‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्वतन्त्र युवा राजनीति सुधार्ने  केही सुझावहरू

असार १४ गते देशभर प्रगतिशील र जनवादी विचारका पक्षपोषकहरु नेपाली राजनीतिको विकास र स्थायित्वको सन्दर्भमा जननेता मदन भण्डारी र वहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादका विषयमा बहस गरिरहँदा काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा काँग्रेस र एमालेका जनप्रतिनिधिले वि पी र मदन भण्डारीका नाममा करोडौँका कार्यक्रम गर्न प्रस्ताव गरेको आफूले प्रजातन्त्रका लागि लडेका चार सहिदका नाममा कार्यक्रम गर्न प्रस्तावित गरेकोमा नगर सभामा विवाद भएको सार्वजनिक गरे ।

वर्तमान सरकारका शिक्षा मन्त्री सुमना श्रेष्ठले आ.ब. २०८१/८२ को बजेटमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयलाई लज्जास्पद ढङ्गले न्यून बजेट राखेको विषय संसद्मा उठेको थियो । शिक्षा मन्त्रीले आफ्नो  १०० दिनको प्रगतिमा ८ सय भन्दा बढी शिक्षकलाई दलीय आबद्धताबाट मुक्त गरेको पनि उल्लेख गर्नुभएको छ । 

२०७९ को निर्वाचनपश्चात् उदाएका नयाँ भनिने स्वतन्त्र युवा राजनीतिका पक्षधरहरूबाट, जसलाई मुलत रवि लामिछाने र बालेन साहहरूले नेतृत्व गर्नुभएको छ, नेपालका मूलधारका राजनीतिक दलहरूमाथि पुराना दल भन्ने लाञ्छना त लगाइएकै छ तर अराजनीति नै राजनीतिको सही बाटो हो भन्ने विषय र सन्दर्भलाई जबरजस्त स्थापित गर्न खोजेको देखिन्छ । यद्यपि अराजनीतिको राजनीतिमा उहाँहरूलाई पुरानै राजनीतिमा सक्रिय भएका तर मूलधारका दलहरूमा पर्याप्त स्थान र भूमिका प्राप्त गर्न नसकेका व्यक्तिहरूको साथ रहेको पनि देखिन्छ । कतिपय सन्दर्भमा विगतमा विकासे परियोजनाका विज्ञ, सल्लाहकार, निर्देशक, परामर्शदाता वा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलब लिनेहरू एकाएक असमानता र अन्यायका विरुद्ध सङ्घर्षशील जुझारु राजनीतिक अभियन्ताका रूपमा उहाँहरूसँग जोडिनुभएको पाइन्छ । 

यस प्रवृत्ति, सङ्गठन र समूहबाट अगाडी बढेको नेपालको  स्वतन्त्र युवा राजनीतिले नेपाली इतिहासलाई उचित सम्मान गर्न नचाहेको वा नसकेको वा नबुझेको देखिन्छ । विशेष गरी २०६२÷६३ पछि युवावयमा प्रवेश गरेका युवाहरू संलग्न भएको स्वतन्त्र युवा राजनीतिले नेपाली जनताको लामो राजनीतिक सङ्घर्ष, यसका आधार र जगहरू, यस प्रक्रियामा योगदान दिने व्यक्तित्वहरू र तत्कालीन परिवेशलाई सही ढङ्गले बुझ्न नसकेको हो कि वा जे भयो भयो, हामी अहिलेका कुरा गरौँ भनी इतिहासप्रति पूर्ण निरपेक्ष रहने कृतघ्न प्रवृत्ति देखिएको पो हो की भन्ने आशङ्का यस लेखमा गरिएको छ ।

