‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भात खानु भयो ?

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला ।

बनाई कुलो लगाई पानी आएर गोडौँला ।।

कवि  दैवज्ञराज न्यौपानेद्वारा ‘किसानको रहर’ कविताको उक्त पङ्क्तिले धानको महिमा उजागर गर्दै नेपाली मनहरूलाई हिलाम्य खेतबारीमा बिछ्याउन मद्दत गरेको छ । अनि यस कविताभित्र लुकेको मर्मले ‘मुठी छरेर मुरी उब्जाउने’ लोकोक्तिलाई थप बल पुर्‍याएको  छ । साथै, यस कविताको भावले किसानको मिहिनेत खेतबारीमा समर्पित गर्ने रहर उजिल्याएको छ । 

आज असार १५ गते २१ औँ राष्ट्रिय धान दिवश ! त्यसो त आज दही चिउरा खाने दिनको रूपमा समेत चिनिन्छ । चिउरा धान बाटै बन्ने हो र यही याममा यहाँ आमतवरमा धान खेती गरिने भएकाले आजको दिनलाई धान पर्वको रूपमा मनाउनु सान्दर्भिक छ । विश्व जलवायु संकटतर्फ धकेलिइरहेकाले वातावरण संरक्षणमा जोड दिन र कृषि उपजमा आत्मनिर्भर बन्न राज्यले यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको छ । विश्वमा भइरहेको वातावरण विनाशका कारणले जैविक विविधतासहित कतिपय रैथाने प्रजातिका धानहरू लोप भइरहेको र उल्लेख्य मात्रामा उत्पादन बढाउन नसकिएको वर्तमान परिस्थितिमा उक्त नाराले कत्तिको सार्थकता पाउने हो भविष्यले नै बताउने छ । जे होस्, आज आम रूपमा गोरु, राँगाले खेत बारी जोतेर र कतिपय ठाउँमा आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै हिलोमाटोमा धान रोपाई गरेर, धान चामलका विविध आयामका बारेमा गोष्ठी, छलफल, अन्तरक्रिया, साहित्य सिर्जना गरेर धान दिवश मनाईंदैछ ।

जीवनको निम्ति खाना अपरिहार्य छ । विविध भूगोल र संस्कृति अनुसार समाजमा विभिन्न किसिमका खानेकुराहरू खाइँदै आएको छ । भात संसारका सबै कुनामा खाइन्छ, तथापि मुख्य खानामा भात खाने चलन एसियाका अधिकांश देशहरूमा छ । आधुनिक खाद्य संस्कृतिको प्रभाव र स्वास्थ्य सम्बन्धी जागरण बढ्दै जाँदा केहिले कमै खाए पनि यहाँ बिहान बेलुकै खानामा भात अनिवार्य जस्तो छ । भात उचित मात्रामा सेवन गर्दा मानिसको स्वास्थ्य प्रवद्र्धनमा समेत सहायकसिद्ध हुन्छ । त्यसो त उचित मात्रा र उचित समयमा खाँदा सबै खानेकुराहरू औषधीय गुणले युक्त नै हुन्छन् । 

तातो भात खान पाए कति आनन्द हुन्थ्यो ! भनेर भातको रसास्वाधनमा पल्केकाहरूको भनाई घरघरमा सुनिँदै आएको हो । त्यसैले बिहान र बेलुका मानिसहरूको भेटघाट हुँदा के शहर, के गाउँ सर्बत्र भात खानु भयो ? भनेर जिज्ञासा राखिन्छ । भात खानु भयो ? भन्ने प्रश्न थेगो नै भएको छ । खाना खानु भयो भनेर पनि प्रायः भनिँदैन र सोधिन्छ भात खानु भयो ? भनेर । खाना खानु भयो भन्दा त्यति गहकिलो प्रश्न जस्तो पनि लाग्दैन धेरैलाई । त्यसो त चिनियाँ सहित एसियामा प्रयोग हुने कतिपय भाषामा ‘खाना’ भन्नु र ‘भात’ भन्नु उस्तै उस्तै ठानिन्छ । धान, चामल हुँदै तयार हुने भात नेपाली समाजको एउटा महत्वपूर्ण खाद्य संस्कृतिको रूपमा विकास भएकाले यस्तो भएको हो । भात खानु भनेको हाम्रो देशको सन्दर्भमा सामान्यतया भातको साथमा गच्छे र इच्छा अनुसार दाल, तरकारी, अचार, दही, मही, दुध, घिउ, माछा, मासु आदिलाई पनि बुझ्नु पर्ने हुन्छ । भातलाई कतिपय परिवार र समाजमा भुजा भन्ने चलन पनि छ । 

