यस्तो छ आजको विनिमय दर

प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन

महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रशासनको आँखा नै अगाडी खुलेआम बालविवाह भएको छ ।

बर्दिबासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडी बालविवाह भएको हो ।

कानुनले बर्जित गरेको बालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानियहरुले आरोप लगाएका छन् ।

जन्मदर्ता अनुसार केटीको उमेर १६ वर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले बताए ।

केटीका बुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएका थिए ।

अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाउँमा अभिभावकहरुमा सहमति बनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले बताए ।

विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानियहरुले प्रहरीलाई खबर गर्दा पनि उनीहरू घटनास्थलमा नआएको स्थानीयहरूको गुनासो छ । तर प्रहरीले भने यो विषयमा जानकारी नभएको दाबी गरेको छ ।

केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले बताए ।

स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि बालविवाह भएको स्वीकार गरेका छन् । 'स्थानियहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन् ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्यहाँ जादै छु ।'

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : २० बजे