‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदन हत्याको रहस्य ढिला चाँडो खुल्ला नै,तर राष्ट्र र राष्ट्रियताका लागि त्यो ठुलो अभिशाप बन्न पुग्यो :विद्यादेवी भण्डारी

४१ वर्षको हुनुहुन्थ्यो मदन । २०४८ साल असार १५ गते । दहि चिउरा खाने दिन । अहिले सरकारले उक्त दिन धान दिवसका रुपमा मनाउने गरेको छ । मेरो कान्छि छोरी निशाकुशम भण्डारीको जन्म दिन असार १५ गते हो । छोरी कराउँदै आईन र भनिन मेरो जन्म दिन मनाई दिनु प¥यो । त्यतिबेलासम्म जन्म दिन मनाउने भन्ने चलन पनि थिएन । भर्खरै निर्वाचन सकिएको थियो । मदनले काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्वर १ र ५ बाट चुनाव जित्नु भएको थियो । पहिला काठमाडौंमा ५ वटा निर्वाचन क्षेत्र मात्रै थिए । अहिलेको संरचनाले पहाडमा निर्वाचन क्षेत्र घटेर तराई र काठमाडौमा बढेको छ ।

निर्वाचनमा लामो समय खटेका पार्टीका कार्यकर्ताहरु जो मदनका स्वंसेवकका रुपमा थिए । उनिहरुलाई घरमा बोलाएर एक दिन खाजा खुवाउनु पर्छ भन्ने सोचेको थिएँ । त्यो भन्दा अघि कहिल्यै मदनको जन्म दिन थाहा थिएन । नागरिकता पनि हेरेको थिईन । मागि विवाह हो । खास सोधखोज पनि थिएन । चुनावका बेला नागरिकताको फोटोकपी पेश गर्नु पर्ने रहेछ । तर पनि जन्म दिन कहिले हो ? थाहा थिएन । न्वारनको नाम पनि मोतिलाल भण्डारी रहेछ । पछि थाहा पाएँ । मैले छोरीको जन्म दिनको अवसर पारी एकै दिन निर्वाचनमा खटिएका स्वंयसेवकहरुलाई खाजा खुवाउने योजना बनाएर २०४८ असार १५ गते साँझ घरमा बोलाएँ । त्यहि खुशीमा थियौं हामी । कान्छी छोरी पनि खुशी भईन । तर मदनले जिस्कँदै ब्यङ्ग गरेर भन्नुभयो–‘मेरो पनि हिजो जन्म दिन थियो कसैले मनाई दिएन ।’

 

काभ्रेले मलाई पुर्नताजगी गरायो । राष्ट्रपति हुनु अघि काभ्रेसँग मेरो विशेष सामिप्यता थियो । राष्ट्रपति हुँदा पनि भयो । साथीहरु नेपालमै पहिलो पटक ब्रम्हाको मुर्ति बनाएका छौं आईदिनु प¥यो भनेर निम्ता लिएर जानु भयो । मैले हुन्छ भनिदिएँ । सहभागि पनि भएँ । त्यस बाहेक विभिन्न कार्यक्रममा म सहभागि भएको छु ।

भुकम्पको समयमा अर्थात पार्टीले दिएका विभिन्न जिम्मेवारीहरुमा मैले सक्रियतापूर्वक काम गरेको थिएँ । अहिले धेरै साथिहरु यहाँ देखेको छु । भेट्न पाएँ । खुशी भएँ । मैले कुनै विषय विर्सिएको छैन । दायित्व भुलेको छैन । भर्खरै एमालेको निर्वाचन भएको थाहा पाएँ । निर्वाचितहरुलाई बधाई । एमाले विरुद्धको गठवन्धन हुँदा पनि गोकुल बास्कोटाले निर्वाचनमा जित्नु भयो । उहाँलाई पनि बधाई । शशक्त, विकासका लागि महत्वपूर्ण योगदान दिने युवा नेता बास्कोटाले जिल्लाका लागि पु¥याएको योगदान धेरै छ । धुलिखेल नगरपालिका, त्यसका प्रमुख अशोक ब्याञ्जु जसले धुलिखेललाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा विभिन्न योजना मार्फत चिनाउनु भयो । दिगो विकास लक्ष्यका लागि धुलिखेलले पुरा गरेका शर्तहरु महत्वपूर्ण छन् ।

​​​​​​​मदन बाचुञ्जेल जन्मोत्सव मनाईएन । २०४८ असार १५ गते मदनले ब्यङ्ग गरेर भन्नु भएको त्यो कुरामा हामीले रमाईलो मात्रै ग¥यौं । २०५० जेठ ३ गते उहाँको रहस्यमय निधन भयो ।

हामी र देशका कुनै पनि नागरिकले उहाँको मृत्युलाई सहज मानेका छैनौं । उहाँसँग हुनेहरुको पनि निधन भईसकेको छ । ढिलाचाँडो त्यसको रहस्य त खुल्ला नै । तर पनि त्यो घटना विर्सन सकिएको छैन । देशका लागि, एमालेका लागि र रास्ट्र र राष्ट्रियताका लागि त्यो ठुलो अभिषाप बन्न पुग्यो । तर पनि शोकलाई शक्तिमा बदल्दै नेकपा एमालेका कार्यकर्ताहरुले जनताको बहुदलिय जनवादलाई निरन्तर अगाडी बढाई रहेका छन् । मदनका ति विचार आज पनि उत्तिक्कै सान्र्दभिक छन् । महत्वपूर्ण छन् । साम्यवाद पुग्न ति विचार अत्यन्तै उत्सुक छन् । मदन प्रतिको सच्चा श्रद्धाञ्जली पनि त्यहि हो । २०५० असार १४ गते पहिलो पटक मदनको जन्मजयन्ती मनाईयो । म पहिलो संस्थापक सदस्य भएँ । बाँचुञ्जेल जन्मोत्सव नमनाएको मदनको जन्मजयन्ती त्यहि बेलाबाट शुरु भयो ।

