छथरलाई छड्के सलाम 

तेह्रथुम जिल्लाको छथर गाउँ पालिकाले आफ्नै सभाकक्षमा २०८१ साल फागुन २६ गते  वृहत् प्रगतिशील साहित्यिक संगोष्ठीको आयोजना गरेको थियो ।  प्रलेस,कोसी प्रदेशको आयोजन र पालिकाको प्रायोजनमा स्थानीय शुक्रबारेमा कला, साहित्य,सङ्गीत तथा संस्कृतिमय भव्य समागम सम्पन्न भयो । कोसी प्रदेशका  देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक स्रष्टाहरूले अग्रगामी विभिन्न रचना,विचार भावनाका सिर्जना प्रस्तुत गरेका थिए । गोष्ठीमा  ६० जना वरिष्ठ,स्थापित र सृजनशील सर्जकहरूलाई गाँस र बास सहितको कार्यक्रम गाउँ पालिकाबाट हुनु नमुनायोग्य उल्लेखनीय काम  हो । धन भएर मात्र हुन्न, मन भए गर्नेलाई जहीँतहीँ काम  हुँदो रहेछ  र यसमा जनप्रतिनिधिको सुझबुझ उल्लेखनीय देखियो  । अझ गहिरिएर हेर्दा कला साहित्य र संस्कृति प्रेमी जनपक्षीय जनप्रतिनिधि चयन गर्ने त्यहाँका जनता महान् हुन् । यस लेखकले मन्तव्यका क्रममा यही विषय अघिसारेको थियो । यस खालको उदाहरणीय कामहरू अरू  पालिकाले  गरिदिए देशमा प्रगतिशील देशभक्त सिर्जनाको देशव्यापी माहौल बन्ने थियो ।  यही कुरालाई सोचेर यो लेखक सुरुदेखि नै यस्ता कामलाई उपयुक्त रूपमा प्रोत्साहित गर्नुपर्छ भन्ने सोचेर कार्यक्रमा सहभागी हुन रौसियो  । तेह्रथुम जिल्लाका प्रलेस अध्यक्ष वरिष्ठ सर्जक डीपी शर्माका पहलमा  जिल्लाका  स्रष्टाहरू परिचालित भएका थिए । उहाँले नै कार्यक्रममा वाचित रचनाहरू समेटेर जिल्लाले साहित्यिक पत्रिका प्रकाशन गर्ने कुरा गर्नुभएको थियो । यसरी यो लेख  लेख्ने विषयको शीर्षक पनि चयन गर्न उत्प्रेरित भइयो  । हरेक पालिकाले थोरै खर्चमा धेरै उपलब्धिमूलक काम गर्थे  । आजका बाल युवा भोलिका  देशका साबालिक हुन् । तिनलाई विभिन्न सिर्जनात्मक कामका प्रतियोगितामा सामेल गराएर सहभागी मध्ये टप ट्वेन्टीलाई १ हजार सम्मको  पुरस्कार दिने प्रबन्ध गर्ने हो भने हरेक गाउँ र पालिकामा  सिर्जनात्मक माहौल बन्थ्यो । यसरी स्थानीय,प्रदेश सरकारले बर्सैपिच्छे  यस्ता कार्यक्रम गर्दा तिनै बाल र युवा समाजको अग्रगमनका बलिया साथी र सहयात्री हुन्थे । आधारभूत तह बलियो हुँदै जान्थ्यो । यसरी मिसन चौरासी सफल नहुने कुरै थिएन । ती सचेत  मन मस्तिष्क भएका मतदाता पनि हुन्थे  । बर्खाका बेला बारीझारीमा   अन्नका गेडा वा बिउ छरिदिए पनि बालीनाली उम्रन्छ हुर्कन्छ र फल्छ तर यत्ति सामान्य कुरा आफू नजान्ने भनेको नमान्ने  परिपाटीले गाउँ नगर,प्रदेश र देश बनेन । बालबालिका र युवा काँचोमाटो हुन् तिनलाई बेलैमा प्रगतिशील सोच र सिर्जनाका बनाए ती भरपर्दा साथी हुन्थे । बेलाको बेलाको बोली र मौकाको काम गर्न जाने यो देश प्रगतिशील र प्रगतिवादीमय हुने थियो । संस्कृति र सांस्कृतिक रूपान्तरणको काम भुईँ तहबाटै सुरु गर्नु पर्छ र अझ आफैँबाट आरम्भ गर्नुपर्छ । यो अरूलाई अर्ती उपदेश गर्ने विषय होइन । आफैँ आफ्नो जीवनमा प्रयोग गर्ने विषय हो । पानी र बानी माथिबाट आउँछ । त्यसैले अगुवाहरूबाट थालनी गर्नुपर्छ ।  समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयलाई हामी धेरै कम महत्त्व दिइरहेको छौँ । राजनीति जेठो नीति भएकाले यसले यस्ता गुदीदार विषयमा नेतृत्वको उपल्लो तहले  महत्त्व नदिनु दयनीय विषय हो । एउटा गाउँ वा शहर कङ्क्रिटको घना जङ्गलले मात्र भव्य हुँदैन । कुनै पनि देश र नगरको आन्तरिक सौन्दर्य विशिष्ट महत्त्वको हुन्छ । बत्तुले टालेका बास्नादार लुगा लगाएर मात्र मानव भइन्न । जब मानवमा मानवीय भावना,विचार विवेक हुँदैन तब खुसबुदार लुगाको कुनै अर्थ रहँदैन । पशुलाई राम्रा राम्रा  लुगा भिराइदिए  आकर्षक नै देखिन्छ  तर यसरी  भैँसी मानिस बन्दैन । जब मानिसको मन, हृदय र भावनाका  सातपत्रमा चरम अन्धविश्वास,रुढीवाद  पछौटेपन जस्ता कुरूप पक्ष छन् भने  बाह्य र देखावटी सौन्दर्यको के अर्थ हुन्छ ? काला मनले सुकिलो काम गर्दैन । यस्ता मानिसको गाउँ के गाउँ,  सहर  के सहर ?  गाउँ नगर देशको गुणात्मक विकासको एउटा मूल आधार कला,साहित्य र संस्कृति हो । यही देशको मूलभूत मौलिक पहिचान हो । यही पहिचानबाट देश संसारभरि परिचित हुन्छ । यही आधारभूत  मौलिकतामा कुनै पनि देश,प्रदेश र नगर गाउँको पहिचान खुल्छ ।  विकास भनेको कङ्क्रिटको जङ्गल मात्र हो भन्ने दरिद्र चिन्तनलाई उक्त पालिकाले तोड्न र मोड्न खोजेको स्पष्ट भयो । अझ कला साहित्य र संस्कृति अनुत्पादक क्षेत्र हो भन्नेहरूलाई छथर पालिकाले उचित जवाफ दिएको देखिन्थ्यो । मानिसको मनको मैलो धुने साबुन साहित्य हो भन्ने कुरा पनि सभामा प्रस्तुत भयो ।   