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने वा चिसो खप्न सक्ने जुम्ली मार्सी धानको चामलको माग र लोकप्रियता केही वर्ष यता अधिक छ । हाम्रो समाजले भातको खाद्य पहिचान बनाएको छ । यहाँ ‘भात संस्कृति’ सघन छ । अनि देशको प्रमुख खाद्यबाली भएकाले धान यहाँको खाद्य सुरक्षाको निम्ति महत्वपूर्ण छ । साथै, संविधानले मौलिक हकको रूपमा अंगीकार गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभूताको अधिकार कार्यान्वयनको लागि समेत यथेष्ट मात्रामा धान उत्पादनको विशिष्ट महत्व छ । 

एकातिर हिमाली र पहाडी भेगमा धान कम फल्ने भएकाले र अर्कोतिर न्यून आयस्तरका नागरिकको पहुँच नपुगेकाले धानको भात खान सबैलाई ती ठाउँहरूमा निकै गाह्रो थियो बिगतमा । धानको भात खान पाउनु अहोभाग्य जस्तै थियो ऊबेला । त्यही भएर दुःख गरेरै भए पनि धानको भात खानका लागि मानिसहरू तराई झर्ने चलन एकताका यहाँ थियो । अनि धानको भात खाने मानिस सम्पन्न ठानिन्थ्यो भने नपाउने गरिब । पहिले मात्र होइन अहिले पनि आम रूपमा बुझ्नको सजिलोको लागि धानलाई मसिनो र मोटा गरी दुई वर्गमा विभाजित गरिन्छ । जसले मसिनो चामल जस्तो कि बासमती चामलको भात खान्छ त्यो व्यक्ति वा परिवार सम्पन्न मानिन्छ र त्यो नपाउने न्यून आयस्तरको । खाद्य संकट झेल्दै आएको कर्णाली क्षेत्र, प्राकृतिक प्रकोप जस्तैः बाढी, पहिरो, खडेरी पीडित स्थानमा खाद्य सुरक्षा प्रदान गर्न भनी बिगतमा खाद्य संस्थानले र अहिले रूपान्तरित भएर बनेको खाद्य व्यवस्था तथा व्यापार  कम्पनी लिमिटेडले अनुदानमा आधारित चामल आपूर्ति गर्दै आएको छ । किनकी मुलुकमा भात खाने चलनको प्राधान्यता छ ।  

विश्वको मुख्य अन्नबालीको रूपमा रहेको धानको वैज्ञानिक नाम ओरिजा सेटिभा (Oryza Sativa) हो । छिमेकी देशहरू भारत र चीनमा हजारौँ वर्ष अघिदेखि उत्पादन भइरहेको धान संसारमा उत्पादन हुने पुरानो अन्नबालीमा पर्दछ । विश्वको आधा जनसंख्याले चामल सेवन गर्दछ । पूर्वी एशियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरिया तथा दक्षिणपूर्व एशियाका नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, मालद्विप जस्ता देशका वासिन्दाहरू चामललाई मुख्य खाद्यको रूपमा ग्रहण गर्दछन् । उत्पादनको ९५ प्रतिशत धानको हिस्सा विश्वभर छरिएर रहेका मानिसले उपभोग गर्दछन् । यस तथ्यबाट भातको अर्थ–राजनीतिक तथा साँस्कृतिक आयाम कति व्यापक छ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । 

