यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्विट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौंमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्‍याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन् १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

त्यस्तै, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

यसैगरी, तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गर्नुभएको थियो ।

यसैगरी, नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनुभएको छ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ३० बजे