पहिलो प्रसङ्ग, पुराना काम लाग्दैनन्, पुरानालाई बिर्सिऊँ भन्ने निरपेक्ष र सतही नारा स्वतन्त्र युवा राजनीतिबाट आउने गरेको छ । तर आज जुन जगमा उभिएर, जुन प्रविधि र खुलापनमा टेकेर उहाँहरूले नेपालको राजनीतिलाई अराजनीतितर्फ धकेलिरहनुभएको छ, यो परिवेशको सहजता यी नै पुरानाहरूकै सङ्घर्ष, बलिदान र त्याग तथा सचेत र सङ्गठित परिचालनबाट निर्माण भएको हो भन्ने उहाँहरूले स्वीकार गरिरहनुभएको छैन । मेयर बालेन शाहले सहजैरुपमा सामाजिक सञ्जालमा एमाले अध्यक्ष के पी ओलीलाई लाञ्छित गर्दै भने १४ वर्ष पहिले पनि जेल बसेकै हो, वा अर्को कसैले शेरबहादुर देउवाको बोलाइलाई मजाकको विषय बनाउँदै सिङ्गो काँग्रेसलाई लाञ्छित गरे । उहाँहरूले के थाहा पाउनुभएन भने १४ वर्षको जेल जीवन के पी ओली रहरले बसेका होइनन् वा अहिलेको युवा राजनीतिका जस्तो एडभेन्चरस रोमान्टिसिज्मका लागि बसेका थिएनन्, यो देशमा बहुदलीय प्रजातन्त्रका लागि जनताको सङ्गठन निर्माण गर्ने, सचेत बनाउने र परिचालन गर्ने, निरङ्कुश राजा र निर्दलीय पञ्चायतविरुद्धको सङ्घर्ष गरिरहँदा तत्कालीन शासन सत्ताको क्रूर दमन थियो त्यो । विद्यार्थीहरूमाझ प्रजातन्त्रको अभियान चलायबापत तत्कालीन निरङ्कुश शासकहरूबाट भएको यातनाको परिणाम हो शेरबहादुर देउवाको बोलाइको समस्या । 

घरमा भएको बुढो बाबुको सम्मान गर्न नसक्ने अमर्यादित छोरोले बाबुलाई भिरबाट फाल्न जाँदा तिनैको सानो छोराले डोको नफाल्न गरेको अनुरोध भएको कथा हामीले त सुनेकै हो र त्यसबाट नैतिक शिक्षा लिएकै हो । तर स्वतन्त्र युवा राजनीतिका नयाँ जोसिला युवाहरूले बाउ फाल्ने छोरो र डोकोको कथा पढेर बुझेका भए सायद वर्तमान मूलधारका दलका नेताहरूको योगदानको सम्मान गर्न र उहाँहरूका अनुभवबाट सकारात्मक शिक्षा लिन पछि पर्दैनथे । अझै पनि ढिलो भएको छैन, घट्नाक्रमहरुले देखाइसकेका छन् बाउ फाल्न हिँडेको छोरोलाई तिनकै छोराले अर्को पटक तिमीलाई फाल्न डोको चाहिन्छ भन्दै डोको नफाल्न अनुरोध गरिसकेका छन् । तसर्थ अग्रजहरूप्रतिको सम्मान र मर्यादित फरक विचार राख्न स्वतन्त्र युवा राजनीतिले सिक्न ढिलो भइसकेको छ । 

