२०८१ साल साउन १४ गते जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको दिन हो । यस अवसरमा हामी उहाँ र उहाँका अगुवाइमा प्रतिपादित जबजलाई कति प्रतिशत जान्दछौँ र बुझ्दछौँ ? यस विषयमा मनन गर्न यो लेख लेखिएको हो । बुझाइका पनि पात,बोक्रा,पलाँस र चुरोजस्ता फरक फरक बुझाइ हुन्छन् । सप्तकोसीको जलाशयमा विद्युत्को भण्डार छ भनेर बुझ्ने कति होलान् ? अधिकांशले त शौच गर्दा धुने, पखाल्ने र सिँचाइ गर्ने पानी मात्र न बुझ्लान् । एउटी छोरी जब आमा हुन्छिन् वा प्रसव वेदनाले छटपटाउँछिन्, तब मात्र उनले आमालाई सय प्रतिशत बुझ्लिन् । पुर्खाहरूले आफैँ नमरी स्वर्ग देखिँदैन यसै भनेका होइनन् । त्यसैले जननेता र जबजलाई कति र कसरी बुझ्छौँ भन्ने अहम् सवालको यस लेखको विषय हो ।
मदनका बारेमा सविस्तार केन्द्रीय सदस्य युवराज बाँस्कोटाले लेख लेख्नु भएको रहेछ । कम्तीमा बेलाबेला लेख्ने केही एमाले नेता र बुद्धिजीवीका लेख पढ्ने र लाइक गर्न पाइन्छ । तर आफू पनि नलेख्ने र लेख्नेलाई पनि देख्न नसक्ने बानी धेरैको देख्दा आफैँलाई भारी सरम हुन्छ । लाज सरम मान्नु पर्नेले नमाने पछि आफैँ सरम मान्नु बाहेक अरू उपाय देखिन्न ।
पठन र लेखनलाई महत्त्व दिने नेता धेरै कम छन् नेता केशव बडालले सिंहावलोकन नामको एक महत्त्वपूर्ण कृतिको समीक्षा गर्नु पर्नेछ । यतिका दिनसम्म उहाँको कृतिको चर्चासम्म गरिएको छैन । पठन लेखन संस्कृति पात्र र प्रवृत्तिबारे अधिकांशको उत्साहजनक बोली वचन पनि सुनिन्न । तर यसलाई प्रोत्साहन गर्नेमा पार्टी अध्यक्ष पर्नुहुन्छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि भेटघाटका अवसरमा तपाईँको लेख किन कडा हुन्छ भनेर सोधपुछ गर्नु हुन्छ । कमरेड प्रदीप ज्ञवाली लेखक र लेखन मैत्री भावका नेता हुनुहुन्छ । नेता सूर्य थापासित मेरो लेखन मैत्री प्रगाढ बन्दैछ । उहाँका अभिप्रेरणामा प्युठान जिल्लाबाट प्रकाशित भएको एक पत्रिकाका लागि एउटा गहकिलो लेख्न आफू बाध्य भइयो । पार्टीका हितका लागि यस्ता बाध्यता आइपरे हुन्थ्यो भन्ने लागिरहन्छ तर के अरि परेर हो अहँ त्यस्तो मिल्ला जस्तो छैन ।
एमाले पार्टीमा गहनै गहना छन् तर ती गहना कहाँ लगाउने र सजाउने थाहा नपाएर हैरान भएको स्थिति छ । जननेता मदन भण्डारीलाई धेरै जसोले मिही रूपमा चिन्ह सकेको जस्तो मलाई पटक्कै लागेको छैन । उहाँलाई राम्ररी पढेको र बुझेको भए सत्ता, सरकार र सम्पत्तिमा यति बिघ्न अपहत्ते गरिने थिएन । मन्त्री,माननीय र जिल्ला तहका केही नेता अनेक छलछाम , षडयन्त्र र तिकडमबाजी गरिरहेका छन् । सुनसरी जिल्ला अधिवेशनमा