साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हिरासतमा रहेकी म्यान्मारकी नेतृ सूचीको सुनुवाइ सुरु

म्यान्मार ,(एनआई) ।  म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।

उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमवार सुनुवाइ सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यान्मारको सेनाले ७५ वर्षीया नेतृ सूकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ ।

उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्दाहरू लगाएको छ ।  आज हुने सुनुवाइका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरू पनि उपस्थित हुने जनाइएको छ । “हामीले अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको छ, त्यसविरुद्धमा हामीले राम्रो तयारी गरेका छौँ,” नेतृ सूकीका एक वकिल खिन मौङ जावले भने ।

नेतृ सूकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरु लगाएको उनले टिप्पणी गरे । म्यान्मारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरूसहितको मुद्दा दर्ता गरेको थियो । म्यान्मारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो ।

नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु सयौँ घाइते भएका छन् । सुरक्षाकर्मीहरुले दर्जनौँ आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौँको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ४९ बजे