रौतहट । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भकाएछन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहीबार पक्राउ गरेको थियो ।
उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरूलाई छक्काएर फरार भएका दाबी गरेको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारवाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ ।
उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए ।
फरार भएका गजेन्द्र हुण्डी कारोबारीका भरिया भएको अनुमान गरिएको छ । रौतहटको विभिन्न नाका भएर भरिया मार्फत सिमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुण्डी कारोबारीले पैसा नेपाल भित्राउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १२ : ०४ बजे
प्रतिक्रिया