आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मधेसमा आज विश्वासको मत: केन्द्रीय निर्देशनको अवज्ञा गर्दै लोसपा तटस्थ बस्ने 

काठमाडौँ।  जनता समाजवादी पार्टीको नेतृत्व रहेको मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत  लिने हुनुभएको छ। उहाँले यसका लागि  मङ्गलवार नै प्रदेशसभा सचिवालयमा यो प्रस्ताव दर्ता गर्नुभएको थियो। यो प्रस्तावमा आज तीन बजे बस्ने प्रदेशसभामा निर्णय हुने छ। 

नयाँ संविधान अनुसार भएका निर्वाचनमा अहिले सम्म लामो समय नेतृत्व गर्दै आएको जसपा पहिलो पल्ट सरकारबाट बाहिरिने  भएको छ।  आज हुने  मतदानमा नेपाली कांग्रेस बाहेकका  अन्य दलको समर्थन  प्राप्त नहुने भएको छ। प्रदेशसभामा जसपाको २२ र काँग्रेसका १९ सदस्य रहेका छन् । 

  जसपाको पक्षमा  प्रदेशसभाका सदस्यहरूलाई लोसपाले समर्थन गर्न निर्देशन दिएको थियो। यसका लागि जसपाका प्रवक्ता मनिष सुमन र लोसपाका नेताहरु महन्थ ठाकुर , र शरतसिंह  भण्डारी  मङ्गलवार एउटै प्लेनबाट जनकपुर जानु भएको थियो। तर सुमन र लोसपाका नेताहरुबीच कुनै बोलचाल सम्म नभएको एक प्रत्यक्षदर्शीले बताए।  यद्यपी जनकपुर पुगेर महन्थ र भण्डारीले बुधवार  प्रदेशसभामा  विश्वासको प्रस्ताव पेस हुँदा त्यसको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए। तर सांसदहरूले विश्वासको मतको पक्ष र विपक्षमा कतै नलाग्ने जवाफ दिएपछि नेतृत्व निरीह बनेको बताइएको छ। 

विश्वासको प्रस्ताव पछि यादव नेतृत्वको सरकारको बिदाइ हुने भएको छ। त्यसपछि जनमत पार्टीका महेश यादवको नेतृत्वमा एमाले, माओवादी  , नेकपा एस  लगायतका दलहरू मिलेर सरकार बन्ने भएको एक नेताले बताए। यद्यपी नेकपा एसका नेताहरुले  मङ्गलवार सम्मै  यादव नेतृत्वको सरकारमानै रहने पक्षमा थिए । तर केन्द्रमा पार्टी अध्यक्ष  माधव कुमार नेपालले कडा निर्देशन दिएपछि उनीहरू पछि हट्न बाध्य भएको स्रोतले बतायो । 

नेपालले मधेस प्रदेश सरकारबाट हट्न आफ्ना सांसदलाई लिखित निर्देशन दिनुभएको थियो । 

अध्यक्ष नेपालले बोलाएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्था मन्त्री बेची लुंगेली सोमबार जनकपुरबाट आउनु भएको थियो ।

भेटमा अध्यक्ष नेपालले प्रदेश सरकारबाट राजीनामा दिन र जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिनुभएको थियो । सो अनुसार उनीहरूले मङ्गलवार साँझ मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए। 

मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको साथ पाउने देखेर बुधवार विश्वासको मत लिन लाग्नु भएको थियो। तर प्रस्ताव दर्ता भएपछि नेकपा एस युटर्न भएर सत्ता गठबन्धनको समर्थनमा लागेको बताइएको छ। मधेस प्रदेश सभामा १०७ सांसद छन्। सरकार बनाउन ५४ सांसद चाहिन्छ।एमाले २४, माओवादी केन्द्र १३, जनमत १३ र एकीकृत समाजवादीको ७ सांसद छन्। 

उपेन्द्र यादव नेतृत्वको जसपाले मधेस सरकार जोगाउन अन्तिमसम्म प्रयास गरेको थियो। यादव सोमबार देखिनै जनकपुरमा मुख्यमन्त्री निवासमा हुनुहुन्छ। मङ्गलवार  राति  अबेर सम्म काँग्रेससँग छलफलमा हुनुहुन्थ्यो। 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : २९ बजे