सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेमा कुनै गुटउपगुट छैन : प्रदीप ज्ञवाली

हेटौंडा। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै पनि गुटउपगुट नरहेको बताउनुभएको छ ।

शनिबार बिहान एमाले मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टी केन्द्रमा कुनै पनि गुटउपगुट नरहेको बताउनुभएको हो । उहाँले जिल्ला अधिवेशनको निर्वाचनमा प्यानल बनाएपनि निर्वाचनपछि गुटउपगुट अन्त्य गर्न आग्रह गर्दै सबैलाई एकजुट भएर पार्टीको काममा लाग्न आग्रह गर्नुभयो ।

यसैगरी, उपमहासचिव ज्ञवालीले पार्टीका आन्तरिक चुनावहरुमा भाग लिन मरिहत्ते गर्ने तर निर्वाचित भएपछि पार्टी काममा वेवास्ता गर्ने परिपाटी अन्त्य गर्न निर्देशन दिनुभयो ।

उहाँले जिल्ला तथा पालिका अधिवेशनहरुमा निर्वाचन जितेकाहरुको परीक्षा सुरु भएको पनि बताउनुभयो । नेता ज्ञवालीले एमालेजन विचार र सिद्धान्तबाट प्रशिक्षित हुनुपर्नेमा जोड दिनुहुँदै एमालेको टोल कमिटीले टोलबस्तीको नेतृत्व लिनुपर्छ भन्नुभयो ।

उपमहासचिव ज्ञवालीले पछिल्लो समय सामाजिक सञ्जाल कुन्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नुहुँदै सामाजिक सञ्जाललाई कुन्ठा पोख्ने थलो नबनाउन आग्रह गर्नुभयो । उहाँले पार्टीका आन्तरिक समस्याहरु पार्टीका बैठक भित्रै बसेर समाधान गर्न पनि आग्रह गर्नुभयो । जनताको सरोकारका विषयमा एमाले अग्रमोर्चामा उभिनुपर्ने उपमहासचिव ज्ञवालीको भनाई थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : ०६ बजे