दोस्रो, विधि विहीनताको प्रश्रयलाई स्वतन्त्र युवा राजनीतिले आफ्नो मुख्य कार्यशैलीको रूपमा अँगालेको छ । न्युरोड घटना होस, सडक स्वरोजगारमाथि महानगरको अमानवीय आक्रमणको घटना होस् वा विधि बाहिर गएर स्वयंसेवी विद्यालय निरीक्षक राख्ने योजना होस, वा शिक्षक राजनीतिको डन्डा देखाएर शिक्षकहरूलाई आतङ्कित गर्ने अभ्यास नै होस् । यी सबै विधिविहनता नै कार्यसक्षमता हो भन्ने थेसिसबाट निर्देशित भएको पाइन्छ । मेयर हुनु, सांसद हुनु, मन्त्री हुनु अधिकार सम्पन्न हुनु होइन, दायित्वको भारी बोक्नु पनि हो । लामो अभ्यास, परीक्षण र सिकाइका अनुभवहरूबाट परिस्किृत हुँदै आएका विधि र व्यवस्थालाई आफ्नो व्यक्तिगत पहिचान र लोकप्रियताका लागि तिरस्कृत गर्नु कुनै पनि दृष्टिबाट सुशासन होइन । यो अराजकता हो । अराजकताले अस्थायी रूपमा लोकप्रियता बढाउन सक्छ, तत्काल दौड जित्न सकिन्छ तर एन्टी डोपिंग टेस्टमा कारबाही भोगेका विजेता खेलाडीजस्तै अन्ततः भ्रष्टाचारको माखेसांग्लोमा जेलिने नै हुन्छ । राज्यका प्रणाली, तहगत संयन्त्रहरू, संयन्त्रगत क्षेत्राधिकारहरूलाई अस्वीकार गर्ने, गाली गलौच गर्ने, दुत्कार्ने अभ्यासले एक छिन मुखको तितो फ्याँक्न सकिन्छ, तर त्यही विषय आफ्नै कार्यस्थलमा सङ्क्रामक रोगको रूपमा फैलिसकेको आफूलाई पत्तो हुँदैन । स्वतन्त्र युवा राजनीतिले विधि, सुशासन, संरचनागत व्यवस्था र क्षेत्राधिकारको मर्यादा राख्न, सम्मान गर्न र पालना गर्न आफ्ना फलोअर्सहरुलाई सिकाउन जरुरी छ । अन्यथा, तिनै फलोअर्स युद्धमा भोकाएको र निराश सिपाहीले आफ्नै टोली नेताविरुद्ध बन्दुक ताक्छ भन्ने तथ्य यहाँ पनि लागु हुन सक्छ । 

तेस्रो, सामान्य सदाचार र मर्यादाको उल्लङ्घन । यो देश निर्माणमा, वर्तमान राजनीतिक परिवेशको निर्माणमा योगमाया, द्वारिकादेवी, रत्नकुमार बान्तवा, धर्मभक्त, शुक्रराज, गङ्गालाल, दशरथ भन्द, भिमदत्त, सुनखानीका सहिदहरू, जदुकवाका सहिदहरू, चिनयाँकाजी, दिलबहादुर रम्तेल र अनिश शाक्यहरूको बलिदान बिर्सन सकिँदैन । नयाँ पुस्तालाई राजनीतिक चेतना प्रवाह गर्ने, सङ्गठित गर्ने र लोकतन्त्रका पक्षमा, इमानदारता र जनताका पक्षमा परिचालन गर्ने कार्यक्रममा वि पी, पुष्पलाल, मनमोहन, टंकप्रसाद आचार्यहरूको भूमिका बिर्सन हुँदैन । राजनीतिक सहकार्य, संयुक्त जनआन्दोलन, बहुदलीय प्रतिस्पर्धा, राष्ट्रियता र नैतिकवान राजनीतिक मूल्य मान्यताका सन्दर्भमा मदन भण्डारी र गणेशमानका आदर्शलाई भुलेर सही राजनीतिक दिशा प्राप्त गर्न सकिँदैन । नेपाली राजनीतिका विचारकहरू, अग्र दस्ताका सहिदहरूको छावीलाई आफ्नो राजनीतिक हतियार बनाउने कार्य नितान्त अराजकता, अमर्यादित र अनैतिक कार्य हो । धर्मभक्त र बिपी बिचको विभेद सृजना गर्ने, मदन भण्डारी र गङ्गालालको छवि बिचको द्धन्द सृजना गर्ने, गणेशमान सिंह र दशरथ चन्दबिचको को ठुलो भन्ने बहस चलाउने व्यक्तिले सामान्य शिष्टाचार पनि नबुझेको प्रमाणित हुन्छ । उहाँ सम्पूर्ण सहिदहरू नेपाल आमाका असल सपुतहरू हुनुहुन्छ, हाम्रा प्रेरणाका श्रोत हुनहुन्छ, आदर्शका सूचकहरू हुनहुन्छ र हाम्रो आगामी दिनका मार्गदर्शक हुनुहुन्छ । नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्वहरूबिच सार्वजनिक रूपमा व्यक्तित्व टकराब गराउनु राजनीतिक अपरिपक्वता हो । यसलाई स्वतन्त्र युवा राजनीतिले तत्काल सुधार गर्न जरुरी छ, अन्यथा घरका न घाटका भन्ने जस्तो अवस्था आउन सक्छ । 

