सुनको मूल्यमा नयाँ कीर्तिमान

उच्चस्तरीय भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुन्छ : उपमहासचिव रिमाल

हेवेई, चीन। नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाल र चीनबीच हुने उच्चस्तरीय भ्रमण र भेटघाटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने बताउनुभएको छ ।

उपमहासचिव रिमालले आफ्नो नेतृत्वमा चीनको अध्ययन तथा अवलोकन भ्रमणमा रहेको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याईयानसँग सिंहान शहरमा बुधबार शिष्टाचार भेटका अवसरमा यस्तो बताउनुभएको हो ।

दुई पक्षीय भेटमा नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्ध, दुई देशबीच जनस्तरमा भइरहेको सम्बन्ध र दुई देशका सरकारबीचको सम्बन्ध तथा सहयोग/सहकार्य लगायतका बहुपक्षीय विषयमा छलफल भएको थियो ।

उपमहासचिव रिमालले आफ्नो नेतृत्वको नेकपा (एमाले)को यस टोलीलाई भ्रमणका लागि आमन्त्रण गरी चीनले विकास तथा प्रविधिमा मारेको फड्को आदिका बारेमा अवलोकन गर्ने र सांस्कृतिक आदान प्रदान गर्ने अवसर दिएकोमा पार्टी र व्यक्तिगत तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागलाई विशेष धन्यवाद दिनुभयो ।

उहाँले एमालेको प्रतिनिधिमण्डलमार्फत् अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र यसका महासचिव राष्ट्रपति सी जिनपिङलाई पठाउनुभएको शुभकामनाको सन्दर्भ पनि उल्लेख गर्नुभयो ।

अर्को सन्दर्भमा उपमहासचिव रिमालले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा आफ्नो पार्टी दृढ रहेको बताउनुभयो । ‘नेकपा (एमाले) नेपाल सरकार र चीन सरकारबीच विभिन्न समयमा भएका सम्झौताहरू कार्यान्वयन गर्न चाहन्छ ।’ उल्लेख गर्दै उपमहासचिव रिमालले भन्नुभयो, ‘हामी नेपाल सरकारका उच्चस्तरमा भएका सम्झौताहरू लगायत चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौताहरूको कार्यान्वयनको पक्षमा छौँ ।’

उहाँले चीनले गरेको अभूतपूर्व विकास र खासगरि गरिबी निवारणमा गरेको सफलताको प्रशंसा गर्नुभयो ।

हेवेई प्रान्तमा निर्माण गरिएको उदाहरणीय र नमूना शहरको उद्घाटनमै निमन्त्रणा गरेर अवलोकनको अवसर प्रदान गरेकोमा सिपिसी अन्तर्राष्ट्रिय विभागलाई उपमहासचिव रिमालले धन्यवाद दिनुभयो ।

यसैबीच, उपमहासचिव रिमाल नेतृत्वको टोलीले हेवेई प्रान्त अन्तर्गत पर्ने ऐतिहासिक क्षेत्र सिवाईपो र ताईवाङजुङ्ग भिलेज अवलोकन भ्रमण गरेको छ ।

यस्तै, भ्रमण टोली सिवाइपोमा सिपिसीको सिवाइपो क्षेत्रको स्थानीय पार्टी कमिटीले आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी भएको छ ।

कार्यक्रममा आयोजक र भ्रमण टोलीकातर्फबाट पार्टी अनुशासनका बारेमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको छ । कार्यक्रममा भ्रमण टोलीको तर्फबाट टोली नेता उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य र स्थानीय सरकारको तर्फबाट श्रीप्रसाद श्रेष्ठले छुट्टाछुट्टै तीनवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट हेवेई प्रान्तअन्तर्गत विदेश विभागका उपप्रमुख देङ्ग लि र स्थानीय पार्टी सेक्रेटरी लि छुईले चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासनबारे कार्यपत्र पेश गर्नुभएको थियो ।

दश दिनका लागि सिपिसी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेको टोलीका सदस्यहरूको सम्मानमा सिजाइजोङ्गका डिपुटी मेयर हुईजुङले रात्रिभोज आयोजना गर्नुभएको थियो ।

भ्रमण टोली सिजाईजोङ्गबाट शनिबार कुन्मिङतर्फ प्रस्थान गर्ने छ । २९ सदस्यीय भ्रमण टोली यही असार ११ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ४ : ४२ बजे