‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गोलबजार लगदी गदियानी सडकको सब–बेसमा कमसल सामग्री प्रयोग, नियमनकारी निकाय मौन 

​​​​​​​सिराहा । सिराहा जिल्लामा निर्माण भइरहेको “गोलबजार– लगदी गदियानी सडक ”  कालोपत्रे गर्ने निर्माण व्यवसायीले सब–बेसमा कमसल निर्माण सामाग्री प्रयोग गरेको छ । ठेक्का सम्झौतामा  उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा  स्थानीय “ गागन नदीबाट उत्खनन गरी ल्याएको ” अधिकाधिक माटो र बालुवा तथा कम भाग गिट्टी मिसिएको सामाग्री सब– बेसमा प्रयोग गरिएको छ ।

गोलबजार – लगदी गदियानी सडकका निर्माण व्यवसायी पेटीदार सम्भू कन्स्ट्रक्सनले सो सडकको सब–बेसमा हाल्ने भन्दै स्थानीय गागन नदी ठेक्कामा लिएर उत्खनन गरेको थियो । सडकमा सब–बेस हाल्न ८० हजार घन मिटर उत्खननको इजाजत पाएको सो कम्पनीले गोलबजार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई मिलाएर लगभग साढे दुई लाख घन मिटर नदीजन्य पदार्थ उत्खनन गरेको थियो । अधिक उत्खनन गरिएको नदीजन्य पदार्थ स्थानीय क्रसर उद्योगहरूलाई बिक्री गरेको शम्भु कन्स्ट्रक्सनले गोलबजार –लगदी गदियानी सडकको १५ किलोमिटर भागमा त्यही गागन नदीबाट उत्खनन गरिएको ८० हजार घन मिटर कमसल सामाग्री सब–बेसमा ओछ्याएको छ । सब बेसमा कमसल निर्माण सामाग्री प्रयोग गरिएको कारण छिटपुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे भएको छ । ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक धुलाम्मे हुन्छ । 

गोलबजार नगरपालिका १२ का गणेश गौतम प्रश्न गर्छन् , “ सब– बेस हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे हुन्छ ? ” यस्तो सब – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने ? यो जनताको भविष्यसँग खेलबाड हो । गौतम भन्छन् –“निर्माण व्यवसायी शम्भु कन्स्ट्रक्सनले गागन नदीको बालुवा र माटो हाल्न खोज्दा सुरुमा नियमकारी निकाय  हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले रोकेका थिए । ”  यो नदीजन्य पदार्थ सब–बेसमा हाल्न पाइँदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि शम्भु कन्स्ट्रक्सनले उक्त नदीजन्य कमसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो । त्यसमा ग्राभेल मिसाएर स्तरीकरण गरेर सब–बेसमा हाल्ने भनियो । तर तीन महिना पछि ग्राभेल नमिसाई त्यही माटो र बालुवा सब–बेसमा हालिएको छ । गौतम प्रश्न गर्छन् तीन महिना अघि अस्वीकृत भएको निर्माण सामाग्री तीन महिना पछि कसरी मान्य भयो ? उनले यो प्रकरणमा नियमनकारी निकाय र ठेकेदार पक्षबीच अनुचित लेनदेनबाट सम्झौता भएको आशङ्का गरेका छन् । 

गोलबजार नागरिक समाजका अगुवा राम नारायण सिंह भन्छन् , –“सब–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर शम्भु कन्स्ट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरूलाई मिलाएर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।  उनले भने ,– यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।  

धनगढीमाई नगरपालिकाका इन्जिनियर शम्भु यादव भन्छन् , “ सब– वेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सब– बेस र बेस हाल्नुपर्छ । बेस एग्रिगेटको पनि साइज हुन्छ । निश्चित मात्रामा डस्ट मिसाइन्छ । ”  जस्तोतस्तो माटो र बालुवा सब– वेस र बेसमा हाल्नै हुँदैन । कालोपत्रे सडकको टिकाउपन “ सब–बेस र बेस ” मै अन्तर्निहित हुन्छ । सब–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक भासिनु हुँदैन । 

हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादव भन्छन् , “सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखियो । त्यसकारण अस्वीकृत गरिएको थियो । पछि गिट्टी मिसिएको सामाग्री भनेर वेस ओछ्याउन दिइएको हो । ” उनले भने सब–बेसको सामाग्री ल्याबमा परीक्षणको लागि पठाइएको रिपोर्ट आएपछि स्पष्ट हुन्छ । 

यता शम्भु कन्स्ट्रक्सनका सञ्चालक दीपक कार्कीसँग यस बारे प्रतिक्रिया माग्दा उनले भने हामीले सब–वेस मा राम्रै सामाग्री हालेका छौँ । अहिले वर्षाले ठाउँ ठाउँमा सडक बिग्रेको र आवागमन अवरुद्ध भएकोले त्यसलाई खुलाउन माटो हालिएको हो । 

गोलबजार लगदी गदियानी सडकको  ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा स्वीकृत भएको छ । सडकको निर्माण कार्य पेटीठेगेदार शम्भु कन्स्ट्रक्सन काठमाडौँले गरिरहेको छ ।  १५ किलोमिटर लम्बाइ रहेको यो सडकको ठेक्का सम्झौता २०७७ भदौ २४ मा भएको थियो । सम्झौता अनुसार २०७९ फागुन २३ गतेसम्म  सम्पन्न गर्ने सर्त थियो । समयमा काम सम्पन्न नभएकोले एक पटक म्याद थप भएको छ । थप म्याद अनुसार २०८१ फागुन २३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ । ५१ करोड ४१ लख २ दुई हजार ३ सय ९६ रुपैयाँ ४ पैसामा ठेक्का कबुल गरेको कम्पनीले ३३ प्रतिशत रकम अर्थात्  १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । 

 

सडक निर्माणमा ढिलाइ भएको कारण सिराहाका अभियन्ता रामरिझन यादवले लगदी गदियानीदेखि गोलबजारसम्म पैदल यात्रा गरेर दबाब सृजना गरेका थिए । यो सडक निर्माणमा ढिलाइ हुँदा लगदी गदियानी देखि उत्तर गोलबजारसम्मका २४ गाउँ टोलका बासिन्दालाई मर्का परेको छ । हुलाकी सडक आयोजना कार्यालय जनकपुरले जनाए अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु ,  

सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाइ भएको हो ।  

 

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : २६ बजे