सुनको मूल्यमा नयाँ कीर्तिमान

 उपेन्द्र यादव: सबै प्रतिस्पर्धी लखेट्दै पार्टी अध्यक्ष बन्दै

काठमाडौं। उपेन्द्र यादव जनता समाजवादी पार्टीका  अध्यक्ष भएका छन् । घरबाट सबै परिवार निस्के पछिका एक्ला  ‘घरमुली  जस्ता बनेका छन् उनी ।   आफ्ना आलोचकलाई  एकपक्षीय तरिकाले पाखा लगान खोज्ने उनी यस पटक सबै विरोधीलाई पार्टी छोड्न बाध्य बनाएर  पार्टीको महाधिवेशनमा एक्लै दौडेर विजेता बनेका छन् । ५२ जनाको ठुलो परिवार भएको पार्टीका अध्यक्ष भएका उनी यस बेला ५ सांसदका अभिवाक भएका छन् । 

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ५२ सिट ल्याई संसद्को चौथो शक्ति भएका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो त्यो लोकप्रियता र शक्ति लामो समयसम्म टिकाउन सकेनन्। उनको लोकप्रियता   दक्षिण बगेको पानी जस्तो देखिएको छ जो अब  यही अवस्थामा फर्कन असम्भव देखिन्छ। 

त्यसै अनुसार उनको शक्ति क्रमशः कमजोर बन्दै र निरन्तर खिइँदै गएको छ। यति बेला उनी पाँच जना सांसदका नेता भएका छन्।  उनको पार्टी झन्डै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सरह भएको छ भने भर्खरै उदाएको सिके राउतको जनमत पार्टीभन्दा सानो भएको छ।

कुनै बेला यादवको नेतृत्व स्वीकार गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विजयकुमार गच्छेदार अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, रामकुमार शर्मालगायतका नेता उपेन्द्रसँग जोडिएर एउटै पार्टीमा बसे। तर, उनीहरू लामो समय उपेन्द्रसँग बस्न नसकेपछि अलग्गिए। यसमा उपेन्द्रकै दोष   रहेको बताइन्छ। 

२०६२–६३ को आन्दोलनपछि तराई–मधेसमा दुई वटा ठुला आन्दोलन भए। दुवै आन्दोलनका नायक यादव थिए। पहिलो मधेस आन्दोलनपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। उनी मधेस आन्दोलनका ‘मसिहा’ भनेर चिनिएका थिए। तर, उनको त्यो लोकप्रियता धेरै लामो समयसम्म टिक्न सकेन।

२०६३  माघ १ गते अन्तरिम संविधान घोषणा भयो । त्यसको भोलिपल्टै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा अन्तरिम संविधान जलाइयो । सो कार्यक्रममा फोरम नेपालका कार्यकर्तासँगै अन्य पार्टी तथा सङ्गठनका कार्यकर्ताहरूको पनि सहभागिता देखिएको थियो । त्यस बेला सम्म फोरम  र उपेन्द्र यादवको  पहिचान सीमित ठाउँमा मात्र थियो । कुनै ठुलो हैसियतमा थिएन । 

माघ २ गते अन्तरिम संविधान जलाएपछि उपेन्द्र यादवलगायत २८ जनालाई प्रहरीले गिरफ्तार गर्‍यो । अन्तरिम संविधान जलाएको कसुरमा मुलुकी ऐन अदालती बन्दोबस्त १२१ अनुसार थुनुवा पुर्जी दिइयो । मधेसी भएका कारणले त्यहाँ पनि उनीहरूमाथि दमन भयो भन्ने नारा लगेर यादवले तराईको स्टेटमेन्ट क्याच गर्न सफल भए।  ।। अध्यक्ष यादवलाई प्रहरीले गिरफ्तार गरेको भन्दै फोरम नेपालले मधेसका जिल्लाहरूमा आन्दोलनका कार्यक्रमहरू तय गर्‍यो । अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेस बन्दको आह्वान गरेको थियो ।

 बन्दको कारण मधेस पूरै ठप्प भयो । माघ ५ गते फोरमका कार्यकर्ताले माओवादी चढेको गाडीलाई लहानमा रोक्दा प्रदर्शनकारीमाथि गोली चलाउँदा फोरम नेपाल विद्यार्थी फ्रन्टका कार्यकर्ता रमेश महतोलाई गोली लाग्यो र उनको मृत्यु भयो । त्यो गाडीमा पनि माओवादीका नेता राम कार्की चढेको  गाडिबाट गोली प्रहार भएको भन्दै प्रचार भएको थियो। 

