‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बिमा लेख परित्याग गर्ने संख्या बढ्यो

काठमाडौं । बिमा लेख परित्याग गर्ने संख्या पछिल्लो समय बढेको छ । अर्थतन्त्रको सुस्तता र बिमाप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरू चुकेको कारण बिमालेख परित्याग गर्ने क्रम बढेको हो ।
चालु आवको बैशाखसम्ममा बिमालेख परित्याग गर्नेको संख्या ८७ हजार २१० रहेको छ । यस तथ्यांकले पछिल्लो समय बिमा व्यवसायप्रति डरलाग्दो वितृष्णाको अवस्थालाई संकेत गरेको जानकारहरू बताउँछन् ।
८७ हजार बिमालेख सरेण्डर हुँदा १० अर्ब ७० करोड रुपैयाँ बिमा कम्पनीहरूबाट फिर्ता भएको छ । १० महिनासम्ममा यतिधेरै बिमालेख सरेण्डर हुनुको संकेत यो आवको अन्तिमसम्ममा विगतको तुलनामा झनै धेरै सरेण्डर हुने देखिएको छ । 
अर्थतन्त्रमा आएको शिथिलताका कारण बिमा गर्ने आम नागरिकलाई आर्थिक संकट पर्दै जाँदा सरेण्डर गरेरै भए पनि खर्च चलाउने सोच विकास भइरहेकाले बिमा सरेण्डर गर्ने क्रम बढेको बिमा क्षेत्रका विज्ञहरुले बताएका छन् । 
आम्दानीले धान्नै नसक्ने गरी बिमा कम्पनीहरूले बिमा गराएको कारण बिमा सरेण्डर गर्नुपर्ने अवस्था आएको आकलन गरिएको छ । बिमा जानकार भोजराज शर्माले बिमा अभिकर्ता (एजेण्ट)हरूले बिमा पोलिसीको मार्केटिङ गर्दा नै सही तरिकाले नगरेकाले समस्या सिर्जना भएको बताएका छन् । 
अर्थतन्त्रमा समस्या आउँदा दैनिक खर्च टार्न नै समस्या भइरहेको र बचत गर्ने अवस्था नभएकाले बिमा प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको हो । कतिपयलाई बिमा पोलिसीका फाइदा र सरेण्डर गर्दा हुने नोक्सानबारे कम्पनीहरुले राम्रोसँग जानकारी नदिँदा पनि धेरैले सरेण्डर रोज्ने गरेको पाइएको विज्ञहरुले बताएका छन् । 
बिमा प्राधिकरणले बिमा सरेण्डर कम्तिमा तीन वर्षपछि मात्रै गर्न सक्ने व्यवस्था गरेको छ । सुरुमा सरेण्डर गरेर पैसा राम्रो नआउने वा जति ढिलासम्म बिमा पोलिसी जारी राखियो त्यति राम्रो हुन्छ भन्ने बुझाउन नसक्दा पनि अहिले बिमा पोलिसी सरेण्डरको संख्या बढिरहेको हो ।
चालु आर्थिक वर्षमा विगतका वर्षहरूमा भन्दा बढी बिमालेख परित्याग हुने अवस्था तथ्यांकले देखाएको छ । नियामक निकाय र बिमा कम्पनी दुवैले समयमै ध्यान पु¥याउन नसक्दा बिमा पोलिसी परित्याग गर्नेक्रम बढेको हो । बीमा प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०७७÷७८ मा ६३ हजार ३३१ वटा बिमालेख सरेण्डर हुँदा कम्पनीहरूबाट ९ अर्ब ८८ करोड रुपैयाँ फिर्ता भएको थियो । त्यसको तुलनामा आव २०७८÷७९ मा ८१ हजार ८६० वटा बिमालेख सरेण्डर हुँदा १२ अर्ब १८ करोड रुपैयाँ फिर्ता भएको देखिएको छ । 
प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २०७९÷८० मा पनि बिमालेख सरेण्डर गर्ने क्रम बढ्यो । आव २०७९÷८० मा ९६ हजार ९३८ वटा बिमालेख सरेण्डर भयो । जसबाट बिमा कम्पनीहरूको १३ अर्ब ३४ करोड रुपैयाँ फिर्ता भएको तथ्यांक प्राधिकरणको छ । पछिल्ला वर्षहरूमा कोरोना महामारीको समयमा गरिएको कोरोना बिमाको भुक्तानी नदिनु जस्ता कारणले पनि बिमाप्रति वितृष्णा जागेको कतिपयको बुझाइ छ । 
प्राधिकरणले कोरोना बिमा भुक्तानीका लागि पहल गर्दै आइरहेपनि सरकारले यसतर्फ चासो नदेखाएको प्राधिकरणको गुनासो छ । यसबाहेक बिमा कम्पनीहरूले बिमा गराउन निरन्तर चासो दिने गरे पनि बिमा पश्चात आफ्ना ग्राहकलाई वेवास्ता गर्ने गरेकाले पनि यसतर्फ नकारात्मक वातावरण बनेको जानकारहरूको भनाइ छ ।  

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ३४ बजे