यस्तो छ आजको विनिमय दर

मुख्यमन्त्री र मन्त्रीहरु उपेन्द्रको स्वागतमा गएपछि प्रदेशसभा अनिश्चित 

काठमाडौँ। विश्वासको मत लिनका लागि केही बेर अघि संचालन भएर स्थगित भएको मधेश प्रदेशसभाको बैठक अनिश्चित बनेको छ।  आधा घण्टाका लागि भनेर ४ बजे स्थगित भएको बैठक दुई घण्टा बितिसक्दा पनि सुरु भएको छैन। 

काठमाडौँबाट  प्लेन मार्फत जनकपुर  आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एयरपोर्टमा स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू गएपछि प्रदेशसभाको स्थगित बैठक सुरु हुन नसकेको एक सांसदले बताए। 

बैठक सुरु नभएपछि गर्मीमा लामो समय  विना काम कुर्नु परेको भन्दै कांग्रेस र लोसपाका सांसदहरू समेत आक्रोशित भएको ती सांसदले बताए। 

मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरेका भए पनि प्रस्ताव विफल हुने भएपछि  ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्ने प्रयासे विफल भएको थियो । विश्वासको प्रस्ताव  २८ गते सार्ने उहाँको प्रयासलाई सभामुख  र अधिकांश दलहरूले अस्वीकार गरेपछि  प्रदेशसभाको बैठक सुरु भएको थियो । प्रदेशसभामा एक  मात्र एजेन्डा विश्वासको मतको प्रस्तावमा छलफल पछि मतदान  गर्ने कार्यक्रम रहेको छ। 

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा सभा परिसरमा भएर पनि मुख्यमन्त्री बैठकमा प्रवेश गर्नुभएको थिएन। उहाँँसंर्गै अन्य मन्त्री पनि सहभागी थिएनन् । सत्ता पक्ष नै सहभागी नभएपछि केही समयका लागि  प्रदेशसभाको बैठक स्थगित भएको छ

मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,।  आज(बुधवार) विश्वासको मत नलिए राति १२ बजेपछि स्वतः पदमुक्त हुने जानकारी प्रदेश प्रमुखले गराउनु भएको थियो । तर यादवको  बैठक सार्ने  अनुरोध अस्वीकार भएपछि आजै विश्वासको  मतको प्रस्तावमा मतदान गरी उहाँका. बिदाइ गरिने तयारी भएको छ।  

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस र जसपाले  उपस्थित नहुने चेतावनी दिएका थिए। उनीहरू  आजको बैठकमा सहभागी नहुने भन्दै प्रदेशसभा परिसरबाट बाहिरिएका थिए। तर  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीलाई फोन गरेर विश्वासको प्रस्तावको छलफल प्रक्रियामा सहभागी हुन निर्देशन दिनुभएको थियो । यादवको फोन पछि मुख्यमन्त्री आजै प्रस्तावमा छलफल गर्न राजी भएको स्रोतले बतायो ।  

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ६ : ०५ बजे