साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैदेशिक रोजगारी ठगीका ४ हजार उजुरी,बढी कमाई हुने देशमा धेरै ठगी  

काठमाडौं । बढी कमाई हुने देशमा वैदेशिक रोजगारीको नाममा ठगी हुने गरेको देखिएको छ । चालु आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगार विभाग र प्रहरीमा परेको ३ हजार ८५७ उजुरीमध्ये बढी कमाई हुने देशमा ठगी गरेको भेटिएको हो । 

त्यस्ता ठगी गर्नेबाट जेठसम्म वैदेशिक रोजगारीका पीडितले २६ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । पछिल्लो समय वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी संस्थागत (म्यानपावर) बाट भन्दा पनि व्यक्ति विरुद्ध बढी पर्ने गरेको छ । पिपुल फोरमका संस्थापक अध्यक्ष एवं  अधिवक्ता सोम लुइँटेलले पछिल्लो समय वैदेशिक रोजगारीमा  उजुरी र ठगी गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।  

सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएको कारण धेरै म्यानपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने गरेका कारण व्यक्तिगत ठगी बढेको हो । विगत ३ वर्ष अघिसम्म व्यक्ति र संस्थागत उजुरीको दर बराबर हुने गरेकोमा हाल संस्थागत उजुरी कम र व्यक्तिगत उजुरी बढी हुने गरेको फोरमले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । अध्ययनमा व्यक्तिगत उजुरी ७० प्रतिशत र संस्थागत उजुरी ३० प्रतिशत रहेको छ । 

धेरै ठुलो रकमका ठगी प्राय पश्चिमी मुलुकहरूमध्येका अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया मात्र नभई जापान र कोरिया समेत रहेका छन् । नेपाली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य मुलुकका रूपमा खाडी तथा मध्य पूर्वी अरबिक मुलुक रहे पनि अन्य मुलुकहरूमा समेत समस्या रहेको देखिन्छ । अरू गन्तव्यहरूमा लागत बढी लाग्ने तथा त्यस्तो मुद्दा पुनरावेदनको रोहरबाट सर्वोच्च अदालत पुग्ने गरेको कारण पनि यस प्रकारको तथ्याङ्क पाइएको अध्ययनमा उल्लेख छ ।

विभागले पीडित युवाको उजुरी लिने प्रक्रियामा सहजिकरण गरेको र पीडितको सङ्ख्या वृद्धिसँगै दाबी रकम बढ्दै गएको जनाएको छ । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै म्यानपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रूपमा ठगीमा परेका युवाले पैसा म्यानपावर कम्पनीमा बुझाएको बताए पनि पैसा बुझ्ने व्यक्ति संस्थाको कर्मचारी नभई अरू नै हुने गरेको विभागले जनाएको छ । श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रूपमा युवासँग पैसा असुल्न र म्यानपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले बताएको छ ।  विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रूपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा म्यानपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैर कानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको लामो  समय भए पनि व्यक्तिगत ठगी कमी आएको छैन ।

संस्थागत रूपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएका लगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेर ठगी गर्ने गरिएको छ । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ३१ बजे