    पालिकाकी उपप्रमुख तारा खरेल ढकालले आमा र आमाकी पनि आमा नेपाल आमालाई आधार बनाएर नारी विषयक महत्त्वपूर्ण कविता वाचन गर्नु भयो । यो कार्यक्रम कोसे ढुंगा सरहको थियो । समाज रूपान्तरणमा सहयोग पुग्ने खालको ठहर भयो । साथै पालिका परिसरमा पुस्तकालयको  उद्घाटन भयो । स्रष्टाहरूबाट  पुस्तक प्रदान गरियो  । , देशको डम्फु बजाउनेले पनि कला साहित्य के हो र यसको के कति महत्त्व छ भन्ने  सिक्नु पर्छ , साहित्य सुत्यो भने समाज सुत्छ, जस्ता विचार गाउँपालिकाका प्रमुखबाट अभिव्यक्त भएको थियो । उक्त पालिकामा नेकपा एमालेले लगातार दुई कार्यकाल जितेको थाहा भयो । एमाले विरुद्धका गठबन्धनलाई परास्त गर्दै जनताको मन जितेर पालिकामा अत्यधिक पदमा ( ३२ सिटमध्ये ३०) मा विजयी भएको गाउँ कमिटीका अध्यक्ष गजेन्द्र  खुलालले बताउनु भयो ।  दुई वटा बडामा अध्यक्ष सहित झिनो मत  अन्तरले विपक्षी विजयी भए ।  गजेन्द्र खुलाल लगातार इमानदारिता पूर्वक १३ वर्ष  पालिकाको पार्टी अध्यक्ष काम गर्नु भएको  रहेछ ,  । 

