‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भ्रष्टाचार विरुद्ध उभिन के ले रोक्छ ?

नेपाली समाजको नेतृत्व गरिरहेकाहरू हरेक पटक कुनै न कुनै रूपमा भ्रष्ट आचरण विरुद्ध धारे हात लगाएर बोलिरहेको सुनिन्छ तर, उनीहरूकै व्यवहारले भ्रष्ट आचरणको पालक पोषक उनीहरू नै हुन् भन्ने देखाइरहेको हुन्छ ।

लोभ र महत्त्वाकाङ्क्षाका कारण नेपाली समाजमा हरेक वर्ष भ्रष्ट आचरण भएका व्यक्तिको सङ्ख्या बढ्दै छ । तिनै व्यक्तिहरू समाजको नेतृत्वमा पुगिरहेका हुन्छन् । बोल्दा एउटा र गर्दा अर्कै आचरण देखाएर बिस्तारै समाजलाई नै भ्रष्टीकरणमा नराम्ररी छोड्ने गरेका छन् । यस्ता आचरण भएकाले देशको नेतृत्व गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो प्रभाव पार्दा भ्रष्टाचारले देशको सिङ्गै अव्यवलाई नियन्त्रणमा लिएर बन्धक बनाइसकेको अवस्था छ । तर, देशको कार्यकारी अधिकार सहित नेतृत्व गरिरहेका प्रधानमन्त्री, उनका सहकर्मी र हरेक दलको नेतृत्वमा रहेका नेताहरू सुशासन र समृद्धिका भाषण गाइरहेकै छन् । यो शृङ्खला स्थानीय तह, प्रदेश तहमा पनि निरन्तर अनुयायीका रूपमा बढिरहेको अवस्था छ ।

तीन तहकै सरकार आफ्नै मादल, आफ्नै ढोलकका तालमा आफ्नै छन्द र लयका भाषण  छाँटेर भ्रष्टाचारको विरोधमा आवाज ओकले जस्तो गरे पनि वास्तवमा भ्रष्टाचारीको संरक्षण भने निर्बाध गरिरहेका छन् । भाषणले मात्र देशमा समृद्धि र सुशासन ल्याउन सकिँदैन भन्ने भाषणकर्ताले बुझेका छन् वा छैनन् ? उनीहरू नै जानुन्, तर सत्य चाहिँ के हो भने भाषणले मात्र भ्रष्टाचारको अन्त्य सम्भव हुँदैनन् । आचरण र व्यवहार सुधार्दै भ्रष्टाचार विरुद्ध कठोर कानुन कार्यान्वयन गर्न कुनै पनि तहका नेतृत्व अगाडि सर्न सकेको अवस्था छैन । यस कारण भाषणवाजहरू जनतामा ढाँट कुरा भने पक्कै गरिरहेका छन्  । उनीहरूको बोली र व्यवहारले देश अनि जनताको भलाइ हुने कुनै पनि काम भएको देखिँदैन । 

नागरिकमा निराशा छ भन्ने तर के कारण निराशा बढिरहेको छ  त ? उत्तर नबुझ्ने नेतृत्व रहेको वर्तमान नेपालको राज्य संयन्त्रमा भ्रष्ट आचरणले कब्जा जमाइरहेको छ । यही प्रवृत्ति नागरिकको निराशा हो । देशकै निराशाको श्रोत बनिरहेको भ्रष्ट आचरण के कारण हटाउन सकिँदैन त ? यसको उत्तर नभेटिएसम्म नागरिकमा आशा पलाउन निकै कठिन छ । अहिले समाजमा भ्रष्टाचारको विरोध गर्ने एक्लो वृहस्पति बन्नु पर्ने बाध्यता छ । यहाँ सही भन्दा गलत प्रवृत्ति शक्ति उन्मुख भएकै कारण भ्रष्टहरू बलशाली बन्दै गएको प्रस्ट छ ।

भ्रष्टाचार विभिन्न स्वरूपमा समाजमा निर्बाध घुमिरहेको छ । घुसखोरी, कमिशनखोरी, घोटालाबाजी, व्यक्तिगत फाइदाका लागि संवैधानिक कानुन, नीति र विधिविपरित लविइङबाजी, राजस्व छल्ने, मिलीभगतमा जस्तासुकै काम गर्ने, सेवा प्रवाहमा नगई तलब– सुविधा भोग गर्ने प्रचलन नेपाली राजनीतिले नीतिगत आधारमा निरन्तर गरिरहेको अवस्था छ । काम गर्ने निमुखाहरूको मूल्याङ्कन छैन ।

श्रमजीवीहरूको श्रमको सम्मान र उचित मूल्य पनि छैन । श्रममारा शोषकसित मिलीभगतमा श्रमिक मार्ने नीति चोर पालिरहेको अवस्था छ । तर पनि नेतृत्वमा रहेकाहरू भ्रष्टाचार विरुद्ध कृत्रिम भाषणबाजी गरिरहेका छन् । उनीहरूकै कारण कालाधन्धेहरूसँग सेटिङबाजी, अनियमितताको प्रविधिबाट पेट भर्ने दुष्कर्म जस्ता थुप्रै फोहोर विषयहरूको समष्टिगत रूप भएर भ्रष्टाचार दिनप्रतिदिन समाजमा स्थापित भइरहेको छ । अथवा, नगर्ने काम गरेर लाभांश खाने छद्म जाल र प्रपञ्चको संक्षेपीकृत घिनलाग्दो काम भएर बसिरहेको भ्रष्टाचारी आचरण समाजमा धनको रूपमा इज्जत बन्दै छ ।