काठमाडौ महानगरपालिकाको वडा नम्वर १ मा मदनको ४१ औ जन्मजयन्तीको अवसर पारेर गमलामा ४१ वटा विरुवा रोपण गरियो । पछिल्लो वर्ष बल्खुमा एमालेको केन्द्रिय कार्यालय निर्माणका लागि खरिद गरिएको जमिनमा इश्वर पोखरेल र प्रदिप नेपाल सहितको ब्यवस्थापनमा बृक्षारोपण गरिएको थियो । त्यस पछि विभिन्न समयमा विविध कार्यक्रमका साथ देशभर मदनको सम्झनामा जन्मजयन्ती मनाउन थालिएको छ । मदन जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरेकोमा काभ्रे जिल्लालाई धन्यवाद ।

एमाले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस घोषणा गरी हरेक वर्ष बृक्षारोपण गर्न शुरु गरिएको छ । मदन भण्डारीको जन्मजयन्तीसँग यसको सम्वन्ध छ कि ? जस्तो लाग्छ । हुन त मसँग उहाँको यस विषयमा कुराकानी भएको छैन तर मेरो मनले त्यहि भन्छ । असार १४ राष्ट्रिय बृक्षारोपण । उहाँको निधन पछिको पहिलो वर्ष बृक्षारोपण गरेर मनाउन शुरु गरिएको थियो । त्यहि दिनलाई स्मरण गर्दै सरकारले बृक्षारोपण वर्ष शुरु गरेकोमा धन्यवाद । मानवजीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने वनस्पतीको संरक्षण आवश्यक छ । कृषि प्रधान, जलश्रोतको धनी र हरियो वन नेपालको धन भन्ने नारा सानै देखि सुनिन्थ्यो । यसले मात्रै मुलुकलाई समृद्ध बनाउँन सक्दो रहेछ । वातावरण अनुकुल नहुँदा झेल्नु परेका समस्या, विश्वब्यापी मौषम अनुकुल तथा अन्य संकटहरुबाट बच्न, पानीको श्रोत बचाईराख्न पनि बृक्षारोपणलाई निरन्तर गरिराख्न र त्यसको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

धुलिखेल नगरपालिका ११ मा निर्माण गरिएको मदनको शालिकमा पुग्ने अवसर पाएको थिईन । मदनको शालिकमा पुगेर माल्यार्पण गर्ने अवसर पाएँ । ३१ वर्ष पछि फेरी मैले ‘जिन्को बायोलयन’ नामक विरुवा रोपण गरें । मदनको तस्विरमा पनि माल्यार्पण गरें । मलाई खास बोल्न मन छैन । तर पनि मदनले त्यहि उमेरमा समाज, राष्ट्र र पार्टीलाई पु¥याएको योगदान, विचार र सिद्धान्त आज पर्यन्त उत्तिक्कै सम्झनयोग्य छ । कास्की जिल्लाको अधिबेशन सकेर चितवनमा हुने महिला भेलालाई सम्बोधन गर्न मदन र जीवराज आश्रित एउटै गाडीमा जाँदै गर्दा भएको दुखद घटनाको पीडा अनेमसंघलाई पनि भयो । उहाँले सम्बोधन नगर्दै भएको घटनाले सधै असहज बनाई रह्यो । त्यतिबेला साहना प्रधान हुनुहुन्थ्यो अध्यक्ष । नेपालको कम्युनिष्ट आन्दोलन भित्रको टुटफुट, क्रान्तिकारी विचार निर्माण, नेकपा एमालेको निर्माण लगायतका विषयमा मदन भण्डारीले छोटो समयमा खेलेको भूमिका अविश्मरणीय छ ।

देश निर्माण गर्न, साम्यवादसम्म पुग्न, देश र जनताको हितमा काम गर्न पार्टी पार्टी बीचको विवदा, पार्टी भित्रको विवाद अन्त्य गर्नु आवश्यक छ । आत्मकेन्द्रित नभई देश केन्द्रित सोच बनाउनु आवश्यक छ । दलाल पुँजिबादको दवदबा रहुन्जेल मुलुकको समृद्धी सम्भव छैन । त्यसैले मदनका विचारहरु देश र नेकपा एमालेको सम्पति हो । त्यसको ब्यवहारत प्रयोग भए मात्रै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । सबैमा मेरो अनुरोध छ फुटेर हैन, जुटेर देशको रक्षा गरौं । विकास गरौं । समृद्ध बनाऔं । सुखी नेपाली, समृद्ध नेपालको निर्माणमा सबै जुटौं । जय देश ।

(उक्त विचार मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित मदन भण्डारीको ७३ औ जन्मजयन्ती समारोहमा ब्यक्त गरिएको हो । सम्पादन सहित यहाँ प्रस्तुत गरिएको छ ।)

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ३९ बजे