एमाले काठमाडौँमा निरौला र देउलाबीच प्रतिस्पर्धा

काठमाडौँ । नेकपा (एमाले) काठमाडौंको नयाँ नेतृत्वका लागि दीपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भएको छ । आजदेखि सुरु भएको निर्वाचन प्रक्रियामा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएसँगै दुईबीच प्रतिस्पर्धा हुने टुंगो लागेको  हो ।

यहि जेठ २६ गतेदेखि सुरु भएको एमाले काठमाडौँको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गरेपछि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

यस्तै उपाध्यक्ष विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र  विदुरविक्रम खड्का, सचिवमा राजेश शाक्य र  सत्यनारायण डंगोल, उपसचिव खुल्लामा उद्धव भण्डारी र गुञ्जामान सिंह बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

महिला उपसचिवमा विन्दु महर्जनले सर्वसम्मत निर्वाचित हुनु भएको छ । महिला उपसचिवमा  तारा सिङ्खडा पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

यद्यपि नेतृत्व चयन सर्वसम्मति गराउने प्रयास भने जारी रहेको छ । भोलि मतदान प्रक्रियासम्म पुग्दा सहमतिको प्रयास जारी रहने आयोजकले जनाएको छ । 
५८५ जना प्रतिनिधिको सहभागिता रहेको अधिवशेनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २२५ जनाको नयाँ कमिटी निर्वाचित गर्ने छ । 

मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने छ र यसका लागि भोटिङ मेसिन प्रयोग गरिने छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ३१ बजे