यस्तो छ आजको विनिमय दर

विद्यालयका सटर बन्द गराउँदै महानगर, गरिब व्यापारीको चित्कार कसले सुन्ने ? (भिडियो)

आइतबार काठमाडौँ महानगर प्रहरीको मुख्य काम रह्यो सामुदायिक विद्यालयमा रहेका सटर खाली गराउने । बागबजारको शहीद शुक्र, रामशाहपथस्थित पद्मोदय, डिल्लीबजारस्थित विजय स्मारक र  पद्मकन्या विद्यालयका सटर बन्द गराएको हो । 

तर यस क्रममा ती सटरमा व्यापार गरिरहेकाहरूको एउटै गुनासो रह्यो, भन्नासाथ कसरी पसल खाली गर्ने ?

तर कतै डोजर चलाउँदै घर तथा भवन भत्काउने, कतै व्यापारीसँग धरपकड गर्ने गरेको महानगर प्रहरीले यहाँ पनि उस्तै रवैया देखायो ।

सटर एकाएक खाली भने गरिएको होइन । यसका लागि महानगरले यसअघि नै अल्टिमेटम जारी गरिसकेको थियो । बागबजारमा पनि महानगरले तीन दिनको समयसीमा दिएर पसल खाली गर्न उर्दी जारी गरेको थियो । अब देखि यहाँ पसर खोलेर व्यापार गर्न नपाइने महानगरले जनाएको छ ।

के यहाँ समय नै नदिइ सटर खाली गराउन आवश्यक थियो ?

यो प्रश्नको उत्तर भेटिएको छैन ।

त्यसो त महानगरको यो एक्सन अकस्मात भएको होइन । सामुदायिक विद्यालयहरूले विद्यालय व्यवस्थापन भन्दा पनि सटर बनाउने र भाडा कमाउनेमा ध्यान केन्द्रित गरेको तथ्य यसअघि सार्वजनिक भैसकेको थियो ।

सोहीकारण महानगरले यसअघि नै सटर बनाएर भाडामा नलगाउन र लगाएको भए पनि करार नवीकरण नगर्न सूचना जारी गरेकै हो ।

काठमाडौं महानगर शिक्षा विभागको तथ्यांकअनुसार महानगरभित्र रहेका करिब ३० सामुदायिक विद्यालयले सटर तथा जग्गा भाडामा लगाउने गरेका छन् ।

उपत्यकाका अधिकांश सामुदायिक विद्यालयले साँघुरा कक्षाकोठा सँगसँगै खेलमैदान अभाव झेलिरहेका छन् । तर, त्यसमा ध्यान नदिने तर सटर कबल बनाउने र ठेकेदारसँग मिलेमतो गर्ने काम भएकाले महानगरले यसलाई नियन्त्रण गर्न चाहेको हो ।

त्यसो त झट्ट हेर्दा विद्यालयले सटर बनाएर भाडा कमाउँदा के फरक पर्‍यो भन्ने तर्क पनि आउँछन् । तर यो कामले विद्यालय होइन बिचौलिया मोटाउने गरेका छन् ।

शहीद शुक्र विद्यालय यसको ज्वलन्त उदाहरण हो । यहाँ विद्यालयले एउटा सटरको भाडा मासिक १० हजार पनि पाउँदैन । तर विचौलीयाले सबै सटर ठेक्कमा लिएर न्युनतम १५ देखि २५ हजार भाडा लिइरहेको पसल संचालक बताउँछन् । अझ सलामीको हिसाबकिताब त धेरैलाई थाहै छैन ।

महानगरले नियम बनाएर विद्यालयमा कमाउ धन्दा नगर्ने निर्णय गर्नु सराहनीय छ । तर दु:ख जिलो गर्दै दुई छाकको जोहो गर्न देशका कुना कन्दराबाट आएकालाई अप्ठ्यारो पार्ने काम गर्नु सही हुन सक्दैन ।

समय दिएर सटर खाली गराउने र मर्कामा परेकालाई क्षतिपूर्ति दिलाउने काममा पनि महानगर र यहाँमेयर बालेन साहको ध्यान पुगोस् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ६ : ३५ बजे