चौथो, निजी राजनीतिक आस्था र पेसागत राजनीतिक आवद्दताबिचको विभेद छुट्टाउन नसक्नु स्वतन्त्र युवा राजनीतिको अत्यन्तै कमजोर पक्ष हो । नेपालको शिक्षा, स्वास्थ्य, उद्योग व्यवसाय र सार्वजनिक प्रशासन कमजोर हुनुका पछाडि राजनीतिक दलहरूले लिन नसकेको पुरस्कार र दण्डको निष्पक्षता एउटा कारण त हो, तर सम्पूर्ण कारण भने होइन । नेपालको विद्यालय शिक्षामा राज्यको लगानी निरन्तर सङ्कुचन भइरहेको छ, शिक्षक दरबन्दीको अभाव चरम रहेको छ, आन्तरिक बसाइ सराइ र तदअनुरुप विद्यालयको व्यवहारिक व्यवस्थापन र स्थानीय सुशासनको सन्दर्भमा राज्यको ध्यान सही ढङ्गले पुग्न सकेको छैन । निजी विद्यालयहरूको शुल्क, व्यवहार र व्यवस्थापन पारदर्शी ढङ्गले नियमन गर्न राज्यले सकिरहेको छैन । पूर्वाधारमा देखिएको सीमिततालाई नजरअन्दाज गरिएको छ । तर हामी लोकप्रिय सस्तो एजेन्डा राजनीतिले स्कुल विगार्यो भन्ने भाष्यमा रमाइरहेका छौँ । नेपालको शिक्षाको इतिहास हेर्ने हो भने शासक वर्गको शिक्षा अवसर नियन्त्रणको राजनीति विरुद्ध सबैको पहुँचको शिक्षाका लागि समुदायले विद्यालयहरू स्थापनाको राजनीति सुरु गरेको थियो । यस अर्थमा शिक्षा कसरी अराजनीतिक हुन सक्ला । हामीकहाँ हाल रहेको वैदेशिक रोजगार र श्रम आपूर्ति केन्द्रित विश्व बैक प्रायोजित विद्यालय शिक्षा के अराजनीतिक हो र ? यसको विरुद्धको सङ्घर्ष स्टेम हो कि शिक्षाको सामुदायिक राजनीति हो, वा परियोजना प्रायोजित स्वयंसेवक शिक्षक वा स्वयंसेवक विद्यालय निरीक्षक हो ? यो त केवल शिक्षामा देखिएको राजनीति हो । हामी स्वास्थ्य क्षेत्रमा हेरौँ निरन्तर रूपमा स्वास्थ्य जनशक्तिलाई बिदेसिने बनाउने, नयाँ जनशक्ति उत्पादनमा अनेक बहानामा रोक लगाउने र सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीप्रति लाञ्छना लगाउने कार्यले कसको राजनीतिलाई फाइदा पुराइरहेको छ, दलाल पुँजीवादलाई होइन र । एक तिहाइभन्दा बढी स्थानीय तह कार्यकारी विहीन हुने सामान्य प्रशासनको साँचो ताला कसको हातमा छ ? किन स्थानीय तहलाई कमजोर बनाइदैछ र किन सशर्त अनुदानको हिस्सा बढाइदैछ ? के यो नेपालको कलिलो संघियताविरुद्दको राजनीति होइन र ? यी तमाम राजनीतिक विकृत विरुद्धको सङ्घर्ष कसरी अराजनीतिक हुन सक्छ ? स्वतन्त्र युवा राजनीतिले बुझ्नै पर्ने विषय के हो भने लोकतन्त्रको पक्षधर नभएको शिक्षकले कक्षामा निरङ्कुशता सिकाउँदछ, जनपक्षीय प्रगतिशील विचारलाई आत्मसात् नगर्ने शिक्षकले नवउदारवाद दलाल पुँजीवादको दास हुन कलिला बालबालिकालाई सिकाउँदछ । स्वास्थ्यकर्मी, सार्वजनिक प्रशासक पनि त्यही हो । तसर्थ अराजनीतिक व्यक्तिहरू देशको शासन, शिक्षा र स्वास्थ्य प्रणालीमा छन् भने त्यो देश देख्दा जतिसुकै स्वतन्त्र भए पनि औपनिवेशिक र दासत्व स्वीकार गरेको देश हुन्छ । आज युक्रेन किन अर्कैका शक्ति स्थापित गर्न बलिदान हुनु परिरहेको छ, स्पष्टै छ । 