अध्यक्षमा उठाइएका र जिताइएका नेताको स्वास्थ्य नाजुक थियो र छ भनेर बुझ्नेले बेलैमा नबुझेको होइन तर उहाँको निधन पछि कार्यवाहक अध्यक्षलाई रबर स्टाम्प बनाएर रैँदालो गर्न पाइन्छ भन्ने कुनियत जगजाहेर भयो । यो प्रत्यक्ष भएको एउटा सामान्य उदाहरण मात्र हो । जुनसुकै जात,भात,नाक र नश्लकाहरु खाने र पिउने कुरामा आपसमा सङ्गठित हुँदा रहेछन् । समयमै स्वास्थ्य उपचार नपाएर र निर्वाचित भएको भोलिपल्ट देखि चरम स्वार्थी तप्काबाट चौतर्फी दबाब दिएर तङ गरियो । धन्न पार्टी स्थायी समिति सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले लथालिङ्ग भताभुङ्ग भएको जिल्ला पार्टीलाई व्यवस्थित गर्न लागिपरेकै देखियो । मातहतका कार्यकर्ताका लबस्तरा र थेत्तरा व्यवहारको ओखती पनि जान्नु पर्ने रहेछ । सुनसरीमा एकभन्दा एक सक्षम र इमानदार नेता र कार्यकर्ता छन् । तीनले उपयुक्त जिम्मेवारी पाउने हो भने जिल्लाको नाम सार्थक हुनेछ ।
मदनलाई राम्ररी बुझेका भए उपयुक्त बेहोरा गर्ने थिएनन् लामो समय माकुनेका स्कुलिङले तीनको मति,गति सबै बिग्रिएर नोक्सानी पुगेको हो । मदन भण्डारीलाई उहाँको जीवनकाल भरिका समग्र अवस्थाबाट एकातिर चिन्ह सकिन्छ भने अर्कातिर जबजका माध्यमबाट अझ राम्ररी पहिचान्न सकिन्छ । भण्डारी सबै खालका इमानदारितामा खरो हुनुहुन्थ्यो र अब्बल हुनुहुन्थ्यो । भाइवाद लगायत सबै खाल र खलकका नकारवादका विरोधी चट्टानी अडान मदनको रहेको थियो । उहाँ अवसर पाइपाइकन पनि इमानदार हुनपर्छ भन्ने कुरामा प्रतिबद्ध हुनुहुन्थ्यो । सिद्धान्त,सिर्जना र सङ्गठन जस्ता त्रियामिक गहन गुण वहाँमा थियो । निमेष भर पनि समयको भरपुर उपयोग गर्ने उहाँको आदत थियो । विभिन्न उमेर समूह र विविध विषय विधा र क्षेत्रका मानिससित आत्मीय रूपमा बौद्धिक तार्किक रूपमा प्रभावित गर्ने क्षमता थियो । पार्टीमा पदीय औकात अनुसार बहुआयामिक बौद्धिक र सिर्जनात्मक प्रतिभा र क्षमता विकास गर्न अध्ययनमा निमग्न हुनुहुन्थ्यो । कला, साहित्य, सङ्गीत,शिक्षा र संस्कृति जस्ता समाजको गुणात्मक परिवर्तन गर्ने अचुक विषय हो भन्ने कुराको गहन ज्ञान र महत्त्व उहाँलाई थाहा थियो । यसैले जनताका मनको मैलो धुन र सफा गर्न मदन अहोरात्र लागिपर्नु हुन्थ्यो । विद्यार्थी कालमा एउटा महत्त्वपूर्ण व्यक्तित्वमा दश विशेषता हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध मदनको सोच के कति दूरदर्शी र महान् थियो भन्ने बुझ्न कठिन छैन । समी नै ठुलो छहारी बन्न सक्छ, पोथ्राले आफ्नै पोथीलाई पनि ओत दिनसक्तैन ।
