‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मापदण्ड संशोधन गरेर टेलिकममा प्रवन्ध निर्देशकको आवेदन 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गर्दै नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को रिक्त प्रबन्ध निर्देशक पदका लागि आवेदन माग गरेको छ । 

मन्त्रालयले मंगलबारदेखि १५ दिनको समयावधि तोक्दै टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको हो । पाँच दिन अघिमात्र टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गरेको थियो ।
अहिले नियुक्ति मापदण्ड संशोधन गरी उमेर हद बढाइएको छ भने अनुभवलाई घटाइएको छ ।

यसअघि निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्तिअघि १५ वर्षको कार्य अनुभवलाई १२ वर्ष र व्यवस्थापकीय भूमिकामा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई ३ वर्षमा झारिएको थियो । अहिले फेरि त्यसमा पनि संशोधन गरिएको हो । अहिले संशोधन निर्देशिकामा सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ शब्द थप गरिएको छ । यसैगरी ५६ वर्षको उमेरहदलाई ५८  वर्ष बनाइएको छ । यस्तै तीन वर्षको व्यवस्थापकीय पदमा काम गरेको हुनपर्ने व्यवस्था राखिएको छ । 

निर्देशिका परिमार्जनसँगै अब सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेकाहरुले पनि प्रबन्ध निर्देशकका लागि प्रतिस्पर्धा गर्न पाउने छन् । संशोधन हुनुअघि निर्देशिकामा मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्यूनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था थियो ।

नियुक्ति प्रक्रिया सुरु हुनु अगावै मापदण्ड संशोधनले आशंका उत्पन्न गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । निश्चित व्यक्तिको योग्यताका आधारमा नियुक्तिसम्बन्धी मापदण्ड नै परिवर्तन गर्ने प्रचलन यसअघि अन्य निकायमा पनि देखिँदै आएको थियो । जसका कारण खुला प्रतिस्पर्धा औपचारिकतामा सीमित हुने देखिएको छ । 

हरेक पटकको नियुक्तिमा मापदण्ड संशोधन हुनुले सरकारमा बस्नेहरुले आफ्नो मान्छे राख्न गरेको प्रयत्नलाई बुझाउँछ । यस्ता कामले प्रतिस्पर्धी दूरसञ्चार बजारमा टेलिकमको शाख झनै गिर्ने सम्भावना बढेको पनि विज्ञहरुले बताएका छन् । 
आवेदकले नेपाली वा अंग्रेजी भाषामा तयार गरिएको बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने जनाइएको छ । उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि मन्त्रालय समक्ष सिफारिस गरिने उल्लेख छ ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा दायर भएसँगै पदमुक्त भएपछि संगीता पहाडीलाई जिम्मेवारी दिइएको थियो । उनी नायव प्रबन्ध निर्देशक हुन् । विशेष अदालतले पौडेललाई दोषी ठहर गरेपछि नयाँ प्रबन्ध निर्देशक छान्न बाटो खुलेको हो । 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : २० बजे