यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गृहमन्त्री लामिछानेलाई एमाले सचिव भट्टराईको १२ बुँदे ज्ञापन पत्र

काठमाडौँ ।  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई १२ बुँदा समेटेर ज्ञापन पत्र बुझाउनु भएको छ । 

ताप्लेजुङमा विगत केही दिनदेखि परेको अविरल वर्षाको कारणले जनजीवन प्रभावित भएको भन्दै राहत तथा उद्धारका लागि पहल कदमी लिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाउनु भएको हो । 

गत जेठ ३० गते यतादेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ताप्लेजुङमा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने ठुलो मात्रामा भौतिक क्षति भएको छ ।

ज्ञापन पत्रमा मानवीय  क्षति भएका परिवारलाई तत्काल राहत दिन र घाइतेको उपचारको उचित व्यवस्था गर्न, आवास गुमाएकालाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न र घर निर्माणका लागि सहयोग गर्न नेता भट्टराई गृहमन्त्री लामिछानेलाई आग्रह गर्नु भएको छ । 

यस्तै बाढी पहिरोमा परेकालाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत दैनिक आवश्यक बस्तुको व्यवस्था गर्न, पुल तथा सडकको पुनः निर्माण गरी यातायात र आवतजावत सुचारु गर्न, जोखिम बस्तीलाई स्थानान्तरण गरी एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन , खानेपानी, सञ्चार तथा विद्युत् आपूर्ति सुचारु गर्न समेत माग गर्नु भएको छ । 

यसैगरी नेता भट्टराईले जिल्लावासीको डिजिटल अभिलेख व्यवस्थित गरी प्राकृतिक विपत्तिको पूर्व सूचना दिने व्यवस्था मिलाउन, छिटो उद्धार गर्न र घाइतेलाई तत्काल अस्पताल पुर्‍याउनका लागि ठाउँ÷ठाउँमा सुरक्षाकर्मीहरू खटाउन समेत गृहमन्त्री लामिछानेलाई माग गरिएको छ । 

गृहमन्त्री लामिछानेले ताप्लेजुङमा भएको विपत्तिको बारेमा आफू जानकार रहेको भन्दै राहत, उद्धार र पुन निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले राहत र उद्धारको कार्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र  सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेता भट्टराईसँग प्रतिनिधि सभा सदस्यद्धय उर्मिला थेबे र लिलादेवी वोखिम (लिम्बु) समेत जानु भएको थियो । 

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ५८ बजे