माधवका भान्जाले फुटाए नेकपा एस निकट युवासंघ

​​​​​​​काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल विभाजन भएको छ । शनिवार काठमाडौँमा भेला गरी पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा नितेश पौडेलले समानान्तर कमिटी गठनको घोषणा गरेुँगै युवा सङ्घ विभाजन भएको हो ।

अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ । युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो ।

२०८० फागुनभित्र महाधिवेशन गर्ने म्यान्डेट विश्वकर्माको कमिटीलाई पार्टीले दिएको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नगरेर कार्यकाल लम्ब्याएको भन्दै शनिवार सहसंयोजक पौडेल समूहले आफ्नै संयोजकत्वमा फुर्वा लामा सहसंयोजक रहेको समानान्तर कमिटी घोषणा गरेको हो ।

समानान्तर कमिटी गठन गर्ने पौडेलसहितका नेताहरूलाई विश्वकर्मा नेतृत्वको समितिले जेठ २७ गते आइतबार कारबाही गरेको घोषणा गरेको छ । संयोजक कृष्णकुमार विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई सङ्गठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम सङ्गठनको सबै जिम्मेवारीबाट निष्कासन गरेको उल्लेख छ ।

यता पार्टी अध्यक्षकै भान्जाको अगुवाइमा समानान्तर कमिटी बनाएपछि नेकपा एकीकृत समाजवादीका नेताहरू नै आश्चर्यमा परेका छन् । 

समानान्तर कमिटी घोषणा गर्ने पक्षले भने विश्वकर्माले समयमा महाधिवेशन नगरेका कारण समानान्तर कमिटी घोषणा गर्नुपरेको दाबी गरेका छन् । पौडेल पक्षीय नेता फुर्वा लामाले विश्वकर्माले समयमै महाधिवेशन सम्पन्न गर्न असफल भएपछि बहुमत केन्द्रीय सदस्यको भेलाले नयाँ नेतृत्व चयन गरेको दावी गरे । 

उनले पौडेल संयोजक रहेको युवासंघले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको पनि बताए । 

तर संस्थापन पक्षीय विक समूहका सहसंयोजक सञ्जीव राईले संयोजक विकले पौडेल समूहलाई छलफलका लागि पटक–पटक बोलाउँदा नआउने गरेको भन्दै ६ महिनाको म्याद सकियो भन्दैमा एकजना व्यक्ति आफैँले आफैँलाई संयोजक घोषणा गर्न नमिल्ने दाबी गर्छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १ : ५१ बजे