अस्ट्रेलिया टी-२० विश्वकपको सुपर ८ मा पुग्यो

काठमाडौं । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समूह ‘बी’अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।

नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि नामिबियाले पहिला ब्याटिङ गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्वाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए । नामिबियाको ब्याटिङ धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् ।

योजितपछि समूह ‘बी’मा अस्ट्रेलियाले तीन खेलमा तीनै जित हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।

त्यस्तै, नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबाट यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो ।

समूह ‘बी’मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने इङल्याण्ड २ खेलमा एक अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ११ : ०७ बजे