भ्रष्टाचारकै कारण देशको उन्नति नभएको तथ्य नेपाली राजनीतिले बुझेर पनि बुजपचाउँदा सन्सारका अति भ्रष्ट शासक भएको देशको पहिचान बोकेर नेपालीले हिँडिरहनु परेको छ । पछिल्लो भ्रष्टाचार नियन्त्रण र सुशासनको अध्ययनले विगतभन्दा कम भ्रष्टाचार भएको देखाए पनि नेपालको सुशासनको अवस्था निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३’ को प्रतिवेदन अनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीबाट मुक्त हुन सकेको छैन । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औँ स्थानमा परेको छ । जुन गत वर्षको ११० औँ स्थानमा थियो । यस पटक दुई अङ्कले सुधार गरेको भए पनि भ्रष्ट आचरणका कारण बिग्रिएको सुशासनमा भने सूचाङ्क पार गर्न सकेको अवस्था छैन । राजनीतिमा पसेको पैसा मोहकै कारण शासन शैलीमा भ्रष्ट आचरण जीवित रहँदा नेपालको शुसानमाथि भ्रष्टाचार हाबी भएको मान्नु पर्छ ।

 

 सुशासन र समृद्धिको पहिलो शत्रु सिद्ध, भ्रष्टाचार मौलाउने लहर झन् बढेको छ । स्वयम् सत्तारुढ तथा विपक्षी पार्टी संबद्ध सांसदहरू नै संवैधानिक प्राविधाविरुद्ध प्रस्तुत हुन हिच्किाउँदैनन् । यस कार्यले बेथिति र भ्रष्टाचारहरू नमौलाएर के चाहिँ मौलाओस् त ? त्यसो भए भ्रष्टाचारमुक्त सुशासन र समृद्धिका सप्तरङ्गी भाषणहरूको वर्षा गराउँदै नेपालभित्र राजनीतिले  साना–ठुला कसैले पनि विश्वासको चासो र रहर समेट्न सकिरहेका छैनन् । विगतले राजनीतिमाथि निकै ठुलो भरोसा राखे पनि वर्तमानले भ्रष्ट आचरण नभएका नेता वा नेतृत्व नै छैनन् भन्दैछ । नेपालको उन्नतिको प्रमुख बाधक भ्रष्ट आचरण रहेको सत्य नबुझेका नेता पनि छैनन् तर पनि आचरण सुधार गर्न तयार नहुनु विडम्बना हो । साँच्चै नेपालको समृद्धि चाहने नेतृत्व हो भने आफू र आसेपासेमा रहेको भ्रष्ट आचार त्याग्नै पर्छ अनि मात्र समृद्धिको यात्रा देशले तय गर्न पाउने छ ।

ट्रान्सपरेन्सी नेपालले हरेक वर्ष भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सुझाव दिने गरेको छ । ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढ्नुका चार मुख्य कारण औँल्याउने गरेको छ । दशकयता सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको, सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेको, कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल गरेको र नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहीनता बढेको औँल्याउँदै ट्रान्सपरेन्सी नेपालले यसमा संशोधन हुनुपर्ने सुझाव दिएको छ । तर, सरकारमा जाने दल वा संसद्मा नेतृत्व गर्ने कुनै पनि दलले भ्रष्टाचार नियन्त्रणमा निर्मम हुने हिम्मत गरेको अवस्था छैन । विगतदेखि परम्पराका रूपमा बढ्दै गएको भ्रष्ट आचरण हटाउन राजनीतिक नेतृत्वले हिम्मत नगरेसम्म नेपालको छविमा सुधार हुने छैन । नीति र नियममा चल्नु पर्ने सरकार निर्मम नबनेसम्म नेपालमा देखिएको भ्रष्टाचार घटेर सुधारको वातावरण निर्माण हुने छैन । तीन तहका सरकार रहेको नेपालमा सबै तहका सरकारको हालत भ्रष्टआचरणबाट मुक्त नभएकै कारण सन्सारमा नेपालीले भ्रष्ट देशका बासिन्दाको पहिचान बोक्न बाध्य छन् । यस बाध्यात्मक अवस्था सम्झने नेपाली नागरिकको मनमा सरकारप्रति वितृष्णा बढ्न गएको हो । यस सत्यलाई राजनीतिले नजर अन्दाज गरेकै कारण देशमा थितिभन्दा विकृति बलवान बन्न सफल देखिन्छ । यस खाले अत्याचार विरुद्ध हरेक सचेत नागरिकले पाखुरा बजारेर अगाडि बढ्न आवश्यक भइसकेको छ ।

देश छोडेर वा भागेर नेपालको शासन सत्ताको विकृति अन्त्य हुँदैन । यहीँ बसेर विकृति विरुद्ध लड्न सके भ्रष्ट आचरण अन्त्य गर्न सहजै सकिन्छ । यस्ता सोच भएका सपूत नेपाली छोराछोरी नजन्मेका हुन् या अगाडि नआएका हुन् ? दीर्घ प्रतिक्षाले उत्तर पाउन सकेको छैन तर, सबल राष्ट्र निर्माणका लागि अबचाहिँ सोच्नै पर्ने बेला आइसकेको छ । भ्रष्टाचार सहेर होइन प्रतिरोध गरेर देश र समाजको उन्नति गर्नै पर्छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ५० बजे