जातिय तथा सांस्कृतिक विविधताले सुसम्पन हाम्रो मुलुकमा सबै जातजातिले धान चामलको प्रयोग दैनिक जीवनमा गरिरहेकै हुन्छन् । यहाँ धान चामलको धार्मिक, साँस्कृतिक तथा पोषणको महत्व धेरै छ । जन्मदेखि मृत्युपर्यन्त चामल र धानको उपयोग हुन्छ । न्वारन भातख्वाई, पूजाआजा, श्राद्धसंस्कार, माघी, विभिन्न चाडपर्व, भोजभतेर, झारफुक जस्ता कुरामा धानचामलको प्रयोग अनिवार्य जस्तै छ । अनि साँस्कृतिक तथा जातिय विविधता अनुसार चामल र चामलको पीठोबाट बन्ने परिकार त कति हो कति ! ती सबै लोकप्रिय स्वादिष्ट परिकारको बारेमा न त यस पंक्तिकारलाई पूर्ण जानकारी छ, न त केहीको ज्ञान नै भए पनि यस आलेखमा त्यो कुरा उल्लेख गर्न संभव छ । देशका दूरदराजमा पुगेर विभिन्न जातिका मानिससँग भेटेर वा जातिय प्रतिनिधित्व हुने गरी कार्यशाला गरेर चामलबाट बन्ने परिकारको खोजी गरी त्यस सम्बन्धी सामग्री प्रकाशन गर्न सके लाभदायी नै हुनेछ । खाद्य पर्यटन विकास गर्न समेत ‘भात संग्रहालय’ स्थापना गर्न लाग्नुपर्ने आवश्यकता पनि त्यत्तिकै छ । 

हाम्रो देश कृषि प्रधान हो र यहाँको दुई तिहाई जनसंख्या कृषि पेशामा आबद्ध छ । तर बितेका केही वर्ष यता ठूलो परिमाणमा यहाँ विदेशबाट चामल आयात भइरहेको छ । त्यसोत वि. सं. २०३०/०३१ साल पछिका केही वर्ष नेपालले विदेशतर्फ धानचामल निर्यात गर्दथ्यो । विशेषगरी चामल निर्यातलाई व्यवस्थित पार्न सरकारले मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, लुम्बिनी, सुदुर पश्चिम, सेती महाकाली अञ्चल गरी ८ वटा धानचामल निर्यात कम्पनी स्थापना गरेको थियो । यी कम्पनीहरूमा सरकार र सहकारीको ५१ प्रतिशत तथा बाँकी ४९ प्रतिशत व्यापारी, मिल मालिक र किसानको शेयर सुरक्षित थियो । त्यसबेला राष्ट्रिय निर्यातको ६० देखि ६५ प्रतिशत कृषि उपजले धानेको थियो र त्यसमा पनि चामलको अंश ठूलो थियो । धानचामल निर्यातको ठूलो हिस्सा भारतमा हुने गरेको थियो । यी कम्पनीहरू खारेज भइसके । यस्तो गौरवशाली विगतबाट हाल विशाल परिमाणमा चामल आयात गर्ने अवस्थामा पुग्नु हाम्रा निम्ति विडम्बनाको विषय हो । हुनत त्यसबेला जनसंख्या अहिलेभन्दा थोरै हुनु, चामलभन्दा अरु नै अन्न खाने प्रवृत्ति बढि हुनु जस्ता कारणले धान चामल विदेश बेचबिखन गर्ने अवस्था रहेको थियो भन्ने मत पनि छ । तर जे भए पनि इतिहासको कुनै कालखण्डमा हाम्रो कृषि उपज उल्लेख्य मात्रामा निर्यात गर्ने सामथ्र्य राख्न सक्नु महत्वपूर्ण पाटो हो । यसबाट प्रेरणा लिनु पर्दछ । 