मदनले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन चाहनुहुन्थ्यो मात्रै होइन यस काममा उहाँ लागिपर्नु भएको थियो । म आफैँ पनि बारबार भन्ने गर्छु हामी जस्तो बन्न र बनाउन चाहन्छौँ बन्न सक्छौँ । प्रहरीको तालिममा परेको मानिस सखुवाको काठ सरह बलिष्ठ हुन्छ । सेनाको तालिममा परेको मानिस फलाम सरह सबल हुन्छ । हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिन्छ । यस अनुसार मदनले विश्वलाई नै चकित पार्ने गरी नेपालमा कम्युनिस्ट पार्टीको झण्डा फहराउने काम सम्पन्न गर्नु भयो । हामीले जननेता र जबज लाई गहन रूपमा बुझेर बुझाउन सकेको भए भाइमारा माकुने र झल्लुका चरम अवसरवादी रत्यौली अहिले देख्नु पर्ने थिएन । विचारलाई विचारले परास्त गर्नुपर्छ कुरा मात्रै भयो काम खासै गरिएन । नेता त चोरभन्दा अझ चण्डालभन्दा पनि बाठो हुनुपर्छ । शठे शाठ्यम् समाचरेत त्यसै भनिएको होइन । आँ गर्दा अलङ्कार बुझ्नेहरू उपयुक्त खालका कुलक्षण बेलैमा थाहा पाउँछन् । कुन नेताका के कस्ता कुलक्षण छन् भन्ने यस लेखकलाई थाहा छ । उहिल्यै चर्चित हुँदाका बखतका नेता सीपी मैनाली भविष्यमा कतिसम्म गिर्छन् भन्ने कुरा उति बेलै मैले नेता गुरु बराललाई भन्दा अचम्मित हुनु भएको थियो । अपराधी मनोविज्ञान भएको मानिसले यसको सूक्ष्म सङ्केत गरेको देख्न सक्नुपर्छ । मदनको अति विश्वास आत्मघाती बन्न गयो । अनि अतिशंका पनि घातक हुन्छ । कमरेड माओ र उहाँका वृत्तभित्रधकाकै अतिशंकाका आधारमा मृत्यु निकट पुग्नु भएका तङ सिआयोपेङ बालबाल बच्न सक्नुभयो । पार्टी र नेताका पनि भक्तहरू धेरै हुन्छन् । पार्टी पनि एउटा सत्ता हो । यसका वरिपरि हरिया झिँगा घुम्छन् तीनले भजन, कीर्तन र आरती गाउँछन् तर ती कर्म भने खास गर्दैनन् । ती नेतालाई देखाउन र वरिपरि घुम्ने खालका काम गरिटोपल्छन् । भक्तहरूले भजन मात्र गाउँछन् । कर्मवीरले मात्र ऐनमौकामा पार्टी र नेतृत्वको रक्षा गर्न सक्छन् । एमाले र पार्टी अध्यक्षको प्रतिरक्षा र प्रतिवाद गरेर निरन्तर लेख्ने कसैले देखाउन सक्छ ? निवर्तमान राष्ट्रपति विद्या भण्डारी विरुद्ध तथानामे जेहाद छेड्दा लेखनको माध्यमबाट विरोधीको तालु सुक्ने गरी लेख्ने कुनै महिला थिए र छन् ? इटहरीकी मिथिला पोखरेलले यस्ता विषयमा प्रतिवादी लेखको मूल्याङ्कन गर्ने कोही छ ? कार्यकर्ता र मतदातामा आकर्षण र उर्लँदो लहर ल्याउने औकातकाहरु सधैँ पछि पारेर पार्टी अगाडि बढ्दैन । जबजमा जनता,बहुदल वा बहुदलीयता र जनवाद जस्ता विशिष्ट अर्थ आशयका शब्द बुझ्ने हामी कति छौँ ? जबजमा उल्लिखित कलात्मक हस्तक्षेपको अर्थ बताउने को को कति होलान् ?
