सुनको मूल्यमा नयाँ कीर्तिमान

जनमत र नाउपा सरकारमा भित्रिए माओवादीका दुई मन्त्री बाहिरिने  

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रन्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीलाई  सरकारमा सहभागी गराउने भएपछि  माओवादी केन्द्रका केही मन्त्रीहरूको पद धरापमा पर्ने भएको छ।  सरकारबाट को  को हट्ने भन्नेमा टुङ्गो भने लागि सकेको छैन। 

सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री  पुष्पकमल दाहालले राउतलाई आग्रह गरेपछि उहाँले बजेटपछि  तय गर्न आग्रह गरेको स्रोतले बतायो । 

प्रधानमन्त्री प्रचण्डले जनमतका लागि आफ्नै दल नेकपा (माओवादी केन्द्र) ले पाएको परराष्ट्र मन्त्रालय खाली गराउने र त्यसमा उपप्रधानमन्त्री सहित परराष्ट्र दिने तयारी गरेको स्रोतले बतायो। 

अहिले यो मन्त्रालय माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालिइरहनु भएको छ  । उहाँ उपप्रधानमन्त्रीसमेत हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड त्यही ‘पोजिसन’मा राउत आउन् भन्ने चाहनुहुन्छ । स्रोतका अनुसार राउतले त्यसमा सहमति जनाइसक्नु भएको छ। 

पछिल्लो संसदीय निर्वाचनयता मात्रै राष्ट्रिय राजनीतिमा उदाएको राउतको पार्टीबाट यस अघि दुई मन्त्री बनिसकेका छन् । यसअघि अब्दुल खान खानेपानी मन्त्री बन्नुभएको थियो भने अनिता देवी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री । तर, पछिल्लो पटक सत्ता समीकरण परिवर्तन भएपछि जनमत सरकारबाट बाहिरिएको थियो ।

सत्ता समीकरणलाई बलियो बनाउन  यी दुई पार्टीलाई सरकारमा सहभागी बनाउन लागिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भएका मन्त्री हटाएर अन्यलाई लैजान पार्टी भित्रै  चुनौतीको सामना गर्नुपर्ने भएको छ। 

राउतलाई परराष्ट्र मन्त्री बनाउँदा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा उचित व्यवस्थापन गर्ने विषयमा पनि दाहालको  टाउको दुखाइएको विषय बनेको छ। स्रोतका अनुसार  श्रेष्ठलाई कानुन  मन्त्रालय  वा सञ्चार मन्त्रालय दिने विषयमा परामर्श भएको छ। 

श्रेष्ठलाई कानुन मन्त्रालय दिएको खण्डमा वर्तमान कानुन मन्त्री पदम गिरिको पनि मन्त्रालय फेरिने भएको छ। यसरी फेरिदा उहाँलाई सञ्चार मन्त्रालय दिने तयारी भएको छ। त्यसबाट अहिलेका  सञ्चार मन्त्री रेखा शर्मा सरकारबाट आउट हुने सम्भावना रहेको बताइएको छ। 

सत्ता घटकको ठुलो दल भएर पनि एमालेले  सामान्य खालका आठ मन्त्रालय  लिएको छ। त्यसैले जनमत  र नाउपालाई सरकारमा ल्याँउदा सबै माओवादीका मन्त्रालय खाली गर्नुपर्ने छ। नाउपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय पाउने सहमति भएको छ। सो अनुसार माओवादीका हितबहादुर तामाङ सरकारबाट बाहिरिने सम्भावना भएको स्रोतले बतायो। 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ११ : ४३ बजे