एमाले काठमाडौँ जिल्ला अधिवेशनको बन्दसत्र जारी, निर्वाचनका लागि भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेकपा (एमाले) काठमाडौंको सातौं जिल्ला अधिवेशनको बन्द सत्र जारी रहेको छ ।  

बबरमहलस्थित कार्की ब्याङेकटमा आजदेखि बन्द सत्र शुरु भएको छ । अधिवेशनमा ५८५ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २२५ जनाको नयाँ कमिटी निर्वाचित गर्ने छ ।  

नयाँ नेतृत्वका लागि दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै सचिवमा विश्वराम सापकोटा, नवराज पराजुली, सचिवमा सत्यनारायण डंगोल र राजेश शाक्यको नाम चर्चामा छ ।  

आज राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गरेपछि भोलिबाट निर्वाचन प्रक्रिया शुरु गर्ने जनाइएको छ । जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ् मेसिन प्रयोग गरिने छ । 
राम–लक्ष्मण इनोभेसनको भोटिङ मेसिन प्रयोग गर्ने सम्झौता गरिएको छ। आज वा भोलि उम्मेदवारको मनोनयन गरेर पर्सि जेठ २९ गते निर्वाचन गर्नेका लागि राम–लक्ष्मण इनोभेसनलाई जिम्मेवारी दिइएको छ ।  

 हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको थियो । इनोभेसनका निर्देशक लक्ष्मण रिमालका अनुसार निर्वाचनमा ३५ मेसिन प्रयोग गरिने छ । भोटिङमा मेसिनमा उम्मेदवारको फोटो सहित राखिने र एक जनालाई २२५ जना उम्मेदवार छान्दा आधाघण्टा लाग्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ४७ बजे