अहिले हाम्रो देशमा धानको माग ४० लाख मेट्रिक टन छ तर उत्पादन ३० लाख मेट्रिक टन मात्र रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा ४० दशमलब २ अरब रूपैयाँको धान चामल आयात गर्नुपरेको थियो । खेती योग्य जग्गा २२ लाख हेक्टर, बाँझो जमिन १ दशमलब ५४ लाख हेक्टर अर्थात् ७ प्रतिशत छ भने सिचाई १२.८ हेक्टरमा मात्र पुगेको छ ।

विश्वका धेरै संस्कृतिहरूमा धान खेती सुरुवात भएको उल्लेख छ । चीन, भारत र दक्षिणपूर्व एशियाका सभ्यताहरूसमेत यस भित्र पर्दछन् । जे होस् पुरातात्विक, साँस्कृतिक तथा भाषिक प्रमाणहरूले धान खेतीको सुरुवात छिमेकी देश चीनमा १३५०० देखि ८२०० वर्ष पहिले भएको मानिएको छ । यस धर्तीमा हुने धान उत्पादनको ९० प्रतिशत हिस्सा चीन, भारत, इन्डोनेसिया, बंगलादेश, जापान, पाकिस्तान लगायतका देशहरूले गर्दछन् । त्यसो त धान खेती युरोप लगायत उत्तर र दक्षिण अमेरिकी देशहरूमा पनि हुन्छ । अर्थात् परिमाण धेरथोर जे भएपनि धान उत्पादन प्रायः विश्वका सबै देशहरूमा हुने गरेको छ । अनि यो पनि भन्न सकिन्छ कि यसरी उत्पादन भएको धानबाट बनेको चामलबाट निर्मित परिकारहरू विश्वका प्रायः सबै सभ्यता र संस्कृतिमा चलनचल्तिमा छन् । विश्वका करिब ९० करोड गरिब मानिसहरू उत्पादक वा उपभोक्ताका रूपमा धानमा निर्भर रहेका छन् । 

यस क्षेत्रमा धान चामलको महत्व कति रहेको छ भन्ने कुरा धानका बारेमा अध्ययन अनुसन्धान गर्न स्रोत साधनले सम्पन्न संस्था सन् १९६० स्थापना भएबाट पनि स्पष्ट हुन्छ । एशिया महादेशको फिलिपिन्समा रहेको यस अन्तर्राष्ट्रियस्तरको धान अनुसन्धान संस्थाले सन् १९६६ मा विकास गरेको आईआर–८ धान जो नेपालमासमेत प्रख्यात भयो, यस धानको विकासले अनिकालको सामना गरिहेको एशियामा धानमा हरित क्रान्ति नै ल्यायो । त्यसबेलादेखि धान फसल विश्वमा दोब्बर बढि उत्पादन भएको छ । यस संस्थाले अनुसन्धान संस्था, सरकार, विकास साझेदार, निजी क्षेत्र र किसानसँग मिलेर काम गर्छ र धान बालीको विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । स्मरणरहोस् काठमाडौंमा उक्त संस्थाको शाखा कार्यालयसमेत बितेका केही वर्षदेखि क्रियाशील रहेको छ । 

नर्मन बोरलाग (सन् १९१४–२००९) जो अमेरिकी कृषिविद् थिए, उनले कृषि उत्पादनमा व्यापक बृद्धि गरे । उनको सफल अभियानलाई हरित क्रान्ति भनिन्छ । यद्यपि यस क्रान्तिले अत्यधिक रासायनिक मल तथा कीटनाशक औषधी प्रयोग गरी धानको विकासमा योगदान गरेकाले वातावरण विनासमा भूमिका खेल्यो भनेर आलोचना समेत गरिन्छ । जे होस्, उनको खोज तथा अनुसन्धानले कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गरी संसारमा गरिबी र भोकमरी न्युनीकरण गर्न उल्लेख्य योगदान गरेवापत उनलाई नोबेल शान्ति पुरस्कार समेत दिइयो । गहुँको साथ बोरलागको कामले अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान र चीनको हुनान धान अनुसन्धान केन्द्रमा धान खेतीको विकासमा योगदान पु¥यायो । अन्तर्राष्ट्रिय कृषि अनुसन्धानमा परामर्शदाता समूहका बोरलागका सहकर्मीहरूले पनि एशियाका अधिकांश भागमा उच्च उत्पादन हुने धानको विविधता विकास र परिचय गराए । 

