सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थिर सरकार नबन्दा मुलुकको विकासले गति लिन सकेन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन नसकेको बताउनु भएको छ ।

आज ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको बताउनु भएको हो ।

छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना भएको उहाँको धारणा छ ।

महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको स्पष्ट पार्नुभयो । विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अधिवेशनलाई पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ०० बजे