‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१८ महिनामा सूर्यविनायक–धुलिखेल सडकको प्रगति २७ प्रतिशत मात्रै 

काठमाडौं । सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाको २७ प्रतिशत मात्रै प्रगति भएको छ । १८ महिनाको अवधिमा उक्त भौतिक प्रगति भएको हो । 
सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर विस्तार कार्य २०७९ मंसिर अन्तिमदेखि सुरु भएको थियो । 
आयोजनाका अनुसार पहिलो खण्ड भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म रहेको छ । यो खण्डमा ७.५ किलोमिटर सडक पर्छ । दोस्रो खण्ड साँगादेखि धुलिखेलसम्मको साढे ८.३ किलोमिटर सडक रहेको छ । सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेलसम्म कुल  १५.८ किलोमिटर पर्छ । 
आयोजनाका अनुसार प्रगति राम्रो नै भएकाले सरकारले बजेट दिएमा लक्षित समयमा आयोजना पूरा हुने आयोजनाका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले बताएका छन् । चालु आवमा आयोजनाका लागि ५४ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरिएको थियो  । बजेट अपुग भएको भनी आयोजनाले ३० करोड माग गरेको छ । आगामी वर्षका लागि ९७ करोड र मुआब्जाको लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी वर्षका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजनाले बताएको छ । 
सडकको सब बेसको निर्माण पूरा भएको छ भने नालीका काम दुवै खण्डमा पूरा भएको छ । आयोजनाको समग्रमा फ्रेमिङको काम ८० प्रतिशत पूरा भएको छ । आगामी दिनमा आयोजनाले थप गति लिने दावी गरिएको छ । समग्रमा आयोजनाको भौतिक प्रगति कम देखिए पनि साना–साना समय लाग्ने, फ्रेमिङ र मानिसले गर्ने काम पूरा भएको आयोजनाले बताएको छ । 

सम्झौताअनुसार निर्माणको जिम्मा पाउने कम्पनीले ३ वर्ष भित्रमा निर्माण पूरा गर्नुपर्ने शर्त राखिएको छ । जापानी सहयोग नियोग (जाइका) यो सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट निर्माण थालेको थियो । आयोजनाका अनुसार पहिलो खण्ड भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म हो । यो खण्डमा ७.५ किलोमिटर सडक पर्छ । यो खण्डमा ६ लेनको बन्नेछ । मुख्य सडक ४ र सर्भिस लेन २ लेन निर्माण भइरहेको छ । यो खण्ड निर्माणका लागि आशिषकुमार श्रेष्ठ, बन्धन भगवती जेभीसँग सम्झौता भएको थियो । यसको लागत ३ अर्ब ९० करोड रहेको छ ।  रिटेनिङ वालको ८० प्रतिशत काम पूरा भएको छ । १० वटा कल्भर्ट निर्माणको चरणमा छन् । यसमा २ वटा पुल निर्माण गर्नुपर्ने छ । यो खण्डमा पर्ने जगातीमा १५ मिटरको र महादेव खोलामा १५ मिटरकै पुल निर्माण हुनेछ । दोस्रो खण्ड साँगादेखि धुलिखेलसम्मको साढे ८.३ किलोमिटर सडक पर्छ । यो खण्डका लागि २०७९ मंसिर २७ मा सम्झौता भएको थियो । यो सडक निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो । यो ठेक्का २०८२ मंसिर २६ मा पूरा गर्ने लक्ष्य राखिएको छ । यसका लागि ४ अर्ब ५ करोड रुपैयाँ लागत रहेको छ । 

यो खण्डमा पनि मुख्य ४ र सर्भिस २ गरी ६ लेनको सडक निर्माण हुँदैछ । रिटेनिङ र ब्रेस्ट वाल, स्ट्रक्चर कल्भर्टको काम ८० प्रतिशत पूरा भएको छ । यो खण्डअन्तर्गत बनेपाको चण्डेश्वरी खोलामा १२ मिटर र पुन्नेमातामा २० मिटरको पुल बन्नेछ । ६ लेनमा बन्ने दुवै खण्डका सडकमा ३ मिटरको मेडियन निर्माण हुनेछ । साथै दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नु पर्नेछ । यो सडक विस्तारपछि बिपी राजमार्ग भएर सञ्चालन हुने सवारीको आगमनमा सहज हुनेछ ।

बिपीमार्ग राजधानीलाई पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्ग हो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग जापानले करिब २० वर्षको निर्माणपछि नेपाललाई हस्तान्तरण गरेको थियो । 

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ०१ बजे