रह्यो कुरा दलीय आबद्धताको, पेसागत पद र कार्यस्थलमा कुनै पनि व्यक्तिले दलीय आबद्धता वा दल विरोधी आबद्धता देखाउन हुँदैन, पाउँदैन हाम्रो कानुनी व्यवस्थाको मर्म हो यो । तर पेसागत जीवनभन्दा बाहिर निजी जीवनमा यदि कसैले निश्चित दलीय विचार, दृष्टिकोणको समर्थन वा विरोध गर्दछ भने त्यो उसको संवैधानिक नागरिक राजनीतिक अधिकार हो । यसमा हाम्रो प्रशासक, राजनीतिज्ञ र स्वतन्त्र युवा राजनीतिकर्मीहरू स्पष्ट हुन जरुरी छ । यदि यसलाई ठाडो रूपमा सार्वजनिक सेवालाई सुधार गर्ने नाममा प्राविधिक मात्र बनाइयो भने, स्पष्ट हुनुहोस् हिजो सिंहदरबारमा लोकतन्त्रका निम्ति लोकमान सिंह नाकै मुनी झन्डा उठाउने देशभक्त, लोकतन्त्र पक्षधर, जनपक्षीय राष्ट्रसेवकको ठाउँ निरङ्कुश, अलोकतान्त्रिक, दलाल पुँजीवाद पक्षधरले लिँदै जानेछन् र त्यत्तिखेर तपाइहरूको स्वतन्त्र युवा राजनीति पनि सिकार बन्न सक्नेछ । तसर्थ व्यक्तिको निजी राजनीतिक आस्थालाई सम्मान गर्दै, पेसागत परिधिभित्र दलीय आवद्दतालाई मात्र नियमन गर्ने कुराले नै सुशासन, कार्यसक्षमता र जनपक्षीय लोकतन्त्रको सुनिश्चितता गर्न सक्दछ । 

स्वतन्त्र युवा राजनीतिले विगतका राजनीतिक सङ्घर्षका इतिहासहरूको पुन अध्ययन गर्न जरुरी छ । वर्तमानको उपलब्धि एक रातको वा एक दिनको चुनाउबाट प्राप्त भएको होइन, सचेतना, सङ्गठन, सङ्घर्ष, रूपान्तरणको लामो शृङ्खलाको संश्लेषीत उपलब्धि हो । यदि ती संघर्षहरुउपर, ती सङ्गठनहरूउपर, ती व्यक्तित्वहरूउपर कुनै पनि किसिमको अवाञ्छित, अमर्यादित, विवादित, लाञ्छना अभिव्यक्त हुन्छ भने त्यो केवल इतिहासप्रतिको कृतघ्नता साबित हुन्छ । इतिहासप्रति कृतघ्न वर्तमान जरो नभएको बुट्यान हो सानो छालले पनि सहजै बगाइदिन वा लडाइदिन सक्छ भन्ने हेक्का वर्तमान राजनीतिका सबैले अझ विशेष गरी स्वतन्त्र युवा राजनीतिका पक्षधरहरू, नेतृत्वले राख्न जरुरी छ । 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५९ बजे