महतो हत्याको विरोधमा मधेशमा झन् आक्रोश उत्पन्न भयो । माओवादी चढेको गाडी तोडफोड गर्नुका साथै आगजनी समेत भयो । हेर्दा हेर्दै पूरै मधेसमा आगो बल्न थाल्यो  उनले त्यो मधेश आन्दोलनको नेतृत्व गर्ने अवसर पाए जसका कारण  मधेशमा फोरम नेपाल र उपेन्द्र यादवलाई स्थापित बनायो । 

हुन त, मधेस आन्दोलनअगाडि पनि उनी राजनीतिमा सक्रिय थिए। त्यति बेला उनी खासै चिनिएनन्। मधेस आन्दोलनले उनलाई चिनायो। २०५४ मा मधेसी जनअधिकार फोरम गठन गरे। त्यसपछि २७ वर्षसम्म यादव निरन्तर पार्टी अध्यक्ष भएका छन्।

फोरम सुरुमा संस्थाको रूपमा दर्ता गरिएको थियो। २०६३ सालमा फोरम पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता भयो। त्यसपछि यसले पार्टीको रूपमा मान्यता पायो। पार्टीको मान्यता पाएपछि पनि यादव निरन्तर अध्यक्ष भइरहे।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चल्यो। पहिलो पटक फोरमलाई गच्छेदार, शरत्सिंह भण्डारीलगायतका नेताहरूले फुटाए। त्यसपछि राज किशोर यादवले फुटाए। फोरमलाई जति पटक फुटाए पनि यादवले अर्को नयाँ पार्टीसँग एकीकरण गर्ने र पार्टीको नाम फेर्ने गरिरहे । 

यस अवधिमा उनले बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीदेखि अशोक राईले नेतृत्व गरेको तत्कालीन सङ्घीय समाजवादी पार्टीसम्म एकीकरण गरे। तर, अध्यक्ष पद भने उनले कहिले छाडेनन्।यस पटक पनि अशोक राईहरूलाई पार्टीबाट बाहिर निकाले तर अध्यक्ष छोडेनन् । उनले अध्यक्षको लोभ नगरेर पार्टीलाई लोकतान्त्रिक तरिकाले महाधिवेशन सम्म पु¥याएको भए जसपा विभाजन नहुने राई पक्षको तर्क छ। 

भट्टराईसँग एकीकरण गरेपछि उनी दोस्रो अध्यक्ष भए। तर, कार्यकारी अध्यक्ष पद भने आफैँले राखे। भट्टराईलाई सङ्घीय परिषद्को अध्यक्ष बनाए। २०६४ को निर्वाचनपछि भएका निर्वाचनमा यादवले नेतृत्व गरेको पार्टीले ल्याएको सिट सङ्ख्या हेर्दा पनि यादवको पार्टी खिइँदै गएको पुष्टि हुन्छ।

२०७४ को संसदीय निर्वाचनमा तत्कालीन तराई मधेस केन्द्रित दुई दल मात्र चुनाव सहभागी भए। त्यो बेला यादवले नेतृत्व गरेको तत्कालीन सङ्घीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिटमा विजयी भयो। त्यो बेला फोरमले देश भरी ६ प्रतिशत मत ल्याएको थियो।

२०७४ को प्रतिनिधिसभाको अन्त्यतिर जनता समाजवादी पार्टी (जसपा) मा १९ सांसद थिए। त्यति बेला एक सांसद हरिनारायण रौनियार निलम्बनमा परेका थिए।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाले १२ सिट ल्याएको छ। त्यसको डेढ वर्षपछि जसपा फुटेर हाल पाँच सिटमा सीमित भएको छ। अहिले उनी त्यही नाङ्लो पसल जत्रो पार्टीको अध्यक्ष भएको राई पक्षले टिप्पणी गरेको छ।  धेरै भन्छन् यादवले २७ वर्ष अघि जुन हैसियतमा मधेसी फोरम नेपाल भन्ने पार्टी खोलेको थिए अहिले त्यही हैसियतमा आइपुगेका छन् । 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ११ : ४४ बजे