भात र राजनीतिको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यसका बारेमा अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाका डेभिड डाव र केरोलिन डेडोल्फ (David Dawe and Carolyn Dedolph) भन्छन्, ‘एशियामा “चामल र समृद्धिको नियम” सरल छ : यदि देशले सामाजिक र राजनीतिक स्थिरता कायम राख्न चाहन्छ भनेर जनतालाई खानको लागि पर्याप्त चामल छ भनी सुनिश्चित गर्नुहोस् ।’ हाम्रो देशको कर्णालीमा जसले चामल आपूर्तिलाई पर्याप्त, सरल र सहज बनाउन सक्दछ उसैले चुनावमा बाजी मार्दछ भन्ने विश्लेषण समेत एकथरीको रहेकाले पनि भोक, भात र राजनीतिको कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

यस क्षेत्रको राजनीति, संस्कृति र कृषि कर्मको महत्वलाई स्पष्ट पार्न धेरै उखान र भनाईहरू समाजमा प्रचलित छन् । ती सबै उल्लेख गर्न यहाँ संभव छैन । यस्ता भनाईहरूले धानमा आत्मनिर्भर हुन सधै प्रेरणा प्रदान गरिरहेका हुन्छन् । चामल र भातको बारेमा हाम्रा दुई घनिष्ट छिमेकी मुलुकमा प्रचलित भनाईलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक नै हुन्छ । चीनमा प्रख्यात एउटा भनाई छ—मानिसलाई एक कचौरा भात दिनुभयो भने तपाईले उसलाई एक दिनको लागि खुवाउनु हुन्छ । तर उसलाई धान कसरी उब्जाउने भनेर सिकाउनुहोस् तपाईले उसको जीवन बचाउनु हुनेछ । यसैगरी अर्को छिमेकी मुलुक भारतमा प्रचलित भनाई यस्तो छ—यदि तपाईसँग चामलको राम्रो भण्डार छ भने तपाईसँग साहस हुन्छ, यदि तपाईसँग चामलको भण्डार छैन भने कुनै प्रतिष्ठा छैन । 

यसरी संसारका वैविध्यपूर्ण संस्कृतिमा धान र भातका बारेमा गाइने गीत तथा बजाइने संगीत, वाचन गरिने कविता, उद्धृत गरिने उखान र भनाईहरू मानव सभ्यताका महत्वपूर्ण साहित्यिक निधिहरू समेत हुन् । यस्ता विचारले राज्य, समाज, परिवार र व्यक्तिलाई कृषि पेशा र किसानप्रति सम्मान गर्दै उत्पादन र उत्पादकत्व बढाउन प्रेरित गर्दछन् । धान दिवस मनाइरहेको आजको दिनमा विश्वको खाद्य प्रणालीको महत्वपूर्ण हिस्सा ओगटेको धानको उत्पादन बढाउन संकल्प गर्नु पर्दछ । नेपालको सन्दर्भमा यो नीति झन् बढी लागू हुन्छ । जलवायु परिवर्तनले पारेको असर, कृषिमा महिलाकरण, कृषिमा दिइएको अनुदान कटौती, कमजोर सिंचाई प्रणाली, जोखिमयुक्त रोजगारीका निम्ति युवाको विदेश पलायन, कमजोर कृषि बीमा कार्यक्रम, कृषिमा निम्छरो व्यवसायीकरण तथा न्यून आधुनिकीरकण जस्ता समस्याको दिगो समाधान गरी धानको उत्पादन बढाउनु अति आवश्यक छ । 

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ०६ बजे