   नेपालीहरू मेहनती छन् र मौका पाए पहरो पनि फोर्छन् । यस्ता उदाहरण छथरमा अनुभूत भयो । बाख्रा पालन ,सुन्तला खेती, विभिन्न प्रजातिका फलफूल र सागपातको व्यवसायमा गाउँबासी सरिक भएको  देखियो । तर अनेक प्रलोभन र कुटिल चाल चलेर   धर्मान्तर गर्ने काम भइरहेको गुनासो व्यापक सुनियो ।  ,  यस लेखकले बालबालिका र युवा धार्मिक व्यक्तिहरूसित अनौपचारिक अन्तरक्रिया, गरेको थियो । बामदेव गौतमले पार्टी विभाजन गर्दा एमाले पार्टी ठुलो सङ्कटमा परेको रहेछ । त्यस बेलाका दुखद घडी पार्टी अध्यक्ष खुलालले सम्झना गर्नुभयो । तेह्रथुम जिल्लाका सुब्बा थरी नेताले एमाले परित्याग गरेर  चरम जातिवादी पार्टीमा प्रवेश गरे । त्यस कालमा उनी चरम जातीय घोर साम्प्रदायिक भाषण गर्दै घरघर घुमे । तिनै फेरि एमालेमा प्रवेश गरेर प्रतिनिधि सभाको चुनावमा टिकट लिएर प्रचारमा आए ।  तिनलाई एमाले मतदाताले नै हराए । माथिदेखिका यस्ता गतिविधि र विसङ्गति पनि थाहा भयो । कहिले जात, भात नाक र नश्लको नारा उराल्दै हिँड्ने,  ठाउँ ठाउँमा घाँटीका नसा फुलाएर चरम जातीय सङ्कीर्ण  फलाकोको गर्दै हिँड्ने अनि उसैलाई  नेतृत्वले निःशर्त काखी च्याप्ने गर्दा जनताले दुख पाएका हुन् ।  त्यही कारण संघको संसदीय निर्वाचनमा सर्मनाक हार व्यहाेर्नु परेको हो भुइँतहबाट थाहा भयो । 

  उक्त गोष्ठीमा प्रगतिशील लेखन बारे सारसंक्षेपमा सामूहिक रूपमा छलफल गरे जाती  हुने विचार  प्रलेस, सुनसरीका सचिव कृष्ण नेपालको रहेको थियो । कस्तो लेखक, लेखन र  कर्मलाई प्र

गतिशील प्रगतिवादी भन्नेसम्मको सामान्य जानकारीको अभाव प्रायः स्रष्टामा देखिन्थ्यो ।  साझा संस्था थकाइ मार्ने चौतारी भनेझैँ कोसी प्रदेशमा  पनि अनुभूत भयो । प्रदेशका जिम्मेवार एकाध पदाधिकारीको गैरजिम्मेवार प्रवृत्ति देख्दा लाज नै लजायो  ।  सुरेश ढकाल र तारा खरेल ढकाल निवास पार्टीको धेरै पुरानो आश्रय स्थल रहेछ । यो पार्टी नेता  भानुभक्त ढकालको पुर्ख्यौली घर रहेछ । कायंक्रमका क्रममा ताकलुङ अवलोकन र गुफा निरीक्षण गरियो । त्यही दिन  प्रगतिशील गजल साँझ,  भ्यु प्वाइन्टमा राम्ररी जमेको थियो ।    

 