जबजमा प्राज्ञिक स्वतन्त्रताको अर्थ क्लासिकल मार्क्सवादले किमार्थ बुझ्दैन । उग्रवादको धङधङी रहुन्जेल जबजको वास्तविक मर्म बुझिन्न । यसैले होला संस्कृतिका सतिसाल नामको गहकिलो पुस्तक सुत्केरो परेर विमोचन हुनबाट रोकियो । पदीय हिसाबले उच्च तहमा भएर मात्र ठुलो मान्छे भइन्न । पदलाई नै ठुलो र महान् ठान्ने र मान्ने हो भने कसीलाई नै सलाम भन्दा भयो । ठुलो र असल नेता र मन्छे बन्न त्यही अनुसारको गुण र ज्ञान अपरिहार्य हुन्छ । आफू त त गुरु गूढ चेला चिनीमा विश्वास गर्ने मान्छे । पदीय जिम्मेवार र जिम्मेवारीलाई महाज्ञानी मानिन्न । पार्टी नेता हुन् वा अमुक विभागहरूका प्रमुख हुन् शिष्टतापूर्वक ठोस्ने काम गरिन्छ । धेरै पटक कमरेड ओलीले बारबार नेताहरूलाई विनम्र हुनुभएको छ । फल फूलले लटरम्म भएन विनम्र भइन्छ । सङरङ्ङ सुकेर खग्रङ्ङ भएको पोथ्रो कहाँ कसरी नुहुनु ? जबजमा स्थानीय र क्षेत्रीय सन्तुलित विकासको अवधारणा छ यही हो वास्तविक सङ्घीयता तर हामी बेलाको बोली र मौकाको काम नगरेर पछुताउँछौँ । जबजमा नेपाली विशेषताको समाजवाद प्राप्तिका तीन अत्यन्त महत्त्वपूर्ण चरणहरू उल्लेख गरिएका छन् । जबजले निर्वाचनका माध्यमबाट सरकार बनाएर सुदूर भविष्यको सम्भावित समाजवादलाई लक्षित गरेर जनराहतका असङ्ख्य विकास निर्माणका कामहरू गरेको छ । नौ महिने सरकार र ओली सरकारका अल्पकालीन, तत्कालीन र दीर्घकालीन कामहरू सम्पन्न गरेको छ । उपयुक्त कामहरू समाजवादका सुरुका शिलान्यास हुन् । यस्ता विषयमा नेपाल बुद्धिजीवी परिषद्को पटक्क अध्ययन मनन र ध्यान नजानु प्रमुख रूपमा पार्टीकै कमजोरी हो । तहै तहपिच्छे पार्टीले नियुक्त गरेका इन्चार्जको काम मैले देखिन । जबजले सूक्ष्म रूपमा विद्यमान सामन्ती संस्कार र संस्कृतिका नकारहरूलाई सुधार अभियान मार्फत रूपान्तरण गर्न निर्देश गरेको छ । यो कुरा बुझ्ने हामी कति होलाउ ? अहिले पनि हामी सामन्ती सांस्कृतिक पेरिफेरिमा नै रमाइरहेको देख्दा सरम लाग्छ । मृत व्यक्तिका घर र निवासमा जाँदा सार संक्षेपमा मृत्यु संस्कार विमर्श गरे यस सम्बन्धी यथार्थ सत्य र त्यसका आधारमा प्रगतिशील रूपान्तरण गर्ने कुरा कसले सिकाउने ?यस विषयका जानकार नादान नै भए । न आफू जान्नु छ न भनेको मान्नु छ,स्थिति यस्तो छ । पार्टी,विभाग र निकायमा जो प्रमुख हुन्छ र छ । उसकै हाली मुहाली प्रमुखको मातहतले अनुमति बिना रचनात्मक सुझाव वा कुरा गर्नै हुन्न । मातहतका सबले प्रमुखको आदेश तामेली बाहेक चटपटाउनै हुन्न । पार्टी विभाग र निकाय त समिति हो नि । समिति सबै चलायमान गरे गराए पो काममा गति आउँछ । उहिल्यै भूमिगत शैली अनुसारलाई चल्ने नेताबाट पटक्क काम अघि बढ्दैन । मदन भण्डारी फाउन्डेसन नै पनि मूलतः विचार धारात्मक बहुआयामिक संस्था हो । यसलाई नै पनि सिर्जनात्मक रूपमा चलायमान गर्ने हो भने विचार, सिर्जना र विकासको माहौल देशव्यापी बन्थ्यो । कोसीमा त यसको पनि सम्मेलनदेखि सम्मेलनसम्म हुने स्थिति देखिँदै छ । दक्षिणपन्थी अवसरवाद बारबार घोकेको छ र घोकाएको छ । यसलाई बेलिबिस्तार पूर्वक व्याख्या गरिँदैन । अनि आम कार्यकर्ता कसरी प्रशिक्षित हुन्छन् र पार्टी र मोर्चाप्रति कसरी प्रतिबद्ध हुन्छन् । सही नेता र सिद्धान्त भएर मात्र हुँदैन । त्यसलाई सही र गहन रूपमा बुझ्नु बुझाउनु पर्छ । अनि पो पार्टी प्रति आम कार्यकर्ता र नेता प्रतिबद्ध वा कटिबद्ध हुन्छन् ।
प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार २ : ०० बजे
प्रतिक्रिया