काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरुनुभएकाे हाे ।
उहाँले भन्नुभएकाे छ- 'राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रश्न उठाउनु भएको छ । हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्ती क्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरुले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।'
उहाँले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउँदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताउनुभयाे ।
उहाँले दोषी देखिएका माथि कानुन बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभएकाे छ ।
प्रकाशित मिति : ९ असार २०८१, आइतबार १ : ५९ बजे
प्रतिक्रिया