‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ललितपुर महानगरको बजेट रु सात अर्ब ४६ करोड

पाटन । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट नगरसभामा पेस गरेको छ । 

    महानगरको पाँचौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गत असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गर्नुभएको हो ।

    “स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट रु तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ”, उहाँद्वारा प्रस्तुत वार्षिक बजेटमा उल्लेख गरिएको छ ।

    बजेट प्रस्तुत गर्नुहुँदै उपप्रमुख शाक्यले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवनरक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता राखिएको बताउनुभयो । 

    त्यस्तै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, पर्यटन क्षेत्रको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, रोजगार प्रवद्र्धन र गरिबी न्यूनीकरणलगायतलाई समेत प्राथमिकतामा राखिएको उहाँले जानकारी गराउनुभयो ।
    
    महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष रु छ अर्ब ५० करोड पाँच लाख ८८ हजार बजेट विनियोजन गरेको थियो । 
 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ३८ बजे