सुनको मूल्यमा नयाँ कीर्तिमान

यही अवस्था रहीरहे हाम्रो हालत विवेकशीलको भन्दा पनि गम्भीर बन्छ : रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा: मुकुल ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पार्नुभएको छ ।

एक महिना लामो समीक्षा यात्रा पछि फर्केर उहाँले  प्रतिवेदन तयार पार्नुभएको हो । महामन्त्री डा। ढकालले निकालेको निचोड पार्टीका निम्ति भने सुखद छैन । 

प्रतिवेदनमा उहाँले यही अवस्थामा रही रहे रास्वपाको हालत विवेकशीलको जस्तो हुने बताउनुभएको छ । 

उहाँले आफ्नो व्यक्तिगत असन्तुष्टि पनि पार्टीमा व्यक्त गर्नुभएको छ । पछिल्लो समय जनतामा आएको निराशाका कारणले पनि अब आउने दिनहरूमा गम्भीरताका साथ हेर्नुपर्ने डा. ढकाल  बताउनुहुन्छ ।  ढकालले तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिवेदनमा डा‍. ढकालको सन्देश :

 महाभारतमा पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । 

त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए । आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।

यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन् । तर मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ । तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुन्जियो– म मरे पनि मेरो पार्टी बाँचिरहोस् ।  

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ५४ बजे