साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

काठमाडौं । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ । ‘मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको छ’, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यो सजाय जारी गर्नुको कारणमा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिस र नर्वेली सांसदलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणी भएको उनले बताए ।

मोहम्मदीले यसै महिनाको शुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गरेका थिए । यस्तै मार्चमा कारागारबाट अडियो सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गरेका थिए । हालैका महिनामा इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेष गरी भिडियो निगरानीको प्रयोग गरिरहेको छ । सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : १४ बजे