समीकरणको ढोका खुलेको हो कि  भन्नेमा धेरैले अनुमान गरेका छन् । तर एमाले र माओवादी नेताहरु यो स्वीकार गर्न तयार छैनन् । यद्यपी एमालेलाई काँग्रेसले मिलेर सरकार  बनाउने र सहकार्य गर्ने प्रस्ताव राखेको धेरै समय भइसक्यो।   तर एमालेले यसलाई  स्विकारेको छैन। 

‘काँग्रेसले एमालेसंग सहकार्य गर्न प्रस्ताव राखेको  कुनै पुरानो कुरा होइन, तर त्यो अहिले नै सम्भव देखिएको छैन’ एमाले स्थायी समिति सदस्य राजन भट्टराईको भनाई छ। उहाँका अनुसार सत्ता समीकरणमा साना पार्टीको आवश्यक भन्दा बढी चलखेल भयो अब देशलाई स्थिरता दिनुपर्छ भनेर काँग्रेसले यस्तो प्रस्ताव राखेको हो। तर एमालेले अहिलेको गठबन्धनको विकल्प खोज्ने बेला भएको छैन भन्दै जवाफ दिएको छ। 

नेपालको राजनीतिक इतिहासमा  ठुलो समस्या पर्दा कांग्रेस एमाले मिलेका धेरै  उदाहरणहरू छन् ।  कांग्रेस र एमालेबीच कटुता बढ्दै जाँदा २०५५ साल देखि ५६ साल सम्म   प्रतिनिधिसभामा तेस्रो शक्ति रहेको राप्रपा नेतालाई प्रधानमन्त्री बनाउनु पर्ने अवस्था उत्पन्न भएको थियो।  

 राप्रपाका नेता सूर्य बहादुर थापाले काँग्रेसको र अर्को नेता लोकेन्द्र बहादुर चन्दले एमालेको समर्थनमा छोटै अवधि भए पनि प्रधानमन्त्री बन्ने मौका पाए  । २०४६ सालको जनआन्दोलनको राप सेलाउन नपाउँदै पूर्व पञ्चहरूलाई प्रधानमन्त्री बनाएको भन्दै एमाले र कांग्रेस दुवै पार्टी आलोचनका सिकार भए।  त्यस कारणले एमाले र काँग्रेसलाई अहिले पनि चस्का पर्ने गरेको छ।  

 २०५५ सालमा संसदमा २० सिट रहेको राप्रपाका नेता   लोकेन्द्रबहादुर चन्दको नेतृको सरकारले सात महिना काम गर्न पायो। जसलाई एमालेले समर्थन गरेको थियो। त्यो लगतै राप्रपाका अर्का नेता सूर्य बहादुर थापालाई त्यही संसदमा  एमालेसंग बदला लिने होडमा काँग्रेसले  प्रधानमन्त्री बनायो। 

सूर्यबहादुर थापा ६ महिने सरकारको प्रमुख बने। त्यसपछि पनि सत्ताको चलखेल र अस्थिरता रोकिएन।  त्यसपछि कांग्रेस नेतृत्वमा सरकार बन्यो। जसलाई एमालेले समर्थन ग¥यो। एमाले पनि कोइराला नेतृत्वको सरकारमा सहभागी भयो र ०६६ सालमा आम चुनाव गरायो। 

एमालेको समर्थन पाएको काँग्रेसले करिब १३ महिना सरकारको नेतृत्व  ग¥यो र चुनाव गरायो। जुन चुनावले साना पार्टीको भूमिका संसदमा प्रभावहीन तुल्यायो।  सो निर्वाचनमा  काँग्रेसले स्पष्ट बहुमत (११३) सिट ल्यायो भने एमाले प्रमुख  प्रतिपक्ष पार्टी बन्यो। 

यसरी कांग्रेस एमाले सङ्कटमा मिलेको इतिहास छ। अहिलेको सत्ता समीकरण  र साना पार्टीको अनेक घुर्कीले यी दुवै पार्टीलाई बेला बेलामा टाउको दुखाउने गरेको छ। त्यस माथि माओवादीको बेला बेलाको छलाङको घोषणाले फेरि ५६ साल नदोहोरिएला भन्न सक्ने अवस्था छैन। त्यसैले बाल्कोट वार्ताले धेरैको मन पोल्नुलाई अस्वाभाविक मानिँदैन । 

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ३३ बजे