साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओलीको स्टाटस– ‘कोशिस गर्नेको जित एक दिन अवश्य हुन्छ’

काठमाडौँ, १ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक स्टाटस यतिबेला चर्चामा छ । 
 
शनिबार बिहान नेपाली क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितको नजिक पुगेर पनि खेल गुमाए पछि ओलीले लेख्नुभएको स्टाटसबारे चर्चा चलेको हो । साहसिक प्रदर्शनका बावजुद नेपाली टोलीले खेल हारे पछि  उहाँले लेख्नुभयो, ‘आजसम्मकै उत्कृष्ट खेल !! बधाई नेपाल !!! कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ ।’

खेलमा हार र जित दुबै महत्वपूर्ण पाटा हुन् । जित्नेको वाहवाही हुनु स्वाभाविक हो, तर आफ्नो स्तरभन्दा अब्बल प्रदर्शन गर्नु र बलियो टोलीसँग झण्डै जितको नजिक पुग्नु झनै ठूलो सफलता हो । यही आशयसहित नेपाली टोलीको बहादुरीपूर्ण प्रदर्शनको सराहना गर्दै उहाँले लेख्नुभएको भावसहितको स्टाटसले खेल प्रेमीहरू उत्साहित बनेका छन् । 

आजको खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन मात्र बनाउन सकेको हो । 

सामान्य रूपमा हेर्दा यो खेलमा नेपालको कमजोरी भएको हो कि जस्तो देखिन्छ । अर्को दुई रन बनाएको भए खेल नै जितिन्थ्यो भन्ने समेत पर्छ । तर, वास्तवमा नेपालले दक्षिण अफ्रिकाजस्तो बलियो टोलीलाई पूरा खेलमा दबाबमा राख्यो । कुनै पनि समय नेपाल कमजोर टोलीको रूपमा देखिएन । नेपाली बलरहरूले दक्षिण अफ्रिकाका धुरन्धर ब्याटसम्यानलाई आच्छुआच्छु पारे । 

ब्याटिङ गर्दा दक्षिण अफ्रिकाका चर्चित बलरले फालेका एक सय ४५ किलोमिटर प्रतिघण्टाको बललाई छक्का र चौका हिर्काए । अन्तिम बलसम्म नेपालले जितको सम्भावना कायम राख्यो । 

यो प्रदर्शन आफैंमा ऐतिहासिक छ । एमाले अध्यक्ष ओलीले यही भावअनुसार नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रशंसा मात्रै गर्नुभएन,  नेपाली टोलीको भविष्य उज्जवल रहेको समेत बताउनुभयो । एमाले अध्यक्ष ओली नेपाली क्रिकेटबारे राम्रो जानकारी राख्नुहुन्छ ।ओलीले नियमित रूपमा नेपाली क्रिकेटबारे आफ्नो धारणा सामाजिक सञ्जालमा राख्ने गर्नुभएको छ ।

उहाँले दोस्रो स्टाटसमार्फत खेलाडी हौसला समेत बताउन खोज्नुभएको छ । खेलको समीक्षा गर्दै उहाँले लेख्नुभयो, 'आज एक रन मात्र पुगेन हामीलाई । तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ। आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ। सलाम छ, नेपाली क्रिकेटलाई !!'

अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ०४ बजे