‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यो वर्षको  मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगानलाई

काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पाँचथर सम्मानित हुनेभएको छ । ७३ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले नगद एक लाखसहित चिया बगान केन्द्रलाई सम्मान गर्न लागेको हो । 

मदन भण्डारी फाउन्डेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ । यो वर्ष फाउन्डेसनले पुरस्कारका लागि सिफारिस गर्न डा रामशरण प्याकुरेलका संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।

यो वर्षको पुरस्कारका लागि राष्ट्रिय उद्यमशीलतालाई प्रवर्द्धन गर्ने क्षेत्रलाई चयन गरिएको फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो।

कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथर नेपालको अर्गानिक चिया बगान र जैविक हरियो चिया उत्पादनको नमुना संस्थाका रूपमा स्थापित संस्था हो । पुरस्कार पाउने चिया बगान केन्द्र  २०४१ सालदेखि सञ्चालनमा आएको हो ।

केन्द्रले  स्थानीय कच्चापदार्थको प्रयोगलाई मुख्य आधार मानी  प्राङ्गारिक चिया खेती गर्दै  रोजगारी सिर्जना गर्दै आइरहेको छ । केन्द्रले ९५ हेक्टर जमिनमा नवीन आयुर्वेदिक जैविक खेती प्रविधि मार्फत १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राकृतिक मसलाहरूसहित वार्षिक रूपमा सय टनभन्दा बढी चिया तथा जडीबुटीको गुणस्तरीय उत्पादन गरी निर्यात गर्दै आइरहेको छ ।

केन्द्रले उत्पादन गरेको चिया जापान, जर्मनी, क्यानडा, अस्ट्रेलिया, कोरिया, युक्रेन, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, नेदरल्याण्ड, फिनल्याण्ड, चीन र भारत लगायतका देशहरूमा निर्यात हुने गरेको छ । केन्द्रले वार्षिक रु ४ करोडभन्दा बढी कारोबार गर्ने गरेको बताएको छ । 

यो केन्द्रले १५० भन्दा बढी किसानलाई प्रत्यक्ष र ४०० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी प्रदान आइरहेको छ ।   

यसैबिच मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम गरी ७३ औँ मदन जयन्ती मनाउने जनाएको छ । फाउन्डेसनले नेकपा एमालेका अध्यक्ष एवं फाउन्डेसनका संरक्षक केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा असार १४ गते दिउसो २ बजे च्यासलमा बिचार गोष्ठीको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : १७ बजे