सुनको मूल्यमा नयाँ कीर्तिमान

गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, सरकार फेरि अल्पमतमा 

गण्डकीमा फ्लोर क्रस गरेका माओवादीको चुनाव चिन्हबाट विजयी नेसपाका नेता तथा  सांसद फणिन्द्र देवकोटाको सांसद पद मुक्त भएका छन् 
गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाउनुभएको हो  ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराउनुभएको हो ।
यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।
सभामुखले सूचना सुनाएसँगै उनको  मन्त्री पद पनि जाने छ । तर उनी ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् । उनी फेरि मन्त्री हुने सम्भावना उत्तिकै छ । त्यसो भएमा उनले फेरि शपथ लिनुपर्नेछ ।

माओवादी पार्टी र प्रदेश सभाका सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बाटो भने खुल्ला छ । आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ ।
माओवादीको चिह्न लिएर चुनाव लडेका उनको पार्टी नेपाल समाजवादी पार्टी हो । प्रदेश सभामा उनी माओवादी सांसदकै हैसियतमा थिए । तर उनले आफूलाई नेसपाकै सांसद दाबी गर्दै आएका थिए ।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उनले फ्लोर क्रस गरेका थिए । उनले फ्लोर क्रस गरेकै कारण पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा प्रदेशको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्री बनेका थिए ।
अब देवकोटाको पद गएसंगै अव गण्डकी सरकार फेरि अल्पमतमा परेको छ। 
 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ५ : ०० बजे