साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपालले नेदरल्यान्ड्ससँग खेल हार्नुका चार कारण

काठमाडौँ।  आईसीसी टी–२० विश्वकप, २०२४ को पहिलो खेलमा नेपाल पराजित भयो । बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससँगको खेल जित्न सकेको भए प्रतियोगितामा नेपालको सुखद् सुरुआत मात्रै नभई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना समेत बलियो हुने थियो । तर, नेदरल्यान्ड्सको आत्मविश्वास र अनुभवले नेपाललाई खेल अवधिभर दबाबमा राख्यो र प्रतियोगितामा नेपाललाई हराएर आफ्नो वर्चश्व साबित गर्‍यो ।

पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर पनि खेल्न सकेन र १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८ दशमलब चार ओभरमा चार विकेट गुमाएर महत्वपूर्ण जित हात पार्‍यो ।

खेलमा बनेको रन हेर्दा नेपालको प्रदर्शन फितलो जस्तो देखियो तर वास्तविकता भने फरक छ । मैदानको अवस्था र वातावरणको कारण खेलमा कम रन बन्नु स्वाभाविक थियो, केही महत्वपूर्ण पाटोमा चुक्दा खेल जित्ने अवसर गुमाएको हो, जसको सुधार आगामी खेलमा गरे दोस्रो क्रिकेट जगतमा नेपालको नाम अझै चम्किन सक्छ ।

टस

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार साँझ ९:१५ मा सुरू हुने तालिका भए पनि पानी परेका कारण खेल आधा घण्टा ढिलो सुरू भयो । नियमित वर्षा र वर्षा पछिको चिसो मौसमका प्रत्यक्ष प्रभाव खेलमा पर्‍यो । यस्तो अवस्थामा टसको ठूलो भूमिका हुन्छ । टस जित्ने जुनसुकै टोलीले पहिले बलिङ गर्ने निर्णय गर्छ । नेपालले टस हार्‍यो र नेदरल्यान्ड्सले मौसमको फाइदा उठाउन पायो । नेदरल्यान्ड्सका बलरले बलिङको आधारभूत नियम पालना गर्दै लाइन र लेन्थमा बलिङ गरे र नेपाली ब्याट्सम्यानलाई हैरान पारे । रन बनाउनै पर्ने दबाबका कारण नेपाली खेलाडीले अतिरिक्त प्रयास गर्दा विकेट गुमाइरहे ।

कुशल भुर्तेल र सोमपाल कामी आउट हुँदा बलरको उत्कृष्ट कौशल देखियो । घाँसे पिचको फाइदा उठाउँदै बल भित्र आउँदा दुबै ब्याट्सम्यान आउट भए । अरू विकेट झर्नुमा ब्याट्समानले खेपेको दबाब नै मुख्य कारण रह्यो ।

कति रन बनाउने अन्योल

यही मैदानमा भएको केही दिन अघिको खेलमा क्यानडाले एक सय ९४ रन बनाउँदा अमेरिकाले सहजै लक्ष्य पार गरेको थियो । सोहीकारण यो खेलमा थुप्रै रन बन्ने आँकलन थियो।

यस्तोमा नेपालले पहिले ब्याटिङ गर्दा कति रन बनाउने भन्ने वास्तविक लक्ष्य अनुमान गर्न सकेन । नेपालले एक सय ३० रन मात्र बनाएको भए फरक नतिजा आउने देखिए पनि नेपाली ब्याटसम्यानले एक सय ६० रन पार गर्ने हिसाबले ठूला शटहरू खेलिरहे । जसले नेपाललाई अनावश्यक रूपमा खराब शट खेल्नुपर्ने बनायो र अन्त्यमा कम स्कोर मात्र बन्न सक्यो । दोस्रो ब्याटिङ गरेको भए नेपाली ब्याटसम्यानहरूले खेलको आवश्यकता अनुसार खेल्न पाउँथे । त्यो सुविधा नपाउँदा पनि नेपालले खेल गुमायो ।

खराब फिल्डिङ

पहिलो इनिङमा नेपाली ब्याट्सम्यानहरूलाई दबाबमा राख्न जति बलिङको भूमिका थियो, त्यति नै फिल्डिङको पनि देखियो । राम्रा शटहरूलाई सीमारेखा पार गर्न रोकेका डच फिल्डरहरूले एउटा क्याच पनि छुटाएनन् ।

तर, नेपालले फिल्डिङ गर्दा यसको विपरीत भयो । ब्याटसम्यानलाई बलरले खुलेर खेल्न नदिँदा फिल्डिङबाट अपेक्षाकृत साथ भएन । त्यसमाथि सोमपाल कामीले नेदरल्यान्ड्स विक्रमजित सिंहको क्याच छुटाउनु र १८ औं ओभरमा खेल जिताएका म्याक्स ओ'डाउडको क्याच कप्तान रोहित पौडेल समात्न नसक्दा समेत नेपालको जित्ने सम्भावना समाप्त भयो । विश्वकप जस्तो खेलको लागि नेपालको फिल्डिङको स्तर सुहाउँदो हुन सकेन ।

अनुभव

वास्वतमा नेपाल र नेदरल्यान्ड्स दुबै देश आईसीसीको एशोसिएट राष्ट्र भए पनि दुईबीच अनुभवमा ठूलो खाडल छ । इंग्ल्यान्ड क्रिकेट बोर्डको प्रत्यक्ष सहयोग पाउने नेदरल्यान्ड्सले केही महिनाअघि ५० ओभरको विश्वकप समेत खेलेको थियो। सो प्रतियोगितामा सनसनीपूर्ण नतिजा हात पार्दै टेस्ट राष्ट्रहरूलाई हराएर विश्व क्रिकेटमा सकारात्मक छाप छोडेको थियो । यस विश्वकपका लागि नेदरल्यान्ड्सको तयारी लोभलाग्दो थियो र टोलीका सबै खेलाडी अनुभवले खारिएका छन् ।

यता नेपाली टोलीमा नियमित खेलाडीहरू नै थिएनन् । विशेषत: सन्दीप लामिछाने जस्तो अनुभवि खेलाडीले भिसाको कारण विश्वकप खेल्न पाएनन् । ललित राजवंशीसमेत टोलीमा नहुँदा सागर ढकालको स्पिन बलिङमा नेपालले भर पर्नुपर्‍यो । यो स्तरको खेलहरूमा अनुभवले ठूलो भूमिका खेल्छ भन्ने एउटा उदाहरण समेत हो, नेपाल र नेदरल्यान्ड्सको खेल ।

 

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : २६ बजे