 छथरमा प्रलेस  प्रदेशले एक पन्था तीन काम गरेको थियो ।  उक्त अवसरमा प्रदेश समितिको विस्तारित बैठक सम्पन्न भयो । कोसीका बाल प्रतिनिधि कथा सङ्ग्रहको विमोचन,तेह्रथुमको साहित्यिक इतिहासको  चर्चा परिचर्चा ,  मदन पुरस्कार प्राप्त फरक क्षमताकी  बहुआयामिक वरिष्ठ स्रष्टा झमक घिमिरेलाई उहाँकै निवासमा सम्मान र अभिनन्दन गरियो ।  कोसी प्रदेश अध्यक्ष तथा वरिष्ठ स्रष्टा तिला लेकालीको अध्यक्षतामा  गोष्ठी सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि छथर गाउँ पालिकाका लोकप्रिय  अध्यक्ष  सन्तवीर लिम्बू तथा विशेष अतिथि तारा खरेल ढकाल हुनुहुन्थ्यो ।  प्रदेश उपाध्यक्ष तथा तेह्रथुमका वरिष्ठ स्रष्टा दिनेश थापाको स्थानीय स्तरमा सक्रिय र पहल प्रयत्नमा कार्यक्रम  सम्पन्न भएको थियो । काम गर्नेलाई जहीँतहीँ काम हुन्छ र हुँदाेरहेछ भन्ने  कुरा  थाहा भयो । अर्काथरी हुन्छन् प्रलेसका सम्मेलनमा अमुक पद चाहियो भनेर रडाको गर्छन्, महत्त्वपूर्ण जिम्मेवारी पाए पनि काममा बाधा  उत्पन्न गर्न  तम्तयार हुन्छन् । कोसी प्रदेशमा नाममा एकाध पदाधिकारीको अप्रगतिशील गतिविधि देख्दा अचम्म नै लाग्यो ।  माओले पढ्नु भनेको देश र जनताका लागि हो, मित्रशक्ती बीचको सम्बन्ध एकता,आलोचना र एकता हो । अनि विरोधी वा शत्रुसित विरोध, एकता र विरोध हो । मार्क्सवाद के हो भन्ने सामान्य कखरा नसिक्दा र नसिकाउँदा  प्रगतिशील खालका संस्थाहरूमा समस्या झाँगिएको देखिन्छ । अझ हरेक गाँठा र उल्झन समाधान गर्न गराउन नसक्ने इन्चार्ज पनि यसका दोषी हुन् ।  आफूलाई प्रगतिशील र प्रगतिवादी भन्ने मित्रहरू दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्छन् । भाग्यवाद र पुर्पुरोवादमा विश्वास गर्छन् । बोक्सी,भूतप्रेत लगायत अनेक रुढीबूढीमा विश्वास गर्छन् । सबै त होइन तर धेरैजसो त्यस्तै देखिन्छन् । यो उनीहरूको मात्र कमजोरी होइन । प्रलेसमा आबद्ध नेतृत्वको वा गुरुहरुको कमजोरी हो । विद्यार्थी भर्ना गरे.पछि तिनलाई पढाउनु पर्छ । अज्ञान र अज्ञानीसित रिसाउनु हुँदैन ।  विभिन्न बाम घटकका स्रष्टा सम्मिलित प्रलेस साझा संस्था हो । तर समितिमा बसेपछि घटकको इज्जत राख्न पनि काम गर्नु पर्ने हो । यस्ता संस्थाहरू थकाइमार्ने र सुस्ताउने संस्था भनिन्छ तर केन्द्र र प्रदेशले यसलाई तोड्ने प्रयत्न गरेको छ । कार्य समितिमा रहेर जो काम गर्दैन र काममा बिघ्न बाधा पु¥याउँछ  भने उही पछि पर्छ । जीवन त नदीसरह बगिरहन्छ । गोष्ठीमा  तारा काफ्ले, सुषमा दाहाल,  गौरा परियार, हेमराज खनाल, निरु खनाल, मित्र परियार, जानुका अधिकारी, आदि तेह्रथुम लगायतका विभिन्न जिल्लाका ६० जना कविले कविता,गीत र गजल  वाचन गर्नु भएको  थियो । हामी समृद्धिको कुरा गछौँ पहिलो समृद्धि हाम्रा मन मस्तिष्क र चेतनामा आउनु र ल्याउनुपर्छ । यसका लागि प्रगतिशील देशभक्त कला साहित्य,सङ्गीत तथा संस्कृतिको बारबार र हजार बार अध्ययन, मनन र श्रवण अपरिहार्य हुन्छ ।  हामी रातारात चरम अन्धविश्वासी भएका होइनौँ । हामीलाई सदियौँदेखि अन्धविश्वास देखाइयो,सिकाइयो र पढाइयो ।  अनि हाम्रा मन मस्तिष्कमा चरम रुढीवादले जरा गाडेको हो अब हामीले हाम्रो दिल दिमागलाई स्वस्थ र प्रगतिशील बनाउन आजैदेखि प्रयत्न जारी राख्नु पर्छ । यतिका सिर्जनात्मक र रचनात्मक गतिविधिलाई प्रोत्साहित गर्ने छथरलाई छड्के सलाम । ​​​​​​​  इटहरी निवासी लेखक प्रलेसका  केन्द्रीय सल्लाहकार हुनुहुन्छ । 

 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १ : १४ बजे