सुनको मूल्यमा नयाँ कीर्तिमान

अखिलको देशव्यापी प्रचार यात्रा सुरु 

काठमाडौँ ।  भर्खरै विद्यार्थी महोत्सव गरेर चर्चा बटुलेको अखिल नेपाल विद्यार्थी सङ्गठन (अनेरास्ववियु) फेरि देशव्यापी प्रचार यात्रामा निस्किएको छ । 

प्रचार यात्रा अभियान बुधवार कोसी प्रदेशबाट सुरु भएको हो । अनेरास्ववियु प्रदेश कमिटीको समन्वयमा अनेरास्ववियु प्रचार यात्रामा निस्केको हो । 

कोसीमा आयोजित प्रचार भेलामा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य विशाल भट्टराई, अनेरास्वविुका पूर्व अध्यक्ष किशोरविक्रम मल्ल, अनेरास्वविुका अध्यक्ष समिक बडाल पुग्नु भएको छ । 

भेलामा सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख आरविक्रम ओखेडाले जानकारी दिनुभयो ।“हामीले अनेरास्वविुलाई जनतासँग जोडेर प्रचारप्रसार गर्नका लागि प्रचार यात्रामा निस्केका छौ” उहाँले भन्नुभयो, “अनेरास्ववियुका हरेका सदस्यलाई डिजिटल प्रचारमा अभ्यस्त गराइने छ ।”

उहाँका अनुसार अनेरास्ववियु भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठ वटै प्रदेशमा भेला आयोजना गरिने र विद्यार्थीहरूलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइने छ ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  २ : ०४ बजे