‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चालु आर्थिक बर्षभित्र ग्वार्काे फ्लाइओभर सञ्चालनमा आउन कठिन 

काठमाडौं । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन फ्लाइओभर चालु आवमा सञ्चालनमा नआउने भएको छ । जेठ मसान्तसम्म भौतिक प्रगति ७५ प्रतिशत मात्रै पूरा भएको कारण उक्त फ्लाइओभर सञ्चालनमा आउन नसक्ने देखिएको हो । 
७५ प्रतिशतको प्रगतिले चालु आर्थिक वर्षमा सवारी साधन गुडाउने लक्ष्य पूरा नहुने देखिएको छ । तर, एप्रोज सडक र आइरल वालको भने ८० प्रतिशत प्रगति पूरा भएको दाबी छ । 

फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकमध्ये चार लेन बन्द गरिएको छ । सबै सवारी साधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । पछिल्लो समय  फ्लाइओभरमा जाने एप्रोज सडक र आइरल वालको निर्माण भइरहेको सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताएका छन् । 
अहिले दैनिक २१ घण्टा काम भइरहेको केन्द्रले बताएको छ । आगामी असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य केन्द्रले राखेको छ । चालु आर्थिक वर्ष भित्रै फ्लाइओभरको पुल र एप्रोज सडक  निर्माण पूरा गर्ने लक्ष्य केन्द्रको रहेको  छ । पछिल्लो समय २४  घण्टा काम भइरहेको छ भने फ्लाईओभरमा यो वर्षभित्र नै सवारी गुडाउने लक्ष्य केन्द्रले लिएको छ । 

विहान ७ बजेदेखि बेलुका ११ बजेसम्म कामदारहरुले काम गर्ने कार्यतालिका रहेको छ । सम्झौता हुँदा तोकिएको म्याद फागुन १२ मा सकिएको छ । पुन थप भएको म्याद  २०८१ को पुस ८ सम्म रहेको केन्द्रले जनाएको छ । निर्माण कम्पनीले चैत २० मा नै म्याद थपको प्रस्ताव गरेको थियो । मनसुन सुरु भएकोले पानी परेको समयमा आयोजनाको काममा भने अवरोध हुने गरेको केन्द्रको भनाइ छ । मौसमले साथ दिएको खण्डमा र अन्य कुनै अवरोध नभएमा फ्लाइओभरमा सवारी गुडाउने लक्ष्य लिएको छ । तर, त्यो सम्भावना भने कम देखिन्छ  । विगतमा १५० भन्दा बढी निर्माण व्यवसायीका कामदारले २४ सै घण्टा काम गरिरहेका भए पनि हाल ६५ कामदारले २१ घण्टा काम गरिरहेको केन्द्रले बताएको छ  । 

ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद फागुन ११ सम्म थियो । ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको केन्द्रले जनाएको छ ।

ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार–ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ । ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।
यस्तै, विकास केन्द्रले चक्रपथको अति व्यस्त सवारी चाप हुने कलंकी–कोटेश्वर सडक खण्डअन्तर्गत सातदोबाटो र एकान्तकुना चोकमा इन्टरसेक्सन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता नहुँदा हालसम्म निर्माण प्रकृया अगाडि बढेको छैन ।

ग्वार्को फ्लाइओभर निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म ¥याम उठाइने छ । फ्लाइओभरको फुल डेप्थ टेम्पोररी केसिङमा निर्माण गरी सिंगल स्प्यानको ओभरपास, यान्त्रिक रूपमा स्थिर प्रविधिसहितको वाल बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको ¥याम निर्माण गरिने छ । १.५ मिटरको व्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । फ्लाइओभरको ¥यामको लम्बाइ ५०५ मिटर, ३६ मिटर पुल गरी कुल ५४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ ।
 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : २४ बजे