सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थापनाको दुई वर्षमै सिंहदरबार पस्यौँ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई वर्षमै सिंहदरबार पसेको टिप्पणी गर्नुभएकाे छ ।

रास्वपा स्थापनाको आज दुई वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफूहरू आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई वर्षमै सिंहदरबार पसेको उल्लेख गर्नुभएकाे छ ।

उहाँले भन्नुभएको छ-

रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौँ,गन्तव्यमा स्पष्ट छौँ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं  रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले  भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ । कयौँ कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामी सँग लाखौँ लाख शुभेच्छुकहरु हुनु हुन्छ ।

२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौँ विश्लेषकहरु  आज "रास्वपा खस्कँदो छ" भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक सो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झनुस् त, देश तथा विदेशका  टोल टोल बस्ती बस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै  त्यो आवजलाई "घण्टी"मा रूपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं। 

साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि  घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईँहरू न चिन्ता लिनुस्, न पिर गर्नुस